तेमाल अनलाईन संवाददाता,

दक्षिण कोरिया । सशक्त दलित एकता समाज दक्षिण कोरियाले “जातीय भेदभाव तथा छुवाछुत उन्मूलन १३ औं राष्ट्रिय दिवस” आगामी जुन ९ तारिक आइतबार मनाउने भएको छ ।

२०६३ साल जेठ २१ गते तत्कालीन सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । उक्त दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको रुपमा मनाउने गरिएको छ । यसै सन्दर्भमा “जातीय छुवाछूत तथा विभेद विरुद्धको अभियान” मुख्य उदेश्य लिएर दक्षिण कोरियामा स्थापना भएको सशक्त दलित एकता समाजले पनि उक्त दिवस मनाउन लागेको हो ।

दिवसको अवसरमा “अन्तरक्रियात्मक छलफल कार्यक्रम” र “बहस कार्यक्रम सवाल समानताको” गरि दुई चरणमा कार्यक्रम संचालन हुने जानकारी समाजले दिएको छ । उक्त कार्यक्रमका लागि नेपाली दुतावासका प्रतिनिधि, कोरियामा रहेका समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ, सामाजिक अभियान्ता, विद्यार्थी, सञ्चारकर्मी लगायत जातीय तथा क्षेत्रीय संघ-संस्थालाई समेत निमन्त्रणा गरिएको जानकारी समाजका महासचिव अर्जुन परियारले दिएका छन् ।

दलितहरुमाथि गरिदै आएको अमानवीय भेदभाव तथा छुवाछुत अन्त्य गर्नका लागि राज्यले थुप्रै कानून निर्माण गरेको छ । यद्यपि कार्यान्यवन पक्ष फितलो हुदाँ अझै पनि समाजमा यस्ता घटनामा कमी आएको छैन । यस्तो अवस्थालाई कसरी चिर्न सकिन्छ त भन्ने सवालमा रोजगारी तथा अन्य सिलसिलामा दक्षिण कोरिया भित्रिएका दलित समुदायका युवाहरुले उक्त कार्यक्रम गर्न लागेले भन्दै महासचिव परियारले भने “यस अभियानमा आफ्नो ठाउँ र क्षेत्रबाट सहयोग गर्न सबैलाई आव्हान गर्न चाहन्छु । आशा छ सबैले साथ र सहयोग गर्नुहुनेछ ।”

कार्यक्रम दक्षिण कोरियाको राजधानी सउलको दोङ्म्योआफमा रहेको नेपाल हाउसमा हुने छ ।

कार्यक्रम हुने स्थान र समय
मिति – 2019 june 9 तारिक आइतबार
समय – बिहान 11 बजे बाट सुरु
स्थान – नेपाल हाउस दोङ्म्यो स्टेसन गेट न. 4
सम्पर्क – 01068570817/01089703511/ 01068570817

 

Comments

comments