२०५२ फाल्गुन १ गते जनयुद्धको शुरुआत भएसँगै फाल्गुन १२ गते म गिरफ्तार भए । मेरो गाउँ काभ्रे मेच्छे मुक्पामा स्थानिय दौलत सिङ दोङकोको घरमा आक्रमण गरेर तात्कालिन माओवादी पार्टीले जनयुद्धको शुरुआत गरेको भोलिपल्टदेखि प्रहरी प्रशासनले धरपकट शुरु गर्यो ।
म सानै थिए । कक्षा १० मा सिन्धुलीको कुशेश्वर मावि दुम्जामा अध्यनरत थिए । माओवादी पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी ) सिन्धुली र काभ्रेको जिल्ला कमिटीमा रहेर काम गर्थे । पार्टीले सामन्ती राज्यसत्ता ध्वस्त गरेर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्यसाथ जनयुद्ध शुरु गरेको थियो । तर स्थानीय कांग्रेका जाली फटाहाहरुले माओवादी जनयुद्धलाई राजनीतिक आन्दोलनका रुपमा बुझेनन । फलस्वरूप स्थानिय कांग्रेसका गुन्डाहरु माओवादीका परिवार, शुभचिन्तक र समर्थकहरुका विरुद्ध अमानवीय ढङ्गले प्रस्तुत हुन थाल्यो । सोही क्रममा मलाई डेराबाट नै गिराफ्तार गर्यो । जुनबेला म स्कुल जाने तयारिमा थिएँ ।

स्थानिय गुन्डा दलका नाइके चन्द्र कुमार दोङ, बिकुलाल दोङहरुको सक्रियतामा मलाइ ‘माओवादी’ भनेर पक्राउ गर्यो । कानुन बिपरित म सामान्य १० कक्षामा पढ्ने विद्यार्थीलाई माओवादी भनेर प्रहरीलाई बुझाउनु सामन्य थियो । तिनीहरुले सिन्धुलीको दुम्जाबाट काभ्रेको भन्डारी बेसिसम्म ल्याउँदा झन्डै म लास भएको थिएँ । अलिअली होसमा तर बेहोसमा थियो । मैले सोचे ‘सायद क्रान्तीको बाटो यस्तै हो कि ?’ मेरो बालमस्तिस्कले यही सोचे ।
तिनिहरुले यति यातना दिए कि अहिले त्यसको बर्णन म गर्न सक्दिन । शरिरभरि निलडाम थियो । आँखा सुन्निएको थियो । शरिरका कुनै अङ्ग बाँकी थिएन निलडामको । जब दुम्जाबाट रोशी र सुनकोसी किनारमा झर्यो पानी प्यास लागेर बेजोड भयो । मैले पानी खाना खोजें खेतका कुलोमा । तर तिनिहरुले दिएन । रोशी तर्दा जुत्ता खोल्न दिएन, पाइन्ट माथी सार्न दिएन ।
अहिले पनि म ढाडको रोगी छु सायद कलिला हड्डीमाथी निर्मम प्रहार भएर होला । म आफू दुम्जा देखि मेरो आफ्नो गाउँ मुक्पाको भन्डारी बेसिसम्म कसरी आइपुगे मलाइ नै थाहा थिएन । सायद म बेहोस बेहोसमै आइपुगेछु । जब भन्डारी बेसी आइपुगे दौलत सिंको घरमा निलो बर्दिका प्रहरिहरु टनाटन थियो । स्थानिय काँग्रेसका कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।
बन्दुकधारी प्रहरीहरु खुब रमायो म देख्दा । सायद म ठुलै नेता भएछु त्यो बेला । मानौ जनयुद्धको नाममा दौलत सिङको घर कब्जाका मुख्य योजनाकार नै रक्तिम हो । तर त्यो गलत थियो । किनकी म साधारण विद्यार्थीको संगठनमा आवद्ध थिएँ । यद्यपी पार्टीको योजनामाथि, लक्ष्यमाथि मेरो भरोसा थियो । तर जुन कार्वाहीमा म आफू सहभागी छदै थिएन । सहभागी हुने अवसर पनि मिलेन । किनकी मेरो जिम्मेवारी विद्यार्थीमा थियो । पार्टीको सेल कमिटीमा थियो त्यति हो । पार्टी सदस्य पाउनु त्यो बेला ठुलै उपलब्धि थियो । बाल संगठनमा काम गरेदेखी विद्यार्थी संगठनमा काम गरेपछि बल्ल मैले पार्टी सदस्य प्राप्त गरेको हुँ ।
जब प्रहरीसामु म पुगें एउटा ठूलो भुडीवाल प्रहरीले पेस्तोल कन्चेटमा राखेर पहिलो प्रश्न गर्यो ‘के नाम तेरो ?’
मैले भनें, ‘रक्तिम हँु ।’ प्रहरीको फेरि प्रश्न थियो, ‘ओहो ! नामै रक्तिम ?’ मैले भने, ‘हो हजुर नामै रक्तिम ।’
‘कस्ले राखी देको यस्तो क्रान्तिकारी नाम ?’ प्रहरीको प्रश्न थियो । मैले भने ‘मेरो टिचरले ।’
साला तेरो नामै काफी छ, कति माओवादी भन्ने कुरा भनेर ती प्रहरी अधिकृतले एउटा जवानसँग लाठी मागेर हिर्काउन थाले । त्यतिकै त म बेहोस थियो खासै दुख्न छोडेछ । जिउ लाटो भैसकेको थियो । अनि अर्को प्रश्न गरे तेसले, ‘अनि चलाख सिं कता छन ? सुर्यमान दोङ कता छन ? यान प्रसाद गौतम खोइ ? अस्ति १ गते राती डाका मार्न कोको आएका थियौ ? कति जना थियो ? लुटेका सामानहरु कता लगिस ? कहाँ लुकाएर राखेको छस ?’
म नाजवाफ भएँ । मलाई थाहा भए पो भन्नू, म आफू माओवादीको कार्यकर्ता भए पनि खास थाहै थिएन । तर म तिनिहरुको अगाडि मुख्य योजनाकार साबित भए किनकी मेरो नामै रक्तिम थियो । सबै प्रश्नको एकमुष्ट उत्तर ‘थाहा छैन’ भन्ने नै रह्यो । आंगनमा खसी टुक्र्याउदै थियो ।
घरका महिलाहरु यताउता खाना पकाउने तिर ब्यस्त थियो । म भने भोक तिर्खाले सिथिल थियो । मैले बल्ल पानी माग्ने हिम्मत गरें । धन्न ती भुडिवाल प्रहरीले पानी पिउन अनुमती दियो । अघाउजी पानी पिए ।
‘तैले तेरो नेताहरु कता बस्छ सबै भन्नू नत्र जिल्ला चलान गर्छु ।’ भनेर धम्क्यायो प्रहरीले । म चुपचाप बसें । तर मनमनै सोचे, ‘ओहो ! साँच्चै मेरो प्यारो चलाख सिङ कता छन ? मलाई प्रशिक्षण दिने हातमा समातेर क्रान्ति भन्न सिकाउने गुरु यान प्रसाद गौतम कता छन होला? साँची मेरो सुर्यमान दाइ कता होला? कि सबैलाइ समात्यो ? ओहो यस्तो नसोचौ । जता भए नि ती मान्छेहरु सकुशल रहोस भन्ने सोचे ।
एकछिनमा खाना खान्छस भनेर सोध्यो एक जनाले । भोकले गर्दा खान्छु भने । तर त्यस ठाउँमा मलाई खाने मन थिएन । माओवादी समात्यो भन्ने खुसियालिमा खसी काटेर भोज गर्दै रहेछ । त्यही भोजमा म माओवादी अभियुक्तका रुपमा सहभागी हुँदा क्रान्ति भोजभतेर होइन भन्ने स्लोगणको पो याद आयो । तर मन मनै सोचे ‘जे होस अब क्रान्ती सुरु भयो राम्रै भो । कति सहेर बस्नु अन्याय अत्याचार ? कति दबिएर बस्नु फटाहाहरुको दमन । आँ ठिकै भो’ क्रान्तिको निम्ति नै मलाई पक्राउ गरेको ठाने ।
म आफुलाइ निकै गौरवन्वित ठाने । एकैछिनमा हतकडि लगाएर जिल्ला चलान भयो । हिड भनेर उर्दि जारी भयो । मैले यसो प्रहरी संख््या गनेको १७ जनाको टोलि रहेछ । अगाडि पछाडी प्रहरी म बिचमा । रोशिखोलाको किनारै किनार हिडाएर इलाका प्रहरी चौकी मंगलटारसम्म ल्यायो । साँझ झमक्कै पर्यो । गाउँलेहरु बेलुकिको धन्दामा यताउती देखिन्थ्यो ।
मलाई सरासर अँध्यारो कोठामा हुल्यो । ओहो कति डरलाग्दो कोठा ! न बत्ती न सफा, ठुस ठुस गन्हाउने, चिसो भुइँ, दिनभरिको यातना, पैदल यात्राले थकित शरीर । घरमा आमाले निकै चिन्ता गर्नु हुन्छ भन्ने धेरै सोचे, सोचेर के गर्नु अब क्रान्ति शुरु भयो । त्यही क्रान्तिले आमाको चिन्ता दुर होला भन्ने सोच्दा सोच्दै भोलिको सुर्यदयोको आशामा कस्टडिमा निदाएछु ।
क्रमशः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















