(बुबा इन्द्र लामा र आमा च्याङवारानी तामाङको जेठो सन्तानको रुपमा २०२४ साल मंसिर १ गतेका दिन तेमाल गाउँपालिका वडा नं. ९, चोपटारमा जन्मिएका चन्द्रबहादुर लामा तेमाल गाउँपालिका वडा नंं ९ का वडा अध्यक्ष हुन् । वडा अध्यक्ष लामाको श्रीमति, २ छोरा र एक छोरी रहेका छन् । ३ दाजुभाई र ३ बहिनी मध्यमा जेठो छोरा हुन उनी ।
काभ्रेमा पुराना कम्युनिष्ट नेतहरु मध्यमा एक हुन वडा अध्यक्ष लामा । २०४६ सालमा तत्कालीन नेकपा (चौमा)को सदस्यता लिएका लामा सोही सालमा पार्टी सेल कमिटिको सदस्यमा संगठीत भएका थिए ।
२०४८ सालमा नेकपा (एकता–केन्द्र)को गाउँकमिटी सदस्य, २०४९ साल देखि २०५३ सालसम्म नेपाल ट्रेड यूनियन महासंघ ललितपुर जिल्ला कमिटि सदस्य भएका थिए २०५३ साल पछि नेकपा (एकता–केन्द्र)को काभ्रे–काठमाडौं सम्पर्क समितिको सचिवको जिम्मेवारीमा रहेका उनी २०५८ सालदेखि २०६५ सालसम्म जनमोर्चा, नेपाल, काभ्रेको जिल्ला कोषाध्यक्षको भूमिका खेलेका थिए ।
२०६४ सालको संविधानसभा निर्वाचनमा जनमोर्चा नेपालको तर्फबाट वडा अध्यक्ष लामा समानुपातिक उम्मेदवार हुनुहुन्थ्यो ।
नेकपा (माओवादी) र नेकपा (एकता केन्द्र मशाल) बीचमा पार्टी एकता भएपछि एकता पछि निर्माण भएको पार्टी एकीकृत नेकपा (माओवादी)को जिल्ला कमिटि सदस्यमा चयन भएका थिए । पार्टी एकता पछि तत्कालीन चापाखोरी गाउँकमिटिको इन्चार्जको जिम्मेवारी पूरा गरेका थिए ।
२०७४ साल जेष्ठ ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिका वडा नं. ९ मा नेकपा (माओवादी–केन्द्र)को तर्फबाट वडा अध्यक्षको उम्मेदवार भई निर्वाचित भएका थिए ।
वडाको समग्र विकास, अनुभव र आगामी योजनाकोबारेमा तेमाल अनलाईनले कुराकानी गरेको थियो । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी)
० अचेल केमा व्यस्त हुनुहुन्छ ?
– नियमित कार्यलय सञ्चालनमा नै व्यस्त छु । भन्नाले जनता (सेवाग्रही)को सेवामै व्यस्त छु । त्यसैगरि आर्थिक वर्ष २०७६÷०७७ को योजना कार्यन्वयनको क्रममा छु । योजना कार्यन्वयनको लागि उपभोक्ता समितिसँग संझौता गर्ने कार्यहरु धमाधम भइरहेको छ । धेरैजसो योजनाहरु कार्यन्वयनको शुरुवात पनि भइरहेको छ ।
० तपाईं निर्वाचित भएको करिब ३ वर्ष हुँदै छ यो बीचको अनुभव बताइदिनुहोस् न ?
– निर्वाचित भएको पहिलो वर्षमा हामी अलि अन्यौलमै रह्यौं । किनभने हामी पूरै नयाँ संरचनामा जाँदै थियौं । नेपालको एकात्मक राज्यसत्ताको अन्त्य गरि संघीय संरचनामा जाँदै गर्दा, संघीयताको कार्यन्वयन गर्दैगर्दा कतिपय अनुभव जन्य कमजोरी रह्यो । विकास निर्माणको योजनाहरु बनाउने, विभिन्न ऐन कानूनहरु निर्माण गर्दै जाने, जनताको सेवामा समर्पित हुँदै जाने जस्ता कार्यहरु भयो । गर्दै सिक्दै जानेक्रममा हामीमा एउटा दृढ आत्मविस्वासको विकास पनि भएको छ ।
आजसम्मको अनुभवले साँच्चै तेमाल गाउँपालिकालाई समृद्ध तेमाल, सुखी तेमाली बनाउन सक्छ भन्ने आँट हामीमा विकास भएको छ । विशेष गरि मेरो वडाका जनताका समस्या, आवश्यकता र समग्र विकासको एउटा चित्र मेरो मष्तिष्कमा निर्माण भएको छ । जनतासँग मैले गरेको वाचाहरु पूरा गर्न कतिको सहज र असहज रहेछ भन्ने कुरा पनि बुझ्न पाएको छु । यो बीचमा जनतासँगै रहेकोले मैले जनताको आकांक्षा, विस्वास, आवश्यकता हिजोभन्दा धेरै देखेको छु । मेरो यो बीचको अनुभवले जनताको सबैखालको आवश्यकता पूरा गर्न मलाई अझ दृढ बनाएको ।
० यो बीचमा जनतासँग गरेको वाचा कति पूरा भयो कति बाँकी छ त ?
–जनतासँग मैले निर्वाचनको क्रममा मत माग्दै गर्दा भौतिक पूर्वाधार विकास, आर्थिक विकास र सामाजिक विकाससँग सम्बन्धित योजनाहरु जनता माझ ल्याउने वाचा गरेको थिएँ । वडा भित्रको सबै गाउँ–टोललाई सडक सञ्जालसँग जोड्ने, यहाँको किसानहरुको आर्थिक उन्नतिको लागि विभिन्न योजनाहरु निर्माण गर्ने, शैक्षिक क्षेत्रमा गुणस्तरी शिक्षा कायम गर्ने, धार्मिक साँस्कृतिक भाषिक विकास लगायतका जनताको आधारभूत समस्यासँग सम्बन्धित कुराहरु पूरा गर्ने वाचा गरेको थिएँ ।

यी मध्य धेरै वाचाहरु पूरा भएको छ भने, केही चाहिं कार्यन्वयनकै क्रममा छ । जस्तै अब यो चालु आर्थिक वर्षमा सबै गाउँटोल सडक सञ्जालले छुने छ । गाउँपालिकासँग जोड्ने सडकको रुपमा पौवा, खत्रीगाउँ, अन्तरगाउँ, गैरी गाउँ, मैनाजाङ हुँदै सानोटार स्थित सुनकोशीमा निर्माण हुँदै गरेको मध्य लोकमार्गको पक्की पूलमा जोड्ने काम चालु आर्थिक वर्षमा पूरा हुन्छ ।
शूरुको आर्थिक वर्षमा वडाका किसानहरुलाई फलफूलको विरुवा वितरण ग¥यौं, दोस्रो आर्थिक वर्ष कृषिमा सम्भव्यता अध्ययन, फलफूल वितरण, भिलेज प्रोफाइल निर्माण, फलफूलको विरुवा वितरण जस्ता कार्यहरु गरेका छौं त्यति मात्र होइन वडा भित्रको माटो परिक्षण समेत गरेका छौं ।
यो आर्थिक वर्षमा हामीले किसानलाई व्यवासीकरण गर्न ठाउँ अनुसार एक घर ५ फलफूलको विरुवा वितरण कार्यक्रम राखेका छा्रै । महिलाहरुको शिप विकासको अन्तर्गत सिलाई बुनाई तालिम दिएर १२ जना महिलाहरुलाई स्वरोजगार बनाउने कार्य भएको छ ।
त्यसैगरि काकास्याङ चेग्रेन भोटेपाटी लिफ्टीङ खानेपानी योजना सम्पन्न भएको छ । खत्रीगाउँ, ठूलो गाउँ छ्योर्तेन मर्मत गरेका छौं । धनसारमा खानेपानी योजना सम्पन्न भएको छ । साथै महिलाहरुको क्षमता बृद्धि गर्न तालिम सञ्चालन गरेका छौं । ४ वटा समूह बनाइ महिला लक्षित अक्षयकोष निर्माणको लागि २० हजार रुपैयाँ प्रति समूहलाई रकम छुट्याएका थियौ ।
यो आर्थिक वर्षमा पनि खानेपानी, दलित लक्षित कार्यक्रमहरु रहेको छ । एकै पटक भन्ने वित्तिकै सबै कुरा पूरा हुन सक्दैन । बजेट र योजना कार्यन्वयनको हिसावले पनि अलि ढिलो हुँदो रहेछ । जे होस मेरो कार्यकालमा जनतासँग हाम्रो पार्टी र मैले गरेको वाचा पूरा गर्ने प्रतिबद्धता जनता माझ गर्न चाहन्छु ।
० ९ नं. वडामा शिक्षाको अवस्था कस्तो छ ?
– यो वडामा ६ वटा विद्यालय रहेको छ । मावि एक वटा, आधारभूत विद्यालय २ वटा र ३ वटा प्रावि रहेको छ । गुणस्तरीय शिक्षा कायम गर्नका लागि हामीले यो वडा भित्रका सबै विद्यालयमा छलफलहरु चलायौं । विद्यालयहरुको समस्या, आवश्यकता के रहेछ भन्ने कुरा बुझ्यौं । विद्यालयमा शिक्षक जनशक्तिलाई आवश्यकता अनुसार नियुक्ति गर्ने, तालिमहरु सञ्चालन गर्ने, अभिभावकहरुसँग अन्तरकृया गर्ने जस्ता कार्य भएको छ ।
प्रावि तहमात्र भएको बुद्धकिरण प्राविलाई आधारभूत तहमा बढुवा गरेका छौं । यस विद्यालयमा आवश्यक शिक्षक दरवन्दी र बजेट समेत व्यवस्था गरेका छौं । गएको शैक्षिक सत्रमा कुशेश्वर माविलाई तेमाल गाउँपालिकाकै उत्कृष्ट विद्यालयको रुपमा विकास गर्न सकेका छौं ।
गुणस्तरीय शिक्षाको लागि हाम्रो ध्यान केन्द्रित भएको छ । गुणस्तरीय शिक्षा कायम गर्न केन्द्रिकृत योजना गाउँपालिका स्तरमा हामीले निर्माण गरेका छौं । जसको लागि बजेट पनि केन्द्रिकृत नै गरेका छौं ।
० यस वडामा किसानहरुको अवस्था कस्तो पाउनुभयो ?
– विशेष गरि किसानहरु अझै पनि व्यवसायीकरण भएको देखिदैन । निर्वाहमुखी मात्र देखिन्छ । कृषिलाई आधुनिकरण गर्ने र व्यवसायीकरण गर्ने सवालमा किसानहरु उद्दत देखिदैन । किसानहरुको व्यवहार परम्परागत नै छ । कृषिमा आधुनिकता र ज्ञानको अभाव देखिन्छ । यस वडामा ९९ प्रतिशत किसानहरु रहेका छन् । त्यसैले गएको आर्थिक वर्षमा यहाँको वास्तविक किसानको विवरण, व्यवसायीकरण र आधुनिकीकरण गर्नका लागि सम्भावव्यता अध्ययन गरेका छौं । यसले किसानहरुको वास्तविक अवस्था बाहिर ल्याएको छ । त्यहीं योजना अनुसार चालु आर्थिक वर्षमा हामीले फलफूलको विरुवा वितरण गर्ने लगायतका योजनाहरु ल्याएका छौं । किसानहरुलाई तालिम दिने, बजारसँग किसानलाई जोड्ने जस्ता कार्यक्रमहरु ल्याउनेछौं । युवाहरुलाई कृषि व्यसायमा उत्प्रेरित गराउँदै गाउँबाट शहर र विदेशमा जानेक्रम रोक्ने प्रयत्न गर्दैछौं ।
० जनताको अपेक्षा पूरा गर्न के कस्तो समस्याहरु झेलिरहनु भएको छ ?
– समस्याहरु त धेरै नै छन् । समस्या धेरै छ भनेर फेरि जनताको आकाँक्षा टुलुटुलु हेर्ने कुरा पनि भएन । योजना निर्माण गरेर अघि बढ्नैपर्छ । मुख्यतः जनतालाई आर्थिक विकासमा जोड्ने कुरा यहाँ मुख्य समस्याको रुपमा आएको छ । बाटो खन्नु मात्र विकास हो भन्ने मानसिकता यहाँ कायम नै छ । शिक्षा विकास, शिप विकासका कुरा, आर्थिक उन्नतिको कुरा, जीवन जीउने कुरालाई दोस्रो दर्जामा बुझ्ने परम्परा अझै छ ।
अर्को समस्या भनेको बजेटकै समस्या हो । मेरो मनचित्रमा जनताको आवश्यकता र समस्याको चाङ छ । समृद्धशाली वडा बनाउने चित्र पनि मसँग छ । तर आवश्यक बजेट नहुँदा मैले सबै कुरा थाँती राख्नुपर्ने बाध्यता छ । तर पनि गाउँपालिकामा आएको बजेटलाई विनियोजन गर्ने र जति हाम्रो वडामा बजेट आएको छ त्यसकै अनुपातमा जनताको आवश्यकता र समस्या समाधान गर्दै आएको छु ।
० वडा बासीलाई के भन्ना चाहनुहुन्छ ?
– वडा बासी दिदीबहिनी, दाजुभाइहरुमा तेमाल अनलाइन मार्फत के भन्ना चाहन्छु भने हामी नयाँ संरचनामा छौं । विभिन्न बाधा व्यवधानका बाबजुत पनि आजसम्म सबै जनताको साथ र सहयोग छ । आगामी दिनहरुमा पनि यो सहयोगको निरन्तरताको अपेक्षा मैले गरेको छु । विकास भन्ने कुरा क्रमशः हुने कुरा हो । बजेटको आकार अनुसारको योजनाहरु निर्माण हुने भएकोले हाम्रो अपेक्षा अनुसारको योजना निर्माण नभएको हुनसक्छ । तर पनि म प्रयत्नमै रहनेछु । धन्यवाद ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























