बौद्धस्थित प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनमा धर्म गुरु खेन्पो ङावाङ होसेर र साथमा साधक छेतेन नोर्गेबाट प्रतित्यसमुत्पाद (शिव खोर्लो) र विपश्यना ध्यान साधना शिविर कार्यक्रम सम्पन्न भएको छ ।

प्रतित्यसमुत्पाद र विपश्यना ध्यान साधना शिविर जेठ १७ गते देखि दश दिन विहान ७ बजे देखि १० बजे सम्म सस्थाको सभा हलमा संचलान थियो । कार्यक्रमको उद्धाटन र समापनमा खेन्पो ङावाङ होसेर उपस्थित भएका थिए भने उक्त शिविरमा सय जना भन्दा धेरै उपासक उपासिकहरुको उपस्थित रहेको थियो । प्रशिक्षकको रुपमा रहेका धर्म गुरु र दश दिन सम्म कार्यक्रममा उपस्थित भएका उपासक उपासिकहरुलाई सस्थाका केन्द्रिय कार्यसमिति सदस्य रोज बहादुर तामाङ (च्याङ्बा) धन्यवाद समेत दिएका थिए ।

प्रतित्यसमुत्पाद (शिव खोर्लो) र विपश्यना ध्यान साधनामा चार अर्य सत्य, ६ लोक ३१ भुवनको बारे जनकारी गराएका हुन् । संसारिक दुःखका कारण र जन्म हुनु, बुढाबुढी हुनु, बिमारी हुनु र मृत्यु हुनु नै संसारीक दुःखका कारण हुन् र यस संसारीक दुःख सत्यबाट कसरी मुक्ता हुन सकिन्छ भने साधक छेतेन नोर्गेले प्रस्ट रुपमा बुजाएका थिए ।
शील, समाधी र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका द्वेष, राग र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्यान नै उत्तम मानिन्छ । विपश्यना ध्यानमा बस्दा २४ घण्टा सम्म साधकहरुले यी पाँच सिल झूटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्ने जस्ता नियमभित्र रहेर शिविरको तिन दिन सम्म श्वासप्रश्वासमा आफ्नो ध्यान केन्द्रीत गर्न लगाएका थिए । जसलाई ‘आनापाना सति’ ध्यान भनिन्छ । साधकले मनको चञ्चलता यो बेला अनुभव गर्न पाउँछन् । भने सात दिन सम्म विपश्यना ध्यान सिकाएका थिए ।
भगवान् बुद्धको उपदेशको सार हो – धर्म सर्वदेशिक, सर्वकालीन र सर्वज्ञनिन हुन्छ । प्रकृतिका नियम तथा विश्वव्यापी विधानलाई सही रूपमा धारण गर्नु नै धर्म हो । यसमा कुनै पनि जाति, वर्ग वा सम्प्रदायको एकाधिकार हुँदैन । सूर्यको स्वभाव हो ताप र प्रकाश दिनु, चन्द्रमाको स्वभाव हो प्रकाश र शीतलता दिनु, आगोको स्वभाव हो जल्नु र जलाउनु, बरफको स्वभाव हो शीतल हुनु । यस्तै, उत्पन्न हुनु, नष्ट हुनु, उदाउनु अस्ताउनु शुद्ध धर्म हुन् ।
विपश्यना आजभन्दा करीब दुई हजार पाँच सय वर्षअघि बुद्ध स्वयंले अनुभूत गरी प्रतिपादन गरेका ध्यान विधि हो । यो ध्यान विधिले अनित्यताको बोध गर्न मद्दत गर्छ । जुन जस्तो छ त्यसलाई साक्ष्यत भाव वा तटस्थ भावले हेर्ने विधि विपश्यना हो । ‘वि’ भनेको विशेष तवरले र ‘पश्यना’ भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना ।
























