वर्ग अङ्ग्रेजी शब्द Class को पर्याय हो र यो शब्द लेटिन भाषाको Classics बाट आएको हो, जसको अर्थ हो मानिसहरूको समूह। समाजमा हामी विभिन्न खालका जनसमूहहरू देख्छौं र ती समूहहरू तिनका पेसा, सामाजिक स्थिति, लिङ्ग, जातीयता, धर्म, पदीय स्थिति, स्वार्थ आदि दृष्टिबाट फरक–फरक छन्। तर, समाजमा भएका ती सबैका सबै समूहहरू वर्गमा पर्दैनन्, तिनमा केही खास समूह मात्र वर्गमा पर्छन्।
तसर्थ, स्वाभाविक रुपले प्रश्न उठ्छ स् वर्ग भन्नाले हामीले के बुझ्नुपर्छ ? कस्तो समूहलाई वर्ग भनिन्छ ?
आदिम कम्युनिष्ट समाजमा उत्पादनका साधनहरूमाथि सामूहिक मालिकत्व रहेको थियो, त्यसैले त्यहाँ वर्गहरू थिएनन्। उत्पादक शक्तिहरूको विकासको क्रममा समाजमा श्रम विभाजन पैदा भयो, विभिन्न खालको उत्पादन–कार्यमा संलग्न मानिसहरू छुट्टाछुट्टै भए र तिनका उपजहरूको विनिमय हुन थाल्यो। उपरोक्त कारणहरूले गर्दा, उत्पादनका साधनहरूमाथि निजी, मालिकत्व उत्पन्न भयो, जसको फलस्वरुप आदिम साम्यवादी सम्पत्ति–सम्बन्धहरू विघटित भए र वर्गहरू देखा परे। समाज धनी र गरीब, सम्पत्ति भएका र नभएका, शोषक र शोषितमा विभाजित भयो। यसरी, आर्थिक कारणहरूले गर्दा वर्ग–विभक्त समाजको उत्पति भयो ।
आदिम साम्यवादको अन्त्यपछिदेखि पूँजीवादसम्मको मानव जातिको ऐतिहासिक विकासमा देखा परेका सामाजिक रुपहरू वर्गीय समाज हुन्। ती समाजहरूमा एक–अर्कोबाट पूरै विपरीत स्वार्थ भएका, परस्परविरोधी, वैरभावयुक्त वर्गहरू रहेका हुन्छन्, जस्तो कि दास समाजमा दास–मालिक वर्ग र दास वर्ग, सामन्ती समाजमा सामन्त वर्ग र मोही किसान (अर्धदास) वर्ग र पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारा वर्ग।
उपरोक्त जनसूमहहरूलाई सामाजिक वर्ग–पक्तिमा आबद्ध पार्ने प्रमुख कुरा के हुन् त ? त्यसमा एउटा प्रमुख कुरा हो, त्यसले प्राप्त गर्ने आम्दानी र आम्दानीका स्रोतहरूको समानता र यो कुरा उत्पादन–प्रक्रियामा तिनीहरूले प्राप्त गरेको स्थान र खेल्ने भूमिकासित सम्बन्धित छ। उदाहरणका लागि, कारखानामा काम गर्ने मजदुरहरू एउटै वर्गमा पर्छन्, किनभने तिनीहरूको आम्दानीको स्रोत भनेको तिनको आफ्नो श्रमशक्तिको बिक्री हो। त्यस्तै, पूँजीपतिहरू पनि एउटै वर्गमा पर्छन्, किनभने तिनीहरूको आम्दानीको स्रोत भनेको मजदुरहरूको शोषण हो। आफूहरू उत्पादनका साधनहरूबाट वञ्चित रहेका कारणले गर्दा, मजदुरहरू पूँजीपतिलाई आफ्नो श्रमशक्ति बेचेर जीविकोपार्जन गर्छन् र उत्पादन–कार्यमा पूँजीपति वर्ग्सित उनीहरूको सम्बन्ध एउटै खालको हुन्छ।
उपरोक्त दृष्टिबाट समूहहरूलाई हेर्ने हो भने, समाजमा भएका जति पनि जनसमूहहरू छन्, तिनलाई वर्गमा राख्न मिल्दैन। समाजमा महिला, युवा, जनजाति आदि ठूला जनसमूह हुन्। तर, ती वर्गको श्रेणीमा पर्दैनन्। तिनका कारण स्पष्ट छन्। जस्तो कि, पुरुषबाट महिलाको भिन्नता आर्थिक आधारमा भएको होइन, त्यो भिन्नताको आधार भनेको लैङ्गिक भिन्नता हो। अर्को कुरा, लैङ्गिक दृष्टिबाट महिलाहरू एउटै समुदाय भए पनि, उत्पादनमा तिनीहरूको स्थान एउटै खालको छैन। आम्दानीको स्रोत र तिनीहरूले प्राप्त गर्ने आम्दानीको दृष्टिबाट पुँजीपति वर्ग, किसान वर्ग र मजदुर वर्गका महिलाहरूको स्थिति एकदमै भिन्नाभिन्नै छन्। त्यसको अर्थ के भने तिनीहरूका माझ वर्गीय भिन्नता छ।
तसर्थ तिनीहरू एउटै वर्गमा पर्दैनन्। युवा समुदायको सम्बन्धमा पनि कुरा त्यस्तै छ। युवाहरूमा कोही पूँजीपति वर्गबाट, कोही किसान वर्गबाट र कोही मजदुर वर्गबाट आएका हुन्छन्। त्यसको अर्थ हो, उत्पादनमा तिनीहरूको स्थान एउटै खालको छैन र आम्दानीको आकार र स्रोत पनि भिन्न छन्। तसर्थ तिनीहरू एउटै वर्गमा पर्दैनन्। जनजातिको सम्बन्धमा पनि कुरा त्यस्तै छ। जनजातिहरू कुनै ठूला, कुनै साना जनसमूह हुन्। तर ती वर्गीय समूह होइनन्। जनजाति भनेको उत्पादन–कार्यका आधारमा उभिएको समूह हो र सामान्यत स् त्यसभित्र विभिन्न वर्गहरू विद्यमान छन्।
हामी के देख्छौं भने आम्दानीको परिमाण र आम्दानीको स्रोतको दृष्टिबाट सामाजिक वर्गहरू एक–अर्कोबाट भिन्न छन्। वर्गहरूबीच रहेका यस्ता भिन्नताहरू निश्चय पनि महत्वपूर्ण छन्। तर, वर्गहरूको पहिचान गर्ने र तिनलाई एक–अर्कोबाट छुट्याउने सम्बन्धमा मूल निर्धारक तत्व ती होइनन्। आम्दानीको परिमाण र त्यसको स्रोतका आधारबाट मात्र हेरियो भने, वर्गहरू एक–अर्कोबाट भिन्न रहेको वास्तविक कारणलाई सही रुपमा ठम्याउन सकिँदैन। मार्क्सले कुन तथ्यलाई औंल्याएका छन् भने आम्दानीको परिमाण भनेको परिमाणात्मक भिन्नताको कुरा मात्र हो र सो भिन्नताको आधारबाट वर्गहरूलाई एक–अर्कोबाट छुट्याउन मिल्दैन, किनभने एउटै वर्गका मानिसहरूको आम्दानी छुट्याउन मिल्दैन, किनभने एउटै वर्गका मानिसहरूको आम्दानीको परिमाण फरक–फरक रहेको तथ्यलाई हामी देखिरहेका छौं। उदाहरणका लागि, दक्ष मजदुर र अदक्ष मजदुरको आम्दानीको परिमाणमा भिन्नता छ र सो भिन्नतालाई वर्ग छुट्याउने आधार बनाइयो भने तिनीहरू दुई छुट्टै वर्गमा पर्न जानेछन्, जुन कुरा बिलकुल बेठीक छ।
तसर्थ, वर्गलाई परिभाषित गर्ने सम्बन्धमा आम्दानीको परिमाणात्मक आम्दानीको स्रोतको भिन्नतालाई पनि वर्गको परिभाषाका लागि उपयुक्त आधारका रुपमा लिन सकिँदैन। उदाहरणका लागि, विभिन्न मजदुरहरूको स्रोत पनि फरक–फरक रहेका हुन्छन्, जस्तो कि कोही मजदुर धातुको काम गर्छन्, कोही काठको काम गर्छन्, कोही ढुवानीको काम गर्छन् आदि। यस्तो भिन्नताका आधारमा तिनीहरू छुट्टाछुट्टै वर्गमा पर्छन् भन्नु बिलकुल बेठीक हुन्छ, किनभने पूँजीपतिसित तिनीहरूको सम्बन्ध एउटै खालको रहेको छ। सरकारी कर्मचारीहरूको आम्दानीको स्रोत राज्यको ढुकुटी हो, निजी अस्पतालमा काम गर्ने डाक्टरहरूको आम्दानीको स्रोत बिरामीहरू हुन्। निजी महाविद्यालयमा अध्यापन गर्ने प्राध्यापकहरूको आम्दानीको स्रोत शिक्षार्थीहरू हुन्। तर यस तथ्यबाट तिनीहरू विशिष्ट वर्ग हुन् भन्ने सावित हुँदैन।
यसरी समाजमा मानिसहरूका बीच विभिन्न सामाजिक भिन्नताहरू छन्। तर ती सबैका सबै वर्गहरूलाई छुट्याउने आधार होइनन्। वर्गहरू छुट्याउने मुख्य आधार वर्गीय विभेदहरू हुन् र ती विभेदका स्रोत आर्थिक हुन्, किनभने वर्गीय विभेदहरू उत्पादन–सम्बन्धहरूको चरित्र र सारबाट, उत्पादनका साधनहरूसित मानिसहरूको सम्बन्धबाट पैदा हुन्छन्। उपरोक्त तथ्य नै त्यस्ता मूल तत्व हुन्, जसले वर्गहरूको पहिचान र परिभाषाका लागि वास्तविक आधार प्रदान गर्छ र मानिसहरूबीचका अन्य सबै सामाजिक सम्बन्धहरूलाई निर्धा्रित गर्छ।
वर्गबारे चर्चा गर्दै लेनिनले वर्गको जुन परिभाषा दिएका छन्, त्यो त्यस सम्बन्धमा सबैभन्दा वैज्ञानिक र सबैभन्दा उत्कृष्ट परिभाषा रहेको छ। उनले दिएका परिभाषा वर्गको पहिचान र विभेदीकरणका लागि ठोस कसीहरू रहेका छन्। सो परिभाषा निम्न प्रकारको छ ः
‘वर्गहरू भनेका मानिसहरूका त्यस्ता ठूला समूहहरू हुन्, जुन ऐतिहासिक रुपले निर्धा्रित सामाजिक उत्पादनको व्यवस्था आफूले ओगटेको स्थानले गर्दा, उत्पादनका साधनहरूसितको आफ्नो सम्बन्धले गर्दा (जुन सम्बन्ध धेरैजसो मामिलामा कानुनमा निर्धा्रित र प्रतिपादित गरिएको हुन्छ), सामाजिक श्रम–सङ्गठनमा आफ्नो भूमिकाले गर्दा र फलस्वरुप आफूले व्यवस्था गरेको सामाजिक धनको मात्रा र त्यसलाई प्राप्त गर्ने तरिकाले गर्दा एक–अर्कोबाट भिन्न रहेका हुन्छन्। वर्गहरू मानिसहरूका त्यस्ता समूह हुन्, जसमा सामाजिक अर्थतन्त्रको निश्चित व्यवस्थामा तिनले ओगटेका फरक–फरक स्थानहरूले गर्दा एउटाले अर्कोको श्रमको अपहरण गर्नसक्छ।’ (लेनिन, ‘संकलित रचनाहरू,’ अङ्ग्रेजी संस्करण, भाग २९, पृष्ठ ४२१।
वर्गको परिभाषा र विश्लेषण
(१) वर्गको पहिचानको सबैभन्दा प्रमुख र निर्धारक कसी उत्पादनका साधनहरूसितको त्यसको सम्बन्ध हो । उत्पादनका साधनहरूसित मानिसहरूको सम्बन्ध भिन्नभिन्नै खालको रहेको हुन्छ। उदाहरणका लागि, पूँजीवादअन्तर्गत कोही मानिसहरू उत्पादनका साधनका मालिक हुन्छन् भने अरु कोही सो साधनबाट वञ्चित रहन्छन्। जो उत्पादनका साधनका मालिक हुन्छन्, तिनीहरू उत्पादन–प्रक्रियाको सञ्चालन र व्यवस्थापन गर्छन् भने जो उक्त साधनबाट वञ्चित छन्, तिनीहरू उक्त मालिकको नियन्त्रण र निर्देशनमा काम गर्छन् अर्थात् पहिलो शोषक र पछिल्लो शोषित रहन्छन्। यसरी वर्ग विभक्त सामाजिक व्यवस्थामा उत्पादनको प्रक्रिया साधनबाट वञ्चित रहेका कामदारहरूको आर्थिक शोषणको प्रक्रिया पनि रहन्छ। यो वर्गीय भिन्नता सम्पत्ति–सम्बन्धहरूमा अभिव्यक्त हुन्छ।
(२) उत्पादनका साधनसितको भिन्नाभिन्नै सम्बन्धले गर्दा सामाजिक उत्पादन–व्यवस्थामा तिनीहरूका भिन्नाभिन्नै स्थान रहन्छन्ः पूँजीपति मालिक हुन्छ भने ज्यालादारी मजदुर श्रमिक हुन्छ। त्यसको फलस्वरुप, सामाजिक श्रम–सङ्गठनमा तिनीहले खेल्ने भूमिका पनि आदेशको पालना गर्छन्। मालिकले आदेश दिने काम गर्छ भने मजदुरहरू आदेशको पालना गर्छन्।
(३) उपरोक्त सम्बन्धका कारणले गर्दा नै उत्पादनबाट प्राप्त हुने सामाजिक धनमा उक्त दुई वर्गहरूले गर्ने हिस्सा फरक–फरक हुन्छन् र त्यस्तै हिस्सा प्राप्त गर्ने तरिका पनि फरक–फरक हुन्छ। त्यस्तै दिस्सा प्राप्त गर्ने तरिका पनि फरक–फरक हुन्छ। पूँजीवादी उत्पादनमा सामाजिक धनको ठूलो हिस्सा पूँजीपतिहरूले प्राप्त गर्छन् भने उत्पादक श्रमिकहरूले कम हिस्सा प्राप्त गर्छन्। फेरि, श्रमिकहरूले ज्यालाका रुपमा त्यसलाई प्राप्त गर्छन् भने पूँजीपतिहरूले नाफाका रुपमा प्राप्त गर्छन्।
यसरी उत्पादनका साधनहरूसितको वर्गहरूको सम्बन्धका आधारमा उत्पादनमा तिनीहरूको स्थान, तिनीहरूले खेल्ने भूमिका, तिनीहरूको आम्दानीको परिमाण तथा आम्दानी प्राप्त गर्ने तरिका निर्धारित हुने गर्छ। उक्त सम्बन्ध नै त्यस्तो प्रमुख तत्व हो, जसले मानिसहरूको वर्गीय स्थितिलाई निर्धा्रित गर्दछ। त्यसैले, स्पष्ट कुरा के छ भने भौतिक मूल्यहरूको उत्पादन–प्रक्रियालाई प्रस्थानबिन्दु बनाएर वर्गको विश्लेषण गरिनुपर्छ।
कुनै पनि वर्ग–विभक्त सामाजिक व्यवस्थामा प्रमुख (आधारभूत) वर्गहरू दुइटा हुन्छन्, एक, उत्पादन–साधनका मालिक वर्ग, जो उत्पादनका साधनबाट वञ्चित रहेकाहरूको श्रमको शोषण गरेर विलासी जीवन बिताउँछ र अर्को, कामदार वर्ग, जो साधनविहीन हुनाले साधनका मालिकहरूका लागि श्रम गर्दछ। हर वर्गीय समाजमा दुइटा आधारभूत वर्ग यिनै हुन्। तर त्यस्ता समाजहरूमा आर्थिक शोषण तथा दासेय स्थितिको रुपचाहिँ भिन्नाभिन्नै हुन्छन् र यही भिन्नताद्वारा सम्बन्धित समाजको रुप निर्धा्रित हुन्छ। उदाहरणका लागि जुन सामाजिक व्यवस्थामा मालिक वर्गका लागि कामदारहरू श्रम–शक्तिको शोषणको स्रोतमात्र होइन, किनबेच वस्तुसमेत रहन्छ, त्यस व्यवस्थालाई दास समाज भनिन्छ। जुन सामाजिक व्यवस्थामा उत्पादनका साधनका मालिकले कामदारहरूको श्रम किन्ने र कामदारहरूले आफ्नो श्रमशक्ति बेचेर जीविका चलाउने गर्छन्, त्यसलाई पूँजीवादी समाज भनिन्छ।
वर्ग विभक्त समाजमा दुइटा आधारभूत वर्गहरू रहने कुरा माथि बताइएको छ–जस्तो कि दास र दास–मालिक, सामन्ती व्यवस्थामा अर्धदास (मोही किसान) र भूमालिक, पूँजीवादमा मजदुर र पूँजीपति। ती वर्गहरू उपरोक्त समाजका आधारभूत वर्ग हुन् र तिनले संरचनाको वर्ग–रुपलाई, प्रभुत्वशाली उत्पादन–सम्बन्धहरूलाई व्यक्त गर्छन्। तर कुनै पनि सामाजिक व्यवस्सथा आधारभूत वर्गहरूबाट मात्र बनेको हुँदैन। त्यसको अर्थ के भने सो समाज शुद्ध रुपमा रहेको हुँदैन। माथि उल्लेखित सामाजिक संरचनाहरूमध्ये प्रत्येकमा यस्ता वर्गहरू पनि हुन्छन्, जुन पहिलेका उत्पादन–सम्बन्धका अवशेषहरू हुन्छन् र अहिले छिन्नभिन्नताको स्थितिबाट गुज्रिरहेका छन्।
उदाहरणार्थ, पूँजीवादी समाजलाई लिऊँ। यस व्यवस्थामा पूँजीपति र मजदुरसँगसँगै किसानहरू र स्वतन्त्र शिल्पकारहरू पनि रहेका हुन्छन्। ती संक्र्रमणको स्थितिमा रहेका समूह हुन्, जुन समयको क्रममा बिलाएर जान्छन्। त्यसबाहेक, यस्ता समूहहरू पनि पाइन्छन्, जुन सम्बन्धित समाजका लागि आवश्यक छन्, जुन आधारभूत वर्गहरूको बीचको स्थितिमा रहन्छन्। उदाहरणका लागि, पूँजीवादी समाजमा भएका प्राविधिक तथा बौद्धिक मजदुरहरू हुन्, जो पूँजीवादी उत्पादनका लागि आवश्यक समूह हुन्। यतिबाहेक यस्ता समूहहरू छन्, जुन कुनै वर्गमा पर्दैनन्, अर्थात् अवर्गीकृत (Declassed) समूह हुन्। उदाहरणका लागि, आवारा सर्वहाराहरू, फिरन्ताहरू, मगन्तेहरू आदि यस समूहमा पर्छन् र यिनीहरू सामाजिक श्रमको परिधिभन्दा बाहिर, जीविकोपार्जनको कार्यक्षेत्रभन्दा बाहिर रहेका समूह हुन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















