• अमृत याेञ्जन तामाङ, भाषााविद् तथा लेखक

हिजोको गोष्ठीबाट छुटने बेलामा बिहान ९ बजे लाइडेनको एसियन लाइब्रेरीमा भेट्ने र खाना खाएर छुट्टिने हाम्रो योजना बनेको थियो। हिडन तयारी हुँदा मैले यात्राको समय तालिका हेरें । र निकै ध्यान दिएर हेरें । फ्रान्स जाने रेलको टिकट त अमस्टर्डमबाट पो रहेछ । मैले लाइडेन सेन्ट्रलबाट होला भनेर सोचेको रहेछु । साथीहरूलाई भेटेर खानपिन गर्दा ढिलो हुने ठानें । अर्कोतिर दुइ-दुइवटा लगेज डोर्‌याउनु पर्ने पनि थियो । मलाई जान सम्भव नै लागेन । अनि ट्याक्सी चढेर लागे सोझै लाइडेन सेन्ट्रालतिर रेल चढन ।
बाटोमा ट्याक्सी डाइभरसँग कुरा गरे । कुरैकुरामा थाहा भयो उनी त ६७ वर्ष नाघीसकेका युवा पो रहेछन् । उनकी छोरी नेपाल गएकी रहिछन् दस वर्ष अगाडि । उनले नेपालको हिमाल र पहाडको सौन्दर्यताको बखान गरेकी रहिछन् । कुराकानीको क्रममा हार्दिकता बढ्यो । यसै क्रममा उनले भने- यहाँका ठुला ठुला सहरमा चोर हुन्छ । होशियार हुनु होला । मेरो अपेक्षा थियो- युरोपतिर त चोर हुँदैन होला । सवै जेन्टलम्यान होलान् आदि । यस भनाइले मलाई झसङ्गो पार्‌यो । कलकत्ताजस्तो ठुलो सहरमा हुनेगरेको घटना सम्झें। कुरा गर्दै गर्दै ट्याक्सी बाटोबाट अलिकति साइड लाग्यो ।
‘यहीबाट रेल चढ्नोस् ।’
‘हुन्छ’ भन्दै म उत्रें ।
सय पाइलो जति हिडेपछि रेल्वे स्टेसनको गेटमा पुगियो । टिकट काटने ठाउँ कतै देखिएन । मानिसहरू मिसिनमा कार्ड घोट्दै भित्र पस्ने गर्दथे । मैले केही यात्रुलाई टिकट पाउँने ठाउँ सोधे । अन्त्यमा एक जनाले यस भवनको अर्को पट्टी काउन्टर छ भनेपछि निकै ठुलो फन्को लगाएर पुगें । नभन्दै टिकट काउन्टर देखियो ।
अमस्टर्डमको लागि दुइ टिकट लिएँ । रेल चढन १५ नं. प्लेटफर्ममा जान निर्देशन भयो। हिडदा हिडदा नं. देखियो। बिजुली भर्‌याङ चढ्नु पर्ने रहेछ । मसँग दुइु ठुला लगेज थियो । भर्‌याङमा लगेज राखेर खुट्टा राख्ने वित्तिकै लगेज अन्सन्तुलित हुनगयो । म बाङ्‌गो पर्दापर्दै भर्‌याङमा लड्नपुगे छु । भर्‌याङ त निरन्तर चढ्दै थियो । मीना पनि असन्तुलित हुँदै लड्न लागेको देखें । ऊ कराउँदै थिइन् – ‘बचाऊ ! बचाऊ !’ । यसै बीच दुइ-तीन जनाले हामीलाई अड्याइ सकेछन् । यो निमेष भरमै घटिसकेको थियो ।
बिजुली भर्‌याङ त कुदेको कुदेके गर्दो रहेछ । खासै चोटपटक लागेन । ठोकाइ र दुखाइ त हुने नै भयो । प्राथमिक उपचारको लागि जाऔं भन्दै थिए एक जना सहयोगीले । हामीलाई विश्वस्त पार्न उनी आफ्नो परिचयपत्र पनि देखाउँदै थिए ।
“ठीकै छ, खासै चोटपटक लागेको छैन” भन्यौं । धन्यवाद दियौं । थरथर काम्दै रेल पर्खिरह्यौ ।
“आज बाँचियो भन्दै थिइन्” – उनी । यस्तो भर्‌याङले भित्र पुर्‌याएर कच्याक कुच्युक पारेर मारिदिन्छ भन्ने भ्रम कसैले उनलाई सिर्जना गरिदिएको रहेछ (चीनमा वा कतैतिर यस्तो घटना घटेको समाचार बाहिर आएको थियो) । उनी आवश्यकभन्दा धेरै भयभीत थिइन । मैले त्यसो होइन, एउटा कलम त छिर्ने ठाउँ हुँदैन भनेर आश्वस्त पार्ने प्रयास गरिरहे ।
रेल चढेर ३५ मिनट जतिको यात्रापछि अम्स्टर्डम पुगियो । रेलपथ प्रायः भूइभन्दा माथि बनाइएको हुँदो रहेछ । रेलबाट उत्रेपछि बिजुली भर्‌याङबाट उत्रिनु पर्ने भयो । मीनाले उत्रिन मानेनन् । अरू कुनै उयाय पनि देखिनँ । म एउटा एउटा गरेर लगेज तल उतार्न सक्थे । तर तल राखेर माथि आउँदा चोरले उडाउँला भन्ने डर भयो । विचित्रको स्थिति ! के गरौं ! कसो पो गरौं ! भइरह्यो । एक जना रेलवे कर्मचारी जस्तोलाई सहयोगको लागि अनुरोध गरे । उनले लिफ्ट बाट जान निर्देश गरे । लिफ्टमा पनि आँट आएनँ । केही बेर पछि उनले लगेज तल उतार्न सहयोग गरे ।
उत्रिसके पछि पुनः रेलको प्लेटफर्म खोज्दै हिड्यौं । फेरि माथि उक्लिनु पर्ने भयो- बिजुली भर्‌याङबाट । केही बेरको यताउता हेरेपछि हिडेर माथि जाने भर्‌याङ देखियो । खुसी लाग्नु स्वाभाविकै थियो । सकिनसकी लडेज तान्दै माथि पुगियो । भर्याङ पनि कम अग्लो रहेनछ ।
पेरिसको रेल समात्नु पर्ने थियो सवा तीन बजेको । हामी बाह्र बजेतिर नै स्टेसन पुगिसकेका थियौं । केही बेरमा नै ‘पेरिस नोर्ड’ लेखिएको रेल अडियो । टिकटसँग दाँजेर हेरे । मिल्यो । चढने विचार गरें । रेलवे कर्मचारीसँग जिज्ञासा राखे । उनीले सिट रिजर्भ हुन्छ भने पछि थन्किएँ । मानवीय चहलपहल र नदीमा हुने गरेको चलायमान दृ्ष्यहरू हेरेर समय पर्खिरह्यौं ।
रेल घण्टा घण्टामा आउँदो रहेछ । एक सेकेन्ड पनि फरक नपर्ने गरी ठिक समयमा चल्दो रहेछ । हामी नेपालीको लागि त यो अचम्मै हो नि । असम्भब कार्य । गफ लगाए जस्तै । हो, हाम्रो सयममा रेल आइपुग्यो । यति बेलासम्ममा टिकटमा लेखिएको विवरण मैले बुझिसकेको थिएँ । टिकटमा चढनु पर्ने डिव्बा नम्बर र सिट नं. पनि हुँदो रहेछ र अडिने ठाउँ पनि सूचना पाटीमा देखाउँदो रहेछ । मलाई आफ्नो डिब्बा ठम्याउन असहज भएन ।
रेलमा पसियो । लगेज राखेर आफ्नो सिट खोजेर बसियो । सुविधायुक्त सिट । मीना भन्दै थिइन्- “प्लेनमाभन्दा पनि राम्रो सिट रहेछ । खुट्टा पसार्न पनि मिल्ने रहेछ ।” तीन घण्टा चालिस मिनेटको निरन्तर यात्रा । बाटोमै पर्दो रहेछ बेल्जियमको राजधानी ब्रजेल्स पनि । साइनबोर्ड हेरेर चिनें । बाटैभरि देखिए ठुला-ठुला फाँट र वन-जङ्‌गलहरू । गहुँ र तरकारीले भरिभराव विशालतम् फाँटहरू । सहर र गाउँघरहरू ।
समयसँगसँगै दुततर रेल टक्क अडियो । उत्रिएर परिसको रेल-वे स्टेसन गेटमा पुग्दा नपुग्दै देखिए- मार्टिन दिदी । उनैको निम्तोमा हाम्रो यो पेरिस यात्रा तय भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।