जनवादी केन्द्रीयता कम्युनिष्ट आन्दोलनका नेता लेनिनले अगाडि सारेको संगठनात्मक सिद्धान्त हो। यसलाई लेनिनवादी संगठनात्मक सिद्धान्त पनि भनिन्छ। यो सिद्धान्तले कम्युनिष्ट पार्टी लडाकु, रचनात्मक र क्रान्तिकारी हुनुपर्ने मान्यता अघि सारेको छ।
लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवादी केन्द्रीयताका ठोस विषयहरु सुत्रवद्ध गरेको छ। जनवादी केन्द्रीयताका अनुसार, १. व्यक्ति संगठनको अधिनस्थ हुन्छ, २. अल्पमत बहुमतको अधिनस्थ हुन्छ, ३. तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ, ४. पार्टीका सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन्, ५. केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ र ६. महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छ भन्ने मान्यता राख्दछ।
लेनिनले संगठनात्मक सिद्धान्तका रुपमा कम्युनिष्ट पार्टीको सदस्यताका लागि निश्चित शर्तहरु तोकेका छन्। कम्युनिष्ट पार्टीको सदस्यका लागि न्युनतम् शर्तहरुमा १. पार्टीको नीति तथा कार्यक्रम मान्ने, २. पार्टीको निश्चित संगठनमा बसेर काम गर्ने र ३. पार्टीलाई नियमित लेबी तिर्ने रहेका छन्। कडा तथा फलामे अनुशासनमा रहने भएका कारण लेनिनको पार्टीलाई बोल्सेभिक पार्टी भनिन्थ्यो।
संगठनात्मक सिद्धान्तका आधार
१. जनवादी केन्द्रीयता:– उक्त सिद्धान्तअन्तर्गत पहिलो र महत्वपूर्ण बुंदा जनवादी केन्द्रीयता हो। जनवादी केन्द्रियताभित्र दुईवटा कुराहरू पर्दछन्, जनवाद र केन्द्रियता। जनवादविनाको केन्द्रीयता वास्तवमा निरंकुशता हुन्छ। केन्द्रियताविनाको जनवाद पनि अराजकतावाद हुन्छ। त्यसैले जनवाद र केन्द्रीयता एक–अर्काका परिपुरक हुन्। न जनवादविना केन्द्रीयताले संगठनलाई राम्रो गर्छ, न केन्द्रीयताविनाको जनवादले पार्टीलाई अनुशासित तुल्याउँछ। यसरी संगठनमा यी दुवै सिद्धान्तको समान महत्व छ।
जनवादको अर्थ जनतन्त्र “प्रजातन्त्र” हो। जनवादभित्र राय प्रकट गर्न पाउने अधिकार, विरोध गर्न पाउने अधिकार, प्रष्ट गर्न पाउने तथा चुन्न र चुनिन पाउने अधिकार आदि पर्दछन्। वास्त्वमा संगठनभित्रका सदस्यहरूको विचार प्रकट गर्ने अधिकार सबैलाई समान रूपमा हुन्छ। सबैका विचारहरूको निष्कर्ष नै निर्णय हो। त्यसप्रकारको निर्णय नै सही निर्णय हुन्छ। संगठनभित्र आफूलाई चित्त नबुझेको कुराको विरोध गर्ने अधिकार पनि समान रूपमा रहन्छ। त्यसो नभएर यसो गर्दा के होला भनेर प्रष्ट गर्ने अधिकार पनि जनवादी अधिकार हो। म यो समितिमा अध्यक्ष, सचिव वा कोषाध्यक्ष बन्न पाउँ भन्ने अधिकार पनि सदस्यहरूलाई रहन्छ। चुन्न र चुनिन पाउने अधिकार पनि जनवादी अधिकार हो।
यसरी जनवादी अधिकार भनेको आफ्नो मनमा लागेको कुरा संगठनमा खुला हृदयका साथ राख्ने अधिकार हो। अर्का शब्दमा भन्ने हो भने जनवाद भनेको आफ्नो मनमा उब्जेको कुरा खुला दिलले स्वतस्र्फूत रूपमा संगठनमा राख्ने कुरा हो। पार्टी संगठनमा जनवादको खाँचो भोको मान्छेलाई खानाको खाँचो जस्तै हुन्छ। तिर्खा लागेकोलाई पानीको जति आवश्यक छ, ठीक त्यही प्रकारले पार्टी संगठनभित्र जनवादको खाँचो छ। पार्टी संगठनलाई सही रूपले परिचालन गर्नका निम्ति जनवादी अधिकारको खाँचो पर्दछ। यसरी लेनिनवादी संगठनात्मक सिद्धान्तभित्र जनवादको धेरै ठूलो महत्व छ। जनवादी अधिकारविना पार्टी संगठन पानीविनाको माछासरह हुन्छ।
यसरी नै केन्द्रीयताको अर्थ कर्तव्यपालन गर्नु हो। हामीले निरपेक्ष रूपमा जनतन्त्र, प्रजातन्त्र वा स्वतन्त्रता खोज्न हुँदैन। निरेपक्ष रूपमा स्वतन्त्रता द्वन्दवादसँग मेल नखाने कुरा हो। त्यसैले केन्द्रीयताको महत्व कम छैन। जनवादसँग केन्द्रीयता स्वतः जोडिन्छ। केन्द्रीयताभित्र निम्न कुराहरू पर्दछन्, व्यक्ति संगठनको मातहतमा हुन्छ, अल्पमत बहुमतको, तल्ला समितिहरू उपल्ला समितिहरूको, सम्पूर्ण समितिहरू केन्द्रीय समितिको अधिनमा र केन्द्रीय समिति पनि सम्मेलन वा महाधिवेशनको अधिनस्त हुनुपर्दछ।
यसरी व्यक्ति कहिल्यै पनि संगठनभन्दा माथि हुन सक्दैन। अल्पमतले आफ्नो बेग्लै मत हुँदाहुँदै पनि बहुमतको निर्णयलाई विनाशर्त लागू गर्न पर्दछ। यसरी केन्द्रीयताविना पार्टी संगठनहरू परिचालित हुन सक्दैनन्। केन्द्रीयता भनेको अनुशासन हो। त्यसैले स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना हुनुपर्छ। अधिकार खोज्दा कर्तव्य पालन गर्नुपर्छ।
२. आत्मालोचना र आलोचना:– संगठनमा सबै सदस्यहरूले क्रमशः आफ्नो गल्ती र कमजोरीहरू बताउनुलाई आत्मालोचना भनिन्छ। आफ्ना कमजोरीहरू आफैद्वारा बैठकमा बताइने सिद्धान्त नै आत्मालोचना हो। यसरी आत्मालोचना गर्दा खुलस्त र नलुकाइकन आफ्ना गल्ती कमजोरीलाई महशुस गर्नुपर्छ। एकपटक आफ्नो कमजोरी बताएपछि त्यस उप्रान्त त्यसप्रकारको कमजोरी गर्नु हुँदैन। मान्छे असल बन्न संगठनलाई राम्रो बनाउन तथा असल समाजका स्थापना गर्न यो सिद्धान्तको ठूलो महत्व छ।
त्यसैगरी आलोचना भनेको संगठनभित्रका सदस्यहरूको गल्ती कमजोरी एकले अर्काको औल्याई दिनु हो। यसरी आलोचना गर्दा साथी रिसाउला कि भनेर होइन, खुला दिलले उसका सबै गल्ती कमजोरीहरू विना संकोच औल्याइदिनु पर्दछ। तर, यसो गर्दा डाहा र प्रतिशोधको भावना राखेर होइन, उसका वास्तविक गल्ती र कमजोरी बताइदिनुपर्छ। साथीलाई सुधार्नका लागि उसलाई गल्ती कमजोरीबाट जोगाउनका निम्ति र वास्तवमा उसलाई सही मार्गमा मार्ग प्रशस्त गराउनका निम्ति नै यो तरीका अपनाइन्छ।
यसरी स्वयं आफ्ना गल्ती कमजोरी बताउने र अर्कोले पनि भूले, लुकाएका कमजोरी बताइदिनाले गल्तीबाट बच्नका लागि, व्यक्ति माथि उठ्नका निम्ति धेरै ठूलो बल पैदा हुनेछ र ऊ असल समाज निर्माणमा योग्य व्यक्ति अवश्य बन्ने छ। यसरी आलोचना र आत्मालोचनाको कसी लगाएपछि असल कम्युनिस्ट बन्न मद्दछ पुग्नेछ। त्यसो गर्दा समाजका धेरै व्यक्तिहरू असल बने भने असल समाज निर्माण हुनेछ। असल समाज भनेको आदर्श समाज हो र आदर्श समाज भनेको न्यायपूर्ण समाज हो।
३. असल नेता चुन्ने तरीका:– समाज र राष्ट्रलाई सुन्दर र आदर्श बनाउका निम्ति संगठनमा असल व्यक्तिहरू चुनिनु पर्दछ, अर्थात् असल नेतृत्व चयन गर्नुपर्दछ। यसो गर्दा निम्न महत्वपूर्ण कुराहरूमा ध्यान दिनुपर्छ। ९१० इमान्दारिता ९२० सक्रियता वा निरन्तरता ९३० समर्पित भावना ९४० रचनात्मक क्षमता वा कार्य दक्षता।
असल व्यक्ति चयन गर्दा पहिलो कुरा इमान्दारिता हो। जो व्यक्ति इमान्दार छ, उसलाई नेतृत्वमा ल्याउँदा पार्टी र क्रान्तिका निम्ति बल पुग्छ। इमान्दारितापछि पार्टीले निरन्तरतालाई प्राथमिकता दिनुपर्छ। आमूल परिवर्तन हुन शताब्दीयौं लाग्न सक्छ। त्यसैले निरन्तर रूपले संगठनमा आजीवन लाग्ने मान्छेलाई चिनेर चुन्न कोशिस गर्नुपर्छ। नेतृत्वमा समर्पित भावना हुनैपर्छ। समर्पित भावनाका साथ संगठनमा लाग्ने नेतृत्वले मात्र संगठनलाई राम्रो बनाउन सक्छ। चौथो कुरा कार्य दक्षता हो। रचनात्मक क्षमता भएको व्यक्तिलाई नेता चयन गर्नुपर्दछ।
यसरी लेनिनवादी संगठनात्मक सिद्धान्तको कुरा गर्दा जनवादी केन्द्रीयता, आलोचना, आत्मालोचना, नेतृत्वको चयनको प्रजातान्त्रिक अधिकारको सन्तुलनकारी भूमिकालाई सँगै राखेर बुझ्नुपर्छ। लेनिनवादी संगठनात्मक सिद्धान्तले मात्र कम्युनिष्ट पार्टीलाई प्रजातान्त्रिक र अनुशासित राख्न सक्तछ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























