-सन्दीप के.सी.
नगर स्वास्थ्य संयोजक, धुलिखेल नगरपालिका, काभ्रे

ब्रह्म के हो ? आत्मा के हो ? ब्रह्माण्डको उत्पत्ति कसरी भएको थियो ? जीव के हो ? ज्योतिष, खगोल, भूगोल, गणित, रसायन, औषधि, प्रकृति, धार्मिक नियम सबै विषयहरुको विस्तृत व्याख्या हिन्दू सभ्यताको सबैभन्दा प्रचीन ग्रन्थ वेदमा गरिएको छ ।  वेद को अर्थ  जान्नु हो।  वेद ईश्वरद्वारा ऋषिहरुलाई सुनाएको ज्ञानमा आधारित भएको कारण लामो समयसम्म लिपिकला विकसित नभएको बेला यो श्रुतिको रुपमा प्रचलित थियो । वेदमा आध्यात्मिक ज्ञानका साथ–साथ विज्ञान, कला, संगीत तथा आयुर्वेदको ज्ञान पनि छ ।
वेदलाई चार प्रकारका भाग लगाइएको  छन् । १. ऋग्वेद अर्थात स्थिती तथा ज्ञान  २. यजुर्वेद अर्थात  यज्ञ(हवन) गर्ने  विधि तथा यज्ञका मन्त्रहरु ३. सामवेद  अर्थात गान –गायन  र ४. अथर्ववेद अर्थात अथर्व ऋषिले रचना गरेकव वेद।संयुक्त राष्ट्रसंघको शिक्षा विज्ञान र संस्कृतिक संगठन (युनेस्को) ले २००३ को नेभेम्बर ७ मा वेदलाई मानवताको मौखिक एवं अमूर्त विरासतको उत्कृष्ठ कृति घोषित गरेको थियो ।वेद विश्वको पहिलो यस्तो ग्रन्थ  हो जसमा लेखिएका हेरक  श्लोक तर्क युक्त छ । वेदका, (१) शिक्षा, (२) छन्द, (३) व्याकरण, (४) निरुक्त, (५) ज्योतिष र (६) कल्प  गरि छ अंग छन् भने  छ उपाङ्गहरु (१) प्रतिपदसूत्र, (२) अनुपद, (३) छन्दोभाषा (प्रातिशाख्य), (४) धर्मशास्त्र, (५) न्याय तथा (६) वैशेषिक  रहेका छन। यसैलाई  सांख्य, योग, न्याय, वैशेषिक, मीमांशा र वेदान्त षड्दर्शन पनि भनिन्छ । त्यसैगरी  ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्व वेद तथा अथर्व वेदको स्थापत्य वेद उपवेदहरू पनि रहेका छन् ।
यसरी हेर्दा आयुर्वेद ऋग्वेदको उपवेद हो भन्न सकिन्छ। यसमा करिब संख्या १२५ औषधि १०७ स्थानमा पाइने बताइएको छ । आयुर्वेदमा वायु चिकित्सा , जल चिकित्सा, सौर चिकित्सा, मानस चिकित्सा तथा हवन चिकित्सा आदीको जानकारी छ । यसरी हामीसँग प्राचिन उपचार विधी पनि छ, जो प्राकृतिक ढंगले अपनाइन्छ । यसले प्राकृतिक ढंगले दीर्घकालिन रुपमा हामीलाई रोगमुक्त गराउँछ ।  यस्तै विधीमध्ये पञ्चकर्म  एक उपचार विधी हो । पञ्चकर्म पाँच विभिन्न चिकित्सा पद्धतिको समिश्रण हो । यसको प्रयोग शरीरलाई रोगबाट मुक्त गर्न अपनाइन्छ । आयुर्वेदले  उपयुक्त जीवन शैलीका साथमा  उचित आहार, नियमित व्यायाम गर्न तथा पञ्चकर्म लागू गर्न सल्लाह दिने गर्छ । पञ्चकर्ममा नियमित मालिश समावेश छ। हाम्रो मन तथा शरीरलाई स्वस्थ राख्न आयुर्वेद पञ्चकर्मद्धारा  उपचार गर्ने  ‘शोदन’ नामक शुद्धिकरण प्रक्रिया हो ।
पञ्चकर्मको पाँचवटा वमन, विरेचन, नास्य, वस्ती तथा रक्तमोक्षण चिकित्सा पद्ती हो। यसले शरीर भित्रको विष पैदा गर्न सक्ने तनाव तथा रोगलाई कम गर्दछ । पञ्चकर्म भन्दा पहिलो चरणमा पुर्व कर्म गर्नु पर्दछ ।  यसमा  स्रेहन र स्वेदन दुई प्रक्रिया हुन्छ। स्रेहनमा एक विशेष प्रकारको मालिसद्धारा पूरा शरीरमा  मालिस गरिन्छ भने स्वेदनले पसिना निकाल्छ । स्रेहन तथा स्वेदन पश्चात विषदोष हट्छ । पञ्जकर्ममा सामान्यतया पाँच चिकित्सा  हुन्छ  । वमन, विरेचन, नास्य, वस्ती तथा रक्तमोक्षण ।

वमन

वमनलाइ उपचारात्मक उल्टी पनि भनिन्छ। यस उपचारले बारबार स्वास नलीमा अवरोध हुने, खोकी लाग्ने तथा दमको समस्या हुनेलाइ शरीर तथा स्वासनलीमा एकत्रित कफलाई हटाउन मद्दत गर्छ । यसको उद्देश्य कफबाट छुटकारा पाउनका लागि उल्टी गराउनु हो ।यसमामुलैठी तथा महबाट बनेको चिया रोगीलाई दिने गरिन्छ र जिब्रो रगडेर उल्टीका लागि प्ररित गरिन्छ । व्यक्तिलाई चार देखि आठ पटकसम्म उल्टी गराइन्छ  र, उल्टी पछि व्यक्तिले आराम महसुस हुने गर्छ । उल्टीको प्रयोग खोकी, चिसो, दम, ज्वरो, वाकवाकी, टाउको दुख्ने समस्या, ग्यास्टि्रक, मोटोपना तथा मनोवैज्ञानिक विकार लगायतमा गरिन्छ ।यो प्रकृयालाई सही तरीकाले प्रयोग गर्न सकेमा व्यक्तिलाई सजिलै सास लिन सक्छ, छाती हल्का भएको महसुस हुन्छ र आराम महसुस हुन्छ ।

विरेचन

विरेचनलाइ परिष्करण चिकित्सा पनि भनिन्छ।  पित्ताशय तथा सानो आन्द्राबाट अत्याधिक पित्त स्रावितका कारण छाला पोल्ने, पहेलोपना हुने, उल्टी हुने लगायतका समस्या हुने गर्छ । विरेचनले शरीरबाट पित्त विष हटाएर रक्तको शुद्धिकरण गर्छ । रंगलता, आलु बखडा,चोक्कर, आलसीको धुलो, गाईको दूध, नुन, किशमिश जस्ता उत्कृष्ट जडिबुटी विरेचन औषधीको सुरुमा प्रयोग हुन्छ । विरेचन विशेषगरी, मधुमेह, दम, चर्म रोग, पक्षघात, जोर्नीकेा समस्या, पाचन सम्बन्धि समस्या, सेतो कुष्ठरोग, छाला रोग, टाउको दुख्ने समस्या, क्यान्सर, बाथ रोग, पहेलोपना लगायतको समस्या नष्ट गर्न सहायता प्रदान गर्छ ।

वस्ती

वस्ती लाइ  एनिमा पनि भनिन्छ। वस्ती अर्थात एनिमा सबै पञ्चकर्म उपचारको जननी पनि हो । यसले  वात, पित्त तथा कफद्धारा एकत्रित विषलाई मलाशयद्वारा बाहिर निकाल्छ । औषधीयुक्त एनिमाको प्रयोग कब्जियतको समस्या हटाउनका लागि गरिन्छ । वस्तिकर्म अन्तर्गत औषधीयुक्त पदार्थ  तिलको तेल, पिच्छाक्षको तेल वा अन्य जडीवुटीयुक्त काढालाई मलाशयमा प्रयोग गर्नु पर्छ । यसले सुन्निने समस्या, साधारण ज्वरो, यौन रोग, मिर्गौलाको पथ्थरी,  ढाडको समस्या, गर्दनको दुखाई , उच्च अम्लियपना, आंशिक पक्षघात, पाइल्स तथा जोर्नीको दुखाई कम गर्न मद्दत गर्छ ।

नास्य कर्म

नास्य कर्मलाइ सरल भाषामा नाकको सफाई भन्न सकिन्छ। नाकद्धारा प्रयोग गरिने औषधीलाई नास्य भनिन्छ । नास्य अन्तर्गत टाउको तथा गर्दन वरिपरि जमेको कफ जीवविषलाई सफा गर्न औषधीयुक्त तेललाई  नाक हालिन्छ । त्यसपछि उमालेको पानीमा भिजाएको औषधीयुक्त जडिबुटीबाट निकालेको बाफ लिइन्छ । यस उपचार पद्धति सास सम्बन्धि समस्याका लागि पनि फाइदाजनक मानिन्छ । नास्यद्धारा श्वास नलीमा अवरुद्ध समस्याबाट राहत पाउन सकिन्छ ।

रक्तमोक्षण अर्थात रक्त बग्ने दिने

रक्तमोक्षण अर्थात रक्त बग्ने दिने पध्दतीलेरगतमा अवशोषित  बिष बाहिर निकाल्नको लागि रक्तमोक्षण चिकित्साको प्रयोग हुने गर्दछ ।   विष रगतमा अवशोषित हुनाले बारम्बार हुने संक्रमण , तनाव उत्पन्न हुन्छ । यस अन्तर्गत पिम्पल्स, सेता कुष्ठ रोग, छाला चिलाउने लगायतका समस्या पर्दछ । यस परिस्थितिमा अन्य औषधीका साथै रगतको शुद्धिकरण आवश्यक छ । रक्तमोक्षण प्रकृयाले रगतको शुद्धिकरण गर्छ । यसको माध्यमद्धारा प्रतिरोधी क्षमता समेत मजबुत हुने गर्छ । रक्तमोक्षण  रगत सफा गर्न तथा सामान्य अवस्थाका लागि मात्रै प्रयोग गरिन्छ । सामान्य पञ्चकर्ममा संक्रमणकको जोखिमका कारण रक्तमोक्षण प्रकृया अपनाइँदैन ।
यसरी आधुनिक एलोप्याथिक चिकित्सा भन्दा भिन्न र शरीरमा प्रतिअसर नगर्ने  हाम्रो आफ्नै परमपरागत चिकित्सा विधिबाट थुप्रै रोगको उपचार गर्न सकिन्छ। यस्ता प्रविधिको संरक्षण तथा प्रोत्साहन गर्नु हामी सबैको दायित्व समेत हो । स्थानिय जडीबुटीको प्रयोगबाट स्वास्थ्य क्षेत्रमा गर्न सकिने सुधार र पध्दतीको संरक्षणमा स्थानियतह देखि केन्द्रसम्म सबै लाग्नु पर्ने देखिन्छ।

Comments

comments