काठमाडौँ । इराकको राजधानी बग्दादस्थित बेबिलोन होटलमा कार्यरत गोरखाका जितमान गुरुङले बाहिर के भइरहेको छ भन्ने थाहा पाएका छैनन् । उनलाई होटलबाट बाहिर निस्कन अनुमति छैन । ‘भित्रै काम गर्छौं । भित्रै बस्छौं । बाहिरी वातावरणबारे खासै जानकारी छैन । त्यसैले डर लागेको छैन,’ उनले टेलिफोनमा भने । उनले सडकमा हतियारधारी सुरक्षाकर्मी हिँडिरहेको भने देखिने गरेको सुनाए ।
इराकको राजधानी बग्दादस्थित बेबिलोन होटेल, यस होटेलमा सुरक्षा गार्ड, कुक, वेटरलगायत विभिन्न पदमा एक सयभन्दा बढी नेपाली कार्यरत छन् । तस्बिर स् एजेन्सी
बेबिलोन होटलमा मात्रै करिब सय जना नेपाली कार्यरत छन् । उनीहरू सुरक्षा गार्ड, वेटर, कुक लगायतका काममा छन् । त्यहीँ कार्यरत गोरखाका कुन्दन घलेले सुरक्षा जोखिम महसुस भइनहालेको बताए । ‘युद्ध भइहाले करिब १२ किलोमिटर टाढा अमेरिकी दूतावास रहेको ग्रिन जोनमा बढी थ्रेट हुन्छ,’ उनले भने ।
घलेका अनुसार अन्य मुलुकका समेत दूतावास रहेको ग्रिन जोनमा केही नेपाली सुरक्षा गार्ड छन् । ‘त्यहाँ नेपाली छन् भन्ने सुनेका छौं तर हाम्रो सम्पर्क छैन,’ ६ वर्षदेखि इराकमा रहेका उनले भने । बग्दाद सहरबाट बाहिर अमेरिकी सैन्य क्याम्प छ । अमेरिकाले मध्यपूर्व लक्ष्य गरेर इराकमा सैन्य क्याम्प राखेको हो । अमेरिकाले ड्रोन आक्रमणबाट इरानका शक्तिशाली जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच तनाव चुलिएको छ । अमेरिकी सैन्य क्याम्पका कारण अमेरिका–इरान युद्ध भए त्यसको असर इराकी क्षेत्र र त्यहाँ रहेका नागरिकमाथि पनि पर्ने आकलन गरिएको छ ।
नेपाली सुरक्षाकर्मीलाई सबैभन्दा बढी रोजगारी दिएको सुरक्षा कम्पनी जीफोरएसले भने तीन वर्षयता नेपालीलाई फिर्ता पठाइसकेको छ । ‘हामी हुँदा बग्दादमा रहेका सबै देशका दूतावासको सुरक्षाको जिम्मेवारी नेपालीकै हातमा थियो । श्रम स्वीकृति नदिइएपछि सुरक्षा कम्पनीहरूले निरन्तरता दिएनन्,’ बग्दाद छाडेर इराककै अर्को सहर बास्रा पुगेका एक नेपाली सुरक्षा अधिकृतले कान्तिपुरलाई भने, ‘नेपाली कतै–कतै होलान् । तर, पहिले जस्तो छैनन् ।’ उनले बाहिर होहल्ला भएजस्तो आफूलाई केही नलागेको बताए । ‘यहाँका अधिकतर कम्पनी पर्ख र हेरको अवस्थामा छन्,’ उनले भने । घलेले भने लडाइँ भएर जोखिमको अवस्था आए तत्काल स्वदेश फर्काइदिने आश्वासन होटलले दिएको बताए ।
इराकको कुर्दिस्तानस्थित सुलेमानियामा रहेका पोखराका लालकाजी गुरुङ आइतबार दिउँसो जिम गरिरहेका थिए । ‘आज मेरो बिदा हो । दिनभर जिम गरिरहेको छु । धेरै तनाव लिएको छैन,’ एक सुपरमार्केटका म्यानेजर गुरुङले भने, ‘पछिल्लो घटनाक्रमलाई यहाँ कार्यरत नेपालीले महत्त्वका साथ हेरेका छैनन् ।’ उनले आफ्नो मनमा भने केही डर पलाएको सुनाए ।
बग्दादमा भन्दा कुर्दिस्तान क्षेत्रमा नेपाली बढी छन् । कुर्दिस्तानमा कम्तीमा १५ हजार नेपाली छन् । अवैध रूपमा जाने भएकाले इराकमा कति नेपाली छन् भन्ने आधिकारिक तथ्यांक कतै छैन ।
गुरुङले बग्दादभन्दा कुर्दिस्तान बढी सुरक्षित रहेको बताए । ‘हुन त यहाँ इरानी पनि छन्, अमेरिकी पनि छन् । सबै आ–आफ्नो भूमिकामा छन् । नेपालीहरू दिनभर आ–आफ्नो ड्युटी गर्छन् । बेलुका कोठामा फर्किन्छन्,’ उनले भने, ‘अरू विषयमा खासै चासो छैन ।’ गुरुङका अनुसार नेपाली युवती धेरै घरेलु काममा छन् ।‘उनीहरूलाई झन् चासो छैन,’ उनले भने ।
गैरआवासीय नेपाली संघ, इराकका अध्यक्षसमेत रहेका गुरुङले नेपालीसँग समन्वय बढाउन थालेको जानकारी दिए । इरानमा भने २५ जना मात्रै नेपाली रहेको सरकारी तथ्यांक छ । इराक र इरानमा नेपाली कूटनीतिज्ञको उपस्थिति छैन । इराकलाई कुवेतस्थित नेपाली दूतावास र इरानलाई पाकिस्तानस्थित नेपाली दूतावासले हेर्ने गर्छ । ‘कुवेतमा रहेको नेपाली दूतावाससँग निरन्तर समन्वय गरिरहेका छौं । यहाँको स्थितिबारे जानकारी पनि दिइरहेको छु,’ गुरुङले भने । इराक मामिला हेर्ने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बग्दादमा रहेका नेपालीलाई कम्पनीबाट बाहिर ननिस्किन सूचना जारी गरिएको बताए । ‘सतर्कतासाथ बस्न भनेका छौं,’ उनले भने ।
परराष्ट्र मन्त्रालयले इराक र इरान मामिला हेर्ने नेपाली दूतावासलाई सर्तक गराएको छ । ‘त्यहाँको घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौं,’ परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले भने, ‘दूतावासहरूले नेपालीसँग समन्वय गरिरहेका छन् ।’
इराक र इरानमा रहेका नेपालीको विषयमा आइतबार परराष्ट्र र श्रम मन्त्रालयबीच छलफल भएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री रामेश्वर राय यादव, परराष्ट्र सचिव शंकर बैरागी र श्रम सचिव विनोद केसीबीच छलफल भएको हो । ‘संकटग्रस्त अवस्थामा लिबियाबाट नेपालीलाई उद्धार गरेको अनुभव हामीसँग छ,’ श्रममन्त्री यादवले कान्तिपुरसँग भने, ‘इराकबाट नेपाली ल्याउनैपरे हामीले अवैध रूपमा गएको भन्दै पन्छिन मिल्दैन । नेपालीलाई राज्यका तर्फबाट सकुशल उद्धार गर्नैपर्छ । यसका लागि कस्तो रणनीति अपनाउने भनेर छलफल गर्‍यौं ।’
बैठकमा नेपाली रहेको स्थान पहिचान गर्न र सम्पर्क गर्न दूतावासलाई परिचालन गर्ने निर्णय भएको मन्त्री यादवले बताए । यो समाचार होम कार्कीले आजकोकन्तिपुर दैनिकमा लेखेका छन् ।

Comments

comments