• अमृत योञ्जन तामाङ, भाषाविद् तथा लेखक
युरोपको यात्रा – पहिलो दिन (जुन १४ २०१९), काठमाडौं-अमस्टर्डम
विहानै २ बजे उडान भएकोले राती ११ बजेतिर नै घरबाट निस्कियौं- श्रीमती र म । बोर्डिङ पासको लागि लाइनमा उभिदा भनियो-
“उडान ४ घण्टा लेट छ ।”
“किन ?”
“हिजो यति एयरलाइन्सको प्लेन रन-वेमा चिप्लेर बाहिर पुगेकोले सवै उडान तालिका ढिलो हुनगएको हो ।”
“समयमा नै सूचना दिएको भए हुने नि । बिस्तारै आउने थियौं ।” हल्का रिस पोखियो ।
बोलेन ऊ ।
“दोहाको ट्रान्जिट के हुन्छ नि ?”
“उडानले व्यवस्था गर्छ ।”
टालटुले जोवाफ थियो- कर्मचारीको । केही छिनमा डा. मुक्तसिंह लामा पनि आइपुगे । नेदरल्याण्डसम्म हामी सँगसँगै यात्रा गर्दै थियौं । उडान तालिका सेयर गरे । उनी पनि खिन्न । हामीसँग विकल्प थिएन ।
सामान जाँचपछि बोडिङ पास लिएर भर्‌याङ चढें । राहदानीमा डिपाचरको स्टाम लागेपछि फलैंचातिर लागे । भएभका फलैंचा खचाखच भरिसकेको थियो । जेनतेन श्रीमती मीनाको लागि एउटा सिट खोजे । यात्रुहरू जताततै उभिदै थिए । भिड बढदै गएपछि चेकजाँच खुल्यो । केही भित्र गए । हामी बसिरह्यौं । निकै अबेर सूचना पार्टीमा देखियो- ‘कतार एअरवेजको दोहा उडान ४.४० मा ।’ सूचना सँगै चेकजाँज सकेर बोडिड पास देखाउँदै प्लेनभित्र पसियो । हाम्रो सिट मध्य भागको मध्यतिर रहेछ । उडानले समयमा नै गति लियो । एअरबसको ५ घण्टे उडानपछि कतारको राजधानी दोहामा पुगियो ।
दोहामा ट्राजिटको समय निकै खुम्चिसकेको थियो । प्लेन छुटने डरले हतारियौं । चेकजाँच पछि पुनः कुदाकुद । बोर्डिं‍ङ चेक सुरू भइसकेको रहेछ । लामबद्ध भइयो । लामो साँस फेरियो ! कतार एअरकै अमस्टर्डमको उडान पखेटा फैलाएर स्वागतमा तयार थियो । समयमै उडानले गन्तव्य चुम्यो । बोइङ ७७७ को ७ घण्टा लामो अकासे यात्रा ।
नेदरल्याण्डको राजधानी अमस्टर्डम । युरोपेली भूमिमा म पहिलो पल्ट उभिदै थिएँ । कुदाकुद सकिसकेको थिएन । प्रवेशद्वारमा सयौं लामवद्ध । राहदानी, निम्तोपत्र र अन्य कागजपत्र हेरेर स्टाम लगाइदिए । स्वदेश फर्किने विस्वास दिलाउन सक्नु पर्ने रहेछ । मसँग मेरो उमेर नै यथेष्ट थियो । प्रवेशमा रोकटोक भएन । खासै सोधपुछ गरेनन् पनि । मीनालाई त केही सोधिएन पनि ।
यसपछि लगेज कक्षतिर कुदियो । निकै बेर पर्खिदा पनि हाम्रो लगेज घुमेको देखिएन । अन्तिम समयसम्म पर्खेपछि गुनासो डेस्कमा पुगे । डोहामा नै एउटा लगेज छुटेको उनीहरूले थाहा पाइसकेका रहेछन् र अर्को चाहीं निकालेर राखेका रहेछन् । गुनासो पत्र भरेर थमाएँ । दोस्रो दिन होटेलमा नै पठाइदिने जवाफ पाएँ । यस्तो घटना मसँग यस अगाडि पनि भएको थियो । दौडधुपको निरन्तरता घटनाहरूको पुनरावृत्ति ।
बाहिर निस्केको त ब्रिजिट स्टानमान दिदी र बज्र प्रकाशनका प्रकाशक बिदुर महर्जन स्वागतार्थ रहेछन् । औपचारिकता आदान प्रदान । गफ गर्दै रेल चढियो । सिनेमाको पर्दामा झै डब्वाबाहिर ग्रामिण परिदृश्यहरू छुट्टिदै थियो । डब्बाभित्र युरोपेली सभ्यता झल्किएको थियो- अनुहार र क्रियाकलापमा । बाहिरभित्र हेर्दा हेर्दै आधाघण्टा जतिपछि लाइडेन-सेन्ट्रलमा उत्रियौं । अनि एउटा ट्याक्सीमा पाँचै जना चढ्यौं । पहिले हामीलाई होटलमा ड्रप गरेर उनीहरू लागे । हाम्रो बसाइ फरक फरक होटलमा रहेछ ।
हाम्रो होटल रूखै रूख र फलफुलको बगैंचाको बीचमा थियो- शान्त । निकै शान्त । लाग्यो- आवश्यकताभन्दा पनि अधिक शान्त । एकान्त ! हामी गाउँमा हुर्केकाहरूलाई ठुला ठुला भवन, फराकिला सडक, गाडी र मान्छेको भिडभाड चाहिदो रहेछ । ‘सहर’ भनेको पनि यिनै त हुन् नि, होइन र ?
युरोपको यात्राः दोस्रो दिन (जुन १५), लाइडेन विश्वविद्यालय, नेदरल्यान्ड
मेरो लागि हिजोको दिन निकै लामो रह्यो- ३२ घण्टा जति लामो । काठमाडौंबाट नेदरल्यान्डसम्मको निरन्तर यात्रा । १४ जुनमा प्रस्थान र १४ जुनमै अवतरण पनि ।
गजब रहेछ लाइडेन ! बेलुकी १० बजेतिर साँझ पर्दो रहेछ । अनि नेपालमा जस्तै गरी ५ बजे तिरै उज्याँलो झरिसक्दो पनि रहेछ । मात्र ७ घण्टा लामो रात । नेपाल, भारततिर त रात १०-१२ घण्टा जति लामो हुन्छ । प्रकृतिले हामीलाई धेरै र यहाँकाहरूलाई कम सुताउँदो रहेछ भन्ने लाग्यो । घाम नडुबी खाना खाने र सुत्ने आँट कमसे कम नेपालीलाई हुँदैन । यहाँकाहरू घाम हुँदै सुत्छन् कि ? न सुत्दैनन् कि ? मनमा खुल्दुली भइरह्यो ।
आज दिउँसो तीन बजे लाइडेन विश्व विद्यालयमा भेटघाटको योजना थियो । मीना र म दुइ बजेतिरै पुग्यौं । गोष्टीको लागि नाम दर्ताको प्रक्रिया तयार गरिदै रहेछ । मैले आफ्नो नाम चेक गरे । डेस्कले ३ बजे आउन अनुरोध गरिन् । समय बाँकी रहेकोले हामी विश्व विद्यालयको उत्तरतिरबाट पश्चिमतिर लाग्यौं । एउटा खोला (नहर पो हो कि ?)को नजिकै पुगिएछ ।
रमाइलो ! निकै रमाइलो ! खोलाको दुवैतिर सडक । फूलैफुलले सजिएको ! सडकको किनारामा रेस्टुराँ नै रेस्टुराँ । बाटोको वरिपरि हेर्ने र बसेर खानेहरूको भिडभाड । हुलका हुल मानिस बसेर खाइरहेका ! पुछेको सिसा जस्तो सफा सडक । लोभ लाग्दो परिवेश । काठमाडौंको धुलो र फोहोरमा लुडिबुडी खेल्ने मान्छेले यस्तो सफा ठाउँ र परिवेश देखपछि त अचम्म हुने नै भयो नि, होइन र ? हो, ‘एलिस इन वोन्डरफुल ल्यान्ड’को कथा सम्झें !
एउटा रेस्टुराँमा पसेर नास्ता खायौं । अनि सहर हेर्दैहेर्दै पुनः विश्व विद्यालय फर्कियौं । ब्रिजिट दिदी र विदुरजी आइसकेका रहेछन् । लाइडेन विश्व विद्यालयमा अध्यापन गरिरहेका प्रा.डा. बालगोपाल श्रेष्ठसँग पनि भेट भयो। केहीछिन पछि डा. मुक्त पनि आइपुगे । हामीहरू जम्मा जम्मी ६ जना । अरू नेपाली देखिएन । नाम दर्ता गराइसकेर गेटबाहिर निकै बेरसम्म गफ गरेर बस्यौं । वातावरण रमाइलो थियो । विश्वका विद्वान्‌हरूको घुइँचो । एसिया विषयकै भएर होला विशेषतः एशियनहरू धेरै देखिएँ ।
दिन ढल्दै गए पछि नेपाली खाना खाने उद्देश्यले रेष्टुराँ खोज्दै गयौं तर त्यस दिन बन्द रहेछ । भोलिपल्ट समयमै भेटने गरी छुट्टियौं । १० मिनटको दूरीमा केही पर टेक्सी पाइन्छ भनेपछि टेक्सी खोज्ने क्रममा सफा सुग्घर, फुलयुक्त, रङ्‌गीबिरङ्‌गी सहरको अवलोकन गर्दै हिडिरह्यौं । हामीले सिक्नु पर्ने धेरै रहेछ ।
सडकको पनि रमाइलो परिपाटी देखें । मोटर गुडने सडक बीचमा रहेछ, यसको दुबै साइडमा साइकल गुडाउने बाटो रहेछ अनि छेउतिर मान्छे हिडने गोरेटो । प्रहरी कतै देखिएन, देखिदैन । यहाँकाहरू साइकल चलाउन मन पराउँदा रहेछन् । साइकल सवारी निकै देखिन्थ्यो । प्राध्यापकहरू पनि साइकल डोर्‌याएर हिडदा रहेछन् । काठमाडौंमा जताततै घुँइचो देखिने मोटरसाइकल यहाँ देखिएन । मलाई लाग्यो वातावरण सफा राख्ने यो नै राम्रो उपाय रहेछ । यहाँका मानिसहरू सुकिलो, छरितो र ढुक्क (कन्फिडेन्ट) भएर हिड्दा रहेछन् । मलाई यहाँको शहरी जनजीवन र सडकको व्यवस्थापन निकै रमाइलो लाग्यो ।
युरोपको यात्राः तेस्रो दिन (जुन १६)‍, लाइडेन विश्वविद्यालयमा तामाङबारे छलफल
आज ‘एसियाका विद्वान्‌हरूको ११ औं अन्तर्राष्ट्रिय सम्मेलन’ (१५-१९ जुलाई, २०१९), लाइडेन विश्वविद्यालयमा सुरू भयो । यो सम्मेलन इन्टरनेस्नल इन्स्ट्रिच्युट फर एसियन स्ट्रडिज, फ्रान्सका जिस एजिइ र लाइडेन विश्वविद्यालयले संयुक्त रूपमा आयोजना गरेका रहेछन् । ५ दिने यस सम्मेलनमा हाम्रो प्रस्तुति पहिलो दिनमा नै परेको रहेछ ।
सत्रपूर्व हामीले पुस्तक प्रदर्शनीको अवलोकन गरेका थियौं । निकै भव्य व्यवस्थापन । धेरै शीर्षकका पुस्तक थिए । बिक्रीका लागि पनि र हेर्न मात्रका लागि पनि । शीर्षकहरू लोभलाग्दो थियो । तर किन्ने आँट भएन । मैले पटक पटक नेपाल संस्करणको लागि विदुरजीलाई गुहारी रहे । उनी पनि विभिन्न प्रकाशकहरूसँग सम्वन्ध विस्तार गर्दै थिए ।
हाम्रो सत्र समय १.३०-३.३० मा थियो । यसै अवधिमा ४५ वटा समानान्तर सत्र वरिपरि चलिरहेको थियो । यसैबाट यो कति ठुलो रहेछ भनेर अनुमान लगाउन सकिन्छ । लाग्यो- यत्रो भव्य तयारी कसरी सम्भव गरियो होला ।
समाज र पहिचान विषयअन्तर्गत हाम्रो शीर्षक थियो- ‘नेपालका बौद्ध वंशावलीमा तहगत प्रतिस्पर्धाः निङ्मापा सांस्कृतिक पाठबाट तामाङ पहिचानको पुनर्संरचना’ । यसै शीर्षकमा रहेर फ्रान्सका लिले विश्व विद्यालयका ब्रिजिट स्टेनमान, अस्ट्रियाका वियना विश्वविद्यालयका जोका गेले, नेपालका त्रिभूवन विश्वविद्यालयका मुक्तसिह तामाङ र मैले पेपर प्रस्तुत गरे । सत्रका कन्भेनर थिए- ब्रिजिट स्टेनमान आफैं ।
‘देवनागरी, सम्भोटा र रोमन लिपिमा तामाङ भाषा लेखनको ऐतिहासिकता, दुविधा र उपायको खोजी’ शीर्षकमा मैले आफ्नो विचार राखें। डा. मुक्तले ‘तामाङ बौद्धहरूको इतिहासको पुनर्संरचना’ विषयमा धारणा राखेका थिए । जोका गेलेले ‘योल्मो र तामाङ बौद्ध समाजमा कर्मा छोसाङको वंश-इतिहासबारे’ र ‘नेपालका तामाङ बौद्धहरूको सामाजिक पहिचानको पुनर्संरचनामा द्विविधा’ विषयमा ब्रिजिट स्टेनमानले पेपर प्रस्तुत गरेका थिए।
प्रस्तुतिपछि सानो समुहमा घनिभूत छलफल भयो । विशेष गरी तामाङ भाषाको प्रयोगको स्थिति र नेपालका भाषाबारे सहभागीहरूले मसँग जिज्ञासा राखेका थिए । विचारहरू गहनरूपले साटासाट भयो । विदेश भूमिमा यति ठुला सम्मेलनमा तामाङबारे पेपर मात्रै होइन, प्यानलमै वहस हुनु निकै ठुलो उपलब्धि हो भन्ने लाग्यो । यस्ता वहस पहिले भयो कि भएन थाहा पाउन सकिन ।
जोकासँग यो मेरो पहिलो भेटघाट हो । उनी तिव्वतीशास्त्रीको रूपमा चिनिदो रहेछ । उनी ह्योल्मो जातिको धार्मिक इतिहासमा रूची राख्दछन् र यसै विषयमा अनुसन्धानरत् पनि छन् । ब्रिजिटले ताम्बाकै विषयमा ८० को दसकमा नै विद्यावारिधी गरेकी हुन् । यस बारेमा उनका आधा दर्जन जति अनुसन्धानमूलक लेख र पुस्तक प्रकाशित छन् । हाल उनी ताम्बाको प्रचलनलाई पुस्तकाकार दिनका लागि सक्रिय छिन् । उनैको प्रयासबाट यो प्यानल सम्भव भएको पनि हो । हामी उनकै निम्तोमा आइपुगेका हौं । मेरो काम उनका प्रकाशनोन्मुख कृतिलाई भाषावैज्ञानिक आँखाबाट हेर्नु पनि हो ।
प्रस्तुतिपछि उद्‌घाटन समारोहमा सहभागी भयौं । नेपालतिरको परम्पराभन्दा केही उल्टो देखियो । हामी उद्घाटन नगरी केही सुरु गर्दैनौं, चाहे प्रमूख अतिथि तीन घण्टा ढिलो किन नहोस् । त्यहाँ डा. गोपालका श्रीमतीसँग भेट भयो । उनी पनि विश्व विद्यालयमा पढाउँदा रहेछन् । उद्घाटन भव्य थियो । सभ्य त हुने नै भयो । लाइडेनका मेयर लगायतले सम्वोधन गरेका थिए । मङ्‌गोलियन सङ्‌गीत प्रस्तुत भएको थियो । बडो सौम्य ! विश्व प्रशिद्ध एक दर्जन जति पुस्तककालाई ‘आइकास पुस्तक २०१९’ द्वारा पुरस्कृत गरिएको थियो । अधिकांश पुरस्कार चिनियाँ लेखकहरूले कुम्ल्याएका थिए, केही भारतीयले पनि । मलाई पनि तामाङ ज्ञान महोत्सवमा तामाङ कृतिलाई पुरस्कृत गरिनु पर्ने रहेछ सोच पलाइ रह्यो ।
आउँदो १२औं सम्मेलन जापानको क्योटो सहरमा गरिने घोषणा पनि गरिएको थियो ।
रिसेप्सन पार्टीमा हाम्रो टिमका सदस्य र केही अन्य विज्ञहरूसँग कुराकानी भयो । तामाङले अपनाएको बौद्ध धर्मको समय अवधिबारे मेरो मतको नजिक देखिइन्- गेले पनि । मेरो विचारमा यो इतिहास ३००-४०० भन्दा माथि तन्किदैन । तामाङले लेखपढ गर्न सिकेको पनि यसै अवधिमा हुनुपर्दछ ।
यसपछि हामी डा. श्रेष्ठको निवासतिर सहरको अवलोकन गर्दै र गफिदै लाग्यौं र उनको निवासमा बसेर केही बेर थकाइ मार्यौं । उनले १९९५ तिरै यसै विश्व विद्यालयबाट विद्यावारिधि गरेर प्राध्यापन थालेका रहेछन् । उनका कृतिहरू नेपाल र बाहिरबाट पनि छापिएका रहेछन् ।
दस बज्दै थियो, साँझ पर्दै थियो । बाहिरी परिवेश सुनसान जस्तै थियो । हिडेरै पुगिन्छ भनियो । १७ मिनट जति जङ्‌गलै जङ्‌गलको बाटोमा डा. श्रेष्ठसँग गफिदै गफिदै हिडेरै होटेल पुगियो । बाटोभरि डर वा असुरक्षाको कुनै आभास भएन । मानिसहरू ढुक्कसँग हिडिरहेका थिए । समाज र सरकारप्रतिको कत्रो विश्वास् ! हामी पनि हाम्रो सरकार, समाज र परिवारप्रति दरो विश्वास गर्ने दिनको तयार गर्नु पर्छ भन्ने अनुभूति भइरह्यो ।

क्रमशः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।