भगवान बुद्धको विषयमा लेख्न र बोल्न धेरै कुरामा होश पुर्याउनुपर्ने हुन्छ । एकातिर अहिलेका पढेलेखेका र आफूलाई बौद्ध मान्नेहरुले समेत गौतम बुद्धलाई एउटा विशिष्ट चिन्तनक्षमता भएको “ठुलो मान्छे“ या “महामानव“ मात्र थिए भनेर बुद्धको महानतालाई सानो घेराभित्र कोचेर राख्ने प्रयास गरिराखेका छन् र उहाँलाई “भगवान“ भन्न पनि चाहदैनन् भने अर्का्तिर राम्रोसँग बुद्धधर्मको अध्यन नगरेका या अध्यन गर्न नपाएकाहरुले फेरि बुद्धलाई अरु धर्ममा जस्तो “सम्पुर्ण जगत का सृष्टिकर्ता परमेश्वरकै एक “औवतार“ या “ईश्वर“ नै ठान्छन् ।
यथार्थमा यी दुबैथरीका व्यक्तिहरूको धारणा र बुझाइ अधुरो र गलत हुन्छ । यस्ता विचाहरु फैलिदै गए भने भगवान बुद्धको पवित्र धर्म क्रमशः धमिलिदै जान्छ जसले गर्दा ज्ञान र मोक्षको जरो नै हराउँछ र बौद्धहरुको पनि सच्चा कल्याण हुन छोड्छ । त्यसैले बुद्धधर्मको विषयमा बुझ्नु अगाडि नै कम्तीमा बुद्धको विषयमा अलिकति पनि सच्चा बौद्धहरुले बुझिदै आएको यथार्थ कुराको जानकारी भयो भने त्यसले धेरै ठुलो फाईदा हुनेछ ।
मजस्तो अल्पमती एवं गुणहीन व्यक्तिले ज्ञानको गहिराई एवं विस्तारका सबभन्दा धनी र महकरुणा र त्यसबाट निष्पन्न भएका अति विशिष्ट गुण्हरुका सागर भगवान बुद्धको विषयमा र उहाँका शिक्षाहरुको विषयमा लेख्ने प्रयास त स्वयं नै हास्यास्पद छ तापनि समाजका कतिपय बौद्ध एवं सारा अबौद्धहरुले बुद्धको र उहाँका शिक्षाको विषयमा धेरै अयथार्थ कुराहरू लेख्ने, बोल्ने गरिराखेको परिप्रेक्ष्यमा बुद्ध र बुद्धधर्मको विषयका निष्पक्ष कुराहरुको जानकारी गराउनु महत्त्वपूर्ण भैसकेको छ। चरणमा रहेर बुद्धदेखि अटुट रुपमा अभ्यास र अध्यन गरिदै आएको शुद्धसिद्ध परम्पराको व्याख्या अनुसारको बुद्धधर्मको विषयमा थोरै भए पनि ज्ञान गर्न पाएको हुनाले त्यस आधारमा उहाँकै अनुभवले गर्दा यो लेख्दैछु। यहाँ भएका यथार्थ कुरा उहाँकै देन हुन् र यसमा हुनसके त्रुटिहरु मेरा आफ्ना कमजोरी हुन् ।
भगवान बुद्धलाई नै तपाई कुनै देवता हुनुहुन्छ किमनुष्य हुनुहुन्छ कि यक्ष हुनुहुन्छ कि को हुनुहुन्छ भनेर एक पटक सोधिएको थियो । त्यसमा स्वयं उहाँले “म मनुष्य पनि होइन, देवता पनि होइन, यक्ष पनि होइन“ इत्यादि भन्दै नकार्नुभएको थियोे । उसो भए तपाईं खास को हुनुहुन्छ त ? भन्दा “मलाई त बुद्ध भनेरै बुझ्नुपर्छ“ भन्ने स्पष्ट जवाफ दिनुभएको थियो । यसबाट स्पष्ट हुन्छ कि “बुद्धलाई कुनै देवता या ईश्वर या यक्ष आदि भन्ने ठान्नु पनि हुँदैन भने एउटा मानिस मात्र पनि ठान्नुहुँदैन । किन ? किनकि “बुद्ध“ भनेको त्यस्ता उत्तम गुणहरुले युक्त भएको व्यक्तित्व हो जुन गुणहरु न त कुनै देवताहरुमा हुन्छन् न त कुनै सामान्य मानिसमा हुन्छन् अरु सामान्य प्राणिहरुको त कुरै छोडौ । उहाँको जन्म मानसिकै रुपमा भएको थियो तापनि उहाँमा र अरु मानिसहरुमा जन्मजात गुणहरुको अन्तर निकै ठुलो छ । उहाँ गर्भमा पसेदेखि नै बेग्लै प्रकृयाबाट जन्म लिनुभएको थियो जुन कुरा सामान्यस् कुनै पनि मानिसमा या देवतामा हुँदैन । यस्ता थुप्रै कारणहरु छन् जसले गर्दा बुद्धलाई “म मानिस पनि होइन, देवता पनि होइन’ नभनी सुख थिएन र उहाँले त्यो यथार्थ कुरा नै व्यक्त गर्नुभएको थियो ।
भगवान बुद्धमा करुणा र ज्ञानसंग संबंधित धेरै सामान्य र असामान्य गुणहरु हुन्छन् । तिमध्य अन्य देवताहरुमा हुने सिध्दी(ऋृध्दी या अभिज्ञा सम्बन्धि गुणहरु र बल, वैशारद्य आदि पनि बुद्धमा अधिकतम हुन्छन् भने कतिपय त श्रावक अर्हन र प्रत्येकबुद्धहरुमा समेत नपाइने गुणहरु पनि भगवान बुद्धमा हुन्छन् । ती विशेष गुणहरुको नाम ’आवेणिक धर्म’ हो र यी १८ ओटा छन् । यिनिहरुको पछि यथास्थानमा उल्लेख गरिने छ। यस्ता विशेष गुणहरु सिद्धार्थ कुमार शाक्यामुनिमा कसरी आए ? के तपाई हामीजस्ता सामान्य मानिसमा पनि त्यस्ता गुणहरु आउन सक्छन् ? अथवा के हामी पनि बुद्ध बन्न सक्छौं ?
यी प्रश्नहरुलाई बुझ्नका लागी सर्वप्रथम शाक्यमुनि बुद्धको व्यक्तिगत जीवन यात्रालाई अलिकति कोट्याऔ। बौद्ध परम्पराका सूत्र र शास्त्रहरु (बुद्ध वचनलाई सूत्र या आगम भन्छन् र पछाडिका गुरु या आचार्यहरुका वचनलाई ’शास्त्र’ भन्छन्) का अनुसार त्रि(असंख्य कल्प अगाडि एकजना ’सुमेध’ नाम गरेका ऋृषि थिए र उनी आफ्नो तपस्या आदिबाट त्रिकालदर्शी एवं ऋृद्धि(सिद्धि(सम्पन्न र सुविख्यात भैसकेको थिए । त्यसबेला अहिलेका शाक्यमुनि बुद्ध जस्तै एकजना सम्यक्सम्बुद्ध उत्पन्न हुनुभएको थियोे र उहाँलाई उनले भेटे । सुमेध ऋृषीसंग बुद्धको छलफल भयो र बुद्धको कुराबाट प्रभावित भइ उनी बुद्धको शरणमा गए र बुद्धधर्म अनुसार आफू पनि सम्यक्सम्बुद्ध बन्नेछु भन्ने प्रण गरे। सम्यक्सम्बुद्ध बन्ने औपचारिक प्रण या संकल्प गर्नुलाई ’बोधिचित्तोत्पाद’ भनिन्छ ।
बोधिचित्तोत्पाद भनेको बोधिचित्त उत्पन्न गर्नु हो। संक्षेपमा ’बोधि’ भनेको सम्पुर्ण वस्तुहरु (धर्महरु) को यथार्थ स्वभाव (शुन्यता) को ज्ञानबाट अलिकति पनि विचलित नभई सम्पुर्ण प्राणिहरुलाई स्वतस्सिद्धरुपमै (आफूले चाहेर या प्रयास गरेर होइन) दुस्खको सागरबाट उद्घार गर्ने महाकरुणाले युक्त भैरहेको चित्तिस्थिती हो। ’चित्त’ भनेको मन नै हो। अतस् ’बोधिचित्त’ भन्नाले त्यस्तो चित्तलाई बुझिन्छ जसले संसारको वास्तविक स्वभावलाई जस्ताको तस्तै जानिराखेको पनि हुन्छ भने संगसंगै अरु प्राणिहरुको वास्तविक कल्याण पनि अनायासै गरिराखेको हुन्छ । त्यस्तो गुणले युक्त हुने (बीउ) त हामी सबैको मनमा हुन्छ । मानिस मात्र होइन अरु प्राणीहरुको मनमा पनि त्यो बीउ हुन्छ । यसरी हामी सबै सत्त्व (प्राणिहरु) मा पनि त्यसरी ’बोधि’ को अवस्थामा पुग्ने बिज हुन्छ । त्यसैलाई ’सुगतगर्भ’ या ’तथागतगर्भ’ पनि भनिन्छ । ’सुगत’ र ’तथागत’ भन्ने दुई शब्दहरुले ’बुद्ध’ लाई नै जनाउँछन् । त्यही भएर बुद्धलाई ’सुगत’ पनि भनिन्छ , ’तथागत’ पनि भनिन्छ । यी शब्दहरुको अर्थ धेरै गहिरो छ र आचार्यहरुले धेरै प्रकारले व्याख्या गर्नुभएको छ।
छोटकरीमा भन्ने हो भने ’सु’ भनेको राम्रो या उत्तम किसिमले ’गत’ भनेको गएको (गत को अर्थ ’ज्ञान गरेको’ भन्ने पनि हुन्छ) अतस् जो ’उत्तम रीतले जानुभयो’ उहाँ ’सुगत’ हुनुभयो । आफ्नो र अरुको पनि सबभन्दा उत्कृष्ट किसिमले हित गरेर जानु ’उत्तम गति’ हो। त्यो उहाँले गर्नुभयो । त्यसैले ’सुगत’ हुनुभयो । त्यस्तै ’तथा’ भनेको ’त्यसरी’ हो र ’गत’ भनेको अघि जस्तै ’गएको’ भन्ने हुन्छ । त्यसकारण जसरी पहिलेका बुद्धहरुले आफ्नो र अरुको उत्तम हित गरेर गए त्यसरी नै उहाँले पनि हित गरेर जानुभयो, अतस् ’तथागत’ हुनुभयो ।
यसरी ’सुगत्गर्भ’ (या तथागत गर्भ) हामी सबैमा हुन्छ र बुद्ध बन्ने बिज पनि त्यही हो। त्यसलाई उमार्नको लागि अन्नको बीउलाई माटो(पानीमा राखेजस्तै हामीले पनि ’बोधिचित्त’ उत्पन्न गराउनुपर्छ । बीजरुपमा पहिलेदेखि नै हामिमा भए पनि त्यसलाई बढाएर फुलाउन(फलाउनको लागी मनमा बारम्बार त्यो संकल्प (चाहना) लाई उत्तारिराख्नुपर्छ र व्यबहारमा पनि परिणत गर्दै लैजानुपर्छ, त्यही नै अभ्यास हो। त्यही कामको थालनी ’बोधिचित्तोत्पाद’ बाट हुन्छ ।
सुमेध ऋृषी आफ्नो परम्परागत प्रणालीमा त्रिकालदर्शि ईश्वर समानकै थिए तापनि ती सबै कुरा चत्रक्कै छोडेर त्यसवेलाका तथागत (बुद्ध) भगवानसंग शरणगई “सबै प्राणिहरुलाई दुस्खबाट उद्घार गर्न बुद्ध बन्नेछु“ भन्ने संकल्प (बोधिचित्त) उत्पन्न गरेर त्यस अनुसार अभ्यास गर्न थाले । बोधिचित्तको हिसाबले गरिने सम्पुर्ण आचरणहरुलाई “बोधिसत्तचर्या“ या ’बोधिचर्या’ भनिन्छ । त्यसरी बोधिचर्या गर्न थालेको व्यक्तिलाई ’बोधिसत्त्व’ भन्छन् । यसरी सुमेध बोधिसत्त्व बने बोधिचर्या गर्न थाले। जसले यसरी बोधिचर्या गर्न थाल्छ पछि उ सम्यक्सम्बुद्ध अर्थात तथागत (बुद्ध) बन्छ । उनी पनि विभिन्न क्रमले अभ्यास गर्दै जादा जब उनले बोधिलाभ गर्ने निश्चित भैसक्यो तब भगवान ’दीपङ्कर’ तथागतबाट उनले पछि सम्यक्सम्बुद्धता प्राप्त गरेर धेरैको कल्याण गर्नेछन् र उनको नाम त्यसबेला शक्यमुनी रहने छ भनेर व्याकरण प्राप्त गरे ।
बुद्धधर्ममा त्यसरी कुनै बुद्धले या उच्चतहको बोधिसत्तोको लागि कसैका लागि गरिदिने “भविष्यवाणी“ लाई “व्याकरण“ प्राप्त गर्ने भनिन्छ र यो सामान्यतया आफ्नो अभ्याससंग सम्बन्धित हुन्छ । जो पायो त्यसले र जहिले पायो तहिले कसको व्याकरण हुँदैन । आफ्नो अभ्यासले गति लिइसक्यो र फल अवश्यम्भावी भैसकेको अवस्था आयो भने मात्र व्याकरण प्राप्त हुनसक्छ । त्यसैले यहाँ यो पनि बुझ्नुपर्छ कि दिपङ्कर तथागतले आशीर्वाद दिएर या वरदान दिएर सुमेध बुद्ध बनेका होइनन् । दीपङ्कर तथागतले त सुमेधको बुद्धताप्राप्ति निश्चित भैसकेको देखेर व्याकरण गरिदिनुभएको मात्र हो। त्यो व्याकरणको पनि साधकमा ठुलो प्रभाव त अवश्य हुन्छ । विर्या बढेर जान्छ । उत्साहमा वृद्धि हुन्छ । त्यसपछि पनि बोधिचर्या गर्दै जादाखेरी अन्तमा त्यो दिन पनि आइपुग्यो जुनवेला उहाँको त्यो चर्या पूर्ण भयो र अन्तमा शाक्यमुनिको रुपमा जन्मिएर सम्यक्सम्बुद्ध भइ लोकको हित गरेर जानुभयो । यसरी धेरै लामो इतिहास बोकेर बौद्ध अभ्यासमा संलग्न भइ बुद्धहरुले सिकाएको बाटोबाटै आफू हिंड्दै गरेको बोधिसत्व मात्र ’सम्यक्स्म्बुद्ध’ या ’तथागत’ बन्न सक्छ । बोधिसत्त्वचर्या गर्दाखेरी उसले धेरै कुराहरूको अभ्यास गर्नुपर्ने हुन्छ र आफूलाई अरुको र आफ्नो समेत अति उत्तम खालको हित गर्न सक्ने (परार्थ र स्वार्थ गरी दुबै अर्थ सिद्धि गर्न सक्ने) बनाउन तालिम दिदै जानुपर्छ । समय त अवश्य धेरै लाग्छ तैपनि बुद्धले धेरै उपायहरू पनि सिकाउनुभएको छ जसले गर्दा छोटो समयमा पनि धेरै ठुलो उपलब्धि हुनसक्छ । यी अभ्यासहरुबाटै बुद्धमा त्यस्ता असाधारण गुणहरु आएका थिए । अघिका बुद्धहरु पनि त्यसैगरी नै भएका हुन् भने पछि आउने बुद्धहरु पनि त्यसैगरी नै अभ्यासबाट बनेर आउने छन् ।
त्यसकारण बुद्धहरुको इतिहासलाई पूरै बिर्सिएर बुद्ध त कुनै एक ’मानव मात्र’ या कुनै एक सन्त, या महान व्यक्ति या ’देवता या ईश्वरको अवतार’ भन्ने हिसाबले हेर्न थाल्ने हो भने बुद्धधर्म अनुसार त्यो भन्दा ठुलो अर्को मिथ्या दृष्टि केहि पनि हुँदैन र मिथ्यादृष्टि छ भने संसारको दुःखबाट छुटकरा पाइन पनि सक्दैन जुन स्वयं भगवान बुद्धले बताउनुभएको कुरा हो । यसरी बुद्धता प्राप्ति गर्ने मार्ग नै बुद्धधर्म याने बुद्धहरुले सिकाएको धर्म हो । यसको आफ्नै दृष्टिकोण छ, आफ्नै व्यवस्थित मार्ग छ जसलाई बुझ्न अन्य प्रचलित धर्महरुको चस्मा उतारेर खुला हृदयले अध्यन र चिन्तन गर्नुपर्ने हुन्छ । बौद्ध मार्गको बारेमा हामीले पछाडि आवश्यक चर्चा अवश्य गर्नेछौं ।
बुद्धधर्मको संक्षिप्त परिचय बौद्धदर्श
✍️नारायण प्रसाद रिजाल
छ्योठुल धुइछेन (ऋद्धिप्रतिहार्य दिवस) को पावन अवसरमा बौद्धमा च्योई पुजा
























