तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । तामाङ समाज ख्याङ्साङ्नाम्दो/बुसान दक्षिण कोरियाद्वारा आयोजित सुपरहिट चलचित्र “ए मेरो हजुर ३” को प्रदर्शन आइतबार किम्हे सहरस्थित मुन्ह्वावन हलमा भव्यताको साथ सम्पन्न भएको छ ।

रोशी गाउँपालिका ३ काभ्रे निवासी दुबै मृगौला खराब भई हाल मृत्युसँग लडिरहेकी मिना तामाङको उपाचार सहयोगार्थ प्रदर्शन भएको चलचित्र “ए मेरो हजुर ३”ले दर्शकहरूको अपार माया पाएको छ ।

यो फिल्म हेर्ने दर्शकहरुको भीड हलको क्षमताभन्दा बढी भएपछि आयोजकलाई सीटको व्यबस्थापनमा निकै कठिन भएको थियो । चलचित्र प्रदर्शन गर्नु अघि छोटो अनौपचारिक कार्यक्रम गर्दै यसै चलचित्र “ए मेरो हजुर ३” बाट नेपाली चलचित्र क्षेत्रमा सह-निर्माता रुपमा डेब्यु गर्नु भएका सरोज सुब्बा सेराङ्लाई आयोजकको तर्फ बाट प्रशंसा-पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा गत महिना “किम्हे सिस्टरहुड”ले आयोजना गरेको सिंगल डान्स कम्पिटीसनमा “तामाङ समाज ख्यासङनाम्दो/बुसान दक्षिण कोरिया”को प्रतिनिधित्व गर्दै सहभागि भएका २ जनाले प्रतियोगिताको १५ प्रतिस्पर्धीहरु मध्ये प्रथम हुनुभएकी जुलीफा तामाङ र अन्तिम ५ मा पर्न सफल हुनुभएकी “छ्वेसाङ लामा” लाई पनि प्रशंसा-पत्रद्वारा सम्मान गरेका थिए ।

चलचित्र प्रदर्शन पश्चात निर्माता सरोज सुब्बा सेराङले चलचित्र निर्माणको बेला गर्नु परेको संघर्ष र अहिले पाएको दर्शकहरुको मायाले एकदम नै खुसी भएको र भबिष्यमा अझै राम्रो राम्रो चलचित्रमा काम गर्ने सोच रहेको जानकारी गराउदै सम्पुर्ण दर्शकहरू प्रति धन्यवाद अनि आभार प्रकट गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।