‘इराकको लागि सरकारले श्रमस्वीकृति दिनुपर्छ’ –कमल तामाङ

(कमल वाइबा तामाङ, काठमाडौ ६, तीनचुले, बौद्ध निवासी हुन् । वैदेशिक रोजगारको सिलसिलामा हाल तामाङ सुलेमानी कुर्दिस्तान, इराकमा कार्यरत छन् । उनी कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष हुन् । प्रवासमा रहेर पनि यस संस्थ मार्फत तामाङले समाजसेवा गर्दै आएका छन् । २०१२ साल देखि हालसम्म काम गर्दागर्दै अचानक दुर्घटनामा परि मृत्यु भएका व्यक्तिको लाश नेपाल पठाउने, कामदारको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने, काम गर्दै जाने क्रममा अंगभंग भएर घाइते भएमा अस्पताल पुर्याएर सम्बन्धित कम्पनीलाई उपचार गराउन लगाउने, यदि उपचार सम्भव नभएमा क्षतिपूर्ति र हवाई टिकट दिलाएर स्वदेश फर्काउने, जटिल समस्यामा परेका दाजुभाइ तथा दिदीबहिनीहरुलाई उद्दार गरेर स्वदेश फर्काउने जस्ता कामहरू गर्दै आएका समाजका अध्यक्ष तामाङसँग हाम्रो इराक प्रतिनिधि सुनतिा दोङ तामाङले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ । –सम्पादक ।)

० कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानी के गर्दै छ ?

–भर्खरै मात्र अधिबेशन सकेर, पुरानो कार्यसमितिलाई उच्च सम्मान स्वरूप बिदाई गरेर अहिले मेरै नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ, त्यसैले हामीले आउँदो दिनहरुमा यहाँ भएका नेपालीहरुको हक हितको लागि कसरी काम गर्ने भन्ने कुराहरुमा बिशेष ध्यान दिएर लागिपरेका छौं ।

० प्रवासमा रहेर संगठित हुन कतिको सजिलो छ ?
–बिगतमा भन्दा अहिले केही सजिलो नै भएको छ, खासगरि यहाँ कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले पहिले भन्दा अहिले संस्था र समाज के हो भन्ने कुराहरुलाई राम्ररी बुझेका छन तसर्थ केही हदसम्म सजिलो भएको नै छ ।

० यो संस्थाले आजसम्म सामाजिक क्षेत्रमा के के गरेको छ ?
–२०१३ साल देखि स्थापित यस संस्थाले इराक भरी छरिएर रहनुहुने नेपालीहरुको समस्याहरुलाई हल गर्ने काम, त्यस्तै गरि उद्दार कार्यमा बिशेष ध्यान दिएको छ र गरिरहेको पनि छ्न् । पासपोर्ट (राहदानी) नभएर नेपाल फर्किन नपाएका नेपालीहरुलाई कुबेत स्थित नेपाली दूतावासमा सम्पर्क राखी, दूतावासकै सहयोगमा ट्राभल डकुमेन्ट मगाई, यहाँको सरकार र स्थानीय संघ–संस्थासँग सहकार्य गरि यहाँको कानुनी प्रक्रियाहरु पूरा गरि नेपाल पठाउने कामहरु गरिरहेको छ ।

त्यस्तै हाल आएर यस संस्थाले इराक मात्रै नभएर नेपाल भित्रपनि विभिन्न कारणले समस्यामा परेका पीडित भएको नेपालीहरुलाई सहयोग रुपमा आर्थिक सहयोगहरुपनि गर्दै आएका छौं । साथै नेपाली चाडपर्व र उत्सवहरुको बेला यहाँ कार्यरत नेपालीहरुलाई मनोरञ्जन दिने उदेश्यले हाम्रो आफ्नै नेपालीपन, रीतिरिवाज र सँस्कृतिहरु झल्कने कार्यक्रमहरुपनि गर्दै आइरहेका छौ ।

० नेपाली श्रमिकहरुको अवस्था कस्तो छ ?
–पहिलेको तुलनामा खासगरी महिला कामदारहरुको हकमा धेरै राम्रो भएको छ। भिजिट भिषामा आएका पुरुषहरूको अवस्था चाहिँ यहाँ अलि दयनीय नै छ । बाँकी अन्य राम्रै छ।

० गैरकानूनी रुपमा काम गर्ने श्रमिकहरुको संख्या धेरै छ भन्छन् वास्तविकता के हो ?
–भिजिट भिषामा आउनुहुने नेपालीहरुलाई मात्रै त्यस्तो समस्या छ अरु खासै समस्या आएको देखिदैन ।

० इराक महिला श्रमिकहरुको पनि रोजाइको देश भएको छ, महिलाहरुको अवस्था कस्तो छ ?
–अन्य अरु देशहरु भन्दा यहाँ धेरै राम्रो छ, कमाईको र सेवा सुबिधाको हिसाबले पनि जस्तैः साउदी अरब, कतार, कुवेत जस्ता मुलुकहरू भन्दा यहाँ नेपाली महिलाहरुको अवस्था र काम धेरै राम्रो छ ।

० नेपाल सरकारले इराकमा महिलाहरुलाई प्रतिबन्ध लगाइरहेको अवस्थामा महिलाहरुलाई आइपरेको समस्या कसरी समाधान गरिन्छ ?
–महिलाहरु नेपाल सरकारको प्रतिबन्धको बावजुत पनि यहाँ राम्रो भएको हुनाले अबैधानिक तरीका, गैरकानुनी र बैकल्पिक बाटोहरु अपनाएर इराक आएपनि यहाँ महिलाहरुको लागी सम्बन्धित कम्पनी हुने भएको हुनाले यदि अप्ठ्यारो आईपरेमा हाम्रो संस्थाले सम्बन्धित कम्पनीसङ्गै बसेर र यहाँको “स्थानीय संस्था“ को मद्दत लिएर छलफल गरेर समस्याहरुको समाधान गरिन्छ ।

० यहाँ श्रमिकहरुको संख्या कति जति होला ?
–इराक भरी लगभग २० हजार देखि २२ हजारको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत छन् ।

० श्रमिकहरुले यहाँ धेरै समस्या ब्यहोरीरहेको खबरहरु आइरहेको छ, कस्ता कस्ता समस्याहरु आइरहेको छ ?
–नेपाल देखि नबुझीकन यहाँ आएको हुनाले पुरुषहरूको हकमा आवशिय भिषा नहुने भएकोले काम पाउन कठिन हुने, थोरै भन्दा थोरै पारिश्रमिकमा काम गर्नुपर्ने आदि इत्यादी समस्या छ ।

० श्रमिकहरुलाई आईपरेको समस्याहरु कसरी समाधान गरिएको छ ?
– सत्य तथ्य के हो सबै कुराहरु बुझेर काम गर्ने कम्पनीका मालिक या म्यानेजरसँग कुराकानी गरेर समस्यालाई सुल्झाउने काम गर्ने गरिएकोछ ।

० इराकमा रहेको श्रमिकहरुको लागि सरकारले के गर्दिए राम्रो हुन्थ्यो जस्तो लाग्छ ?
–सबैभन्दा ठुलो समस्या भनेको नै श्रम स्वीकृति हो । इराकमा रहेका धेरै ठुला र राम्रा राम्रा कम्पनीहरुले नेपालीहरुलाई अन्य देशहरुमा जस्तै बार्षिक बिदा सुबिधा दिने भएको हुनाले, बिदा मनाउन नेपाल गइसकेर, पुनः सोही ठाउँमा फर्कन कम्पनीको सम्पुर्ण कागजातहरु हुँदाहुदैपनि इराकको लागि श्रम स्वीकृति नहुने भएको कारणले गर्दा विभिन्न समस्यहरु झेल्नुपरिरहेका छ, त्यसैले नेपाल सरकारले श्रम स्वीकृति दिएर सजिलो अथवा सरल तरिकाले आउन बाटो खुलाईदिए हुन्थ्यो जस्तो लाग्छ।

० अन्तमा केही भन्नुपर्ने छ कि ?
–अन्तमा भन्नुपर्दा, सर्वप्रथम त तेमाल अनलाइनलाई मेरो व्यक्तिगत र कुर्दिस्तान प्रवासी नेपाली समाजको तर्फबाट धेरै धेरै धन्यवाद छ ।। यहाँहरुले आज मलाई केही कुराहरु राख्ने सुवर्ण मौका दिनुभयो। फेरिपनि अन्त्यमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु यहाँहरु जो कोहिपनि इराक कुर्दिस्तान आउन चाहने हुनुहुन्छ, वहाँहरुले आफ्नो इष्टमित्र वा नजिकको आफन्तहरुसँग परामर्श र सल्लाह लिएर राम्रोसँग जानेर बुझेरमात्र आउनुहोला भन्न चाहन्छु । धन्यवाद ।

Comments

comments