पिङ्गाई

मुटुको हरेक रेशाहरुबाट गहिरो सम्झना
बेलाबखत तिम्रो यादहरु आइरहन्छ ।
तिम्रो याद आउनु भनेको त
झुक्कियर आफ्नै आँखामा
खुसार्नीको धुलो पर्नु जस्तै हो
सधैं छिर्ने घरको मुलढोकामा
पुरपुरो ठोकिनु जस्तो हो
आफ्नै दुई खुट्टा आपसमा
ठेस लाग्नु जस्तो अंचेट्नु जस्तो हो
अचानक, अपरझट झंल्याँस्स आइदिन्छ ।
पिङ्गाई
नून बेसाउन छोङ्दी हिडेका आस्याङ
धेरै बर्ष घर नफर्के पछि
तिमीलाई पोकोपारेर माइती झरेका आङी
गलैचाको तानमा खोपोङतिर तिम्रै भविष्य
बुन्दै रहेछ ,
हो उत्तिखेर सबैभन्दा पहिला
गाउँको भुमी पूजामा तिमिलाइ देखेथे ।
पिङ्गाई
रगतले एउटै सन्तान हामी
साइनोले आङीको छोरी बनाउँदै
जंगेको मुलुकी ऐनले मासिन्या बनाएदेखी हो
रगत रगत कुटुम्ब भयौ हामी ।
पिङ्गाई
भुमे पूजामा
बोन्बो आखेले नैबेद बाँड्दै गर्दा
मौवाको पातमा दुइतिर दुइ भाग लगाएको
टपरी हाम्रो हातमा थमाइदिए पछि,
टपरीको एक फेद पकड्दै
ढुंङ्गामाथी टुप्लुक्क बसेथ्यौ हामी,
पोलेको कुखुराको आन्द्रा दुइतिरबाट चपाउदै
बिचमा आइपुग्दा तिम्रो–मेरो आँखा जुधेथे है बेस्सरी ।
त्यती हुँदानी तिमी लजाएनौ
उल्टै मेरो भाग रोटि कपाकप खायौ ।
हगि ?
आज उत्तिखेरको
तिम्रो कोमल कलिला चम्किला आंखा
भक्कु याद आउँछ मलाई ।
पिङ्गाई
तिमीलाई पिङ्गाई भन्दा कहिलै रिसाएनौ
अनुहार कहिलै मलिनो बनाएनौ
जहिलै चम्किलो आँखा
उज्यालो अनुहार
बाटुलो नाक
फुर्तिलो छाती
दर्बिलो आँट
सलक्क परेको तिम्रो कपाल देख्दा
ओ तारमाई भन्न मन लाग्थ्यो मलाइ ।
पिङ्गाई
बिद्रोही आंटिली र मुर्ख स्वभाबको तिमी
एकसठ्ठी सालको माघतिर
अचानक हरायौ हामीबाट ।
तिमी मात्र हराएनौ
गंलैचामा तिम्रो भबिस्य कोरिरहेका आङीको सपना पनि हरायो
मेरो एउटा आाखै हराइ
लाग्यो मेरो टेक्ने खुट्टो खोल्चे भयो ।
हो पिङ्गाई
छापामार दाजु घरकै बाटो भएर हिंड्दा मध्यरातमा
आमाले उठेर बटुकामा दहि पिलाउथ्यौ
दाजुले थमाइदिएको नलकटुवा हातमा लियर
दहि पिइन्जेल
दोबाटोमा सेन्टी बसेको याद छ मलाई,
थुप्रै चोटी दुर्साघाङमा
खिया लागेको एम्बुस कुरेको याद छ मलाई !
खाजा सँगै सकेट बम झोलामा बोकेर हिड्थ्यौ तिमी ।
दुश्मन कस्तो हुन्छ याद त थिएन मलाई
तर यी सारा दुश्मनको बिरुद्ध गरेका भन्थेउ तिमी
म केहि जान्दिन थे
तिमी संगठन, पद्धति, बिचार बुझ्ने भैसकेका थिए छौ ।
एक चोटी गाउँमा एउटा घर आगलागि हुँदा
थुप्रै दिनसम्म कोहि आएनन्
केही प्रहरीहरु आए
हामीलाई बिस्कुट बाँडेर गैइन् ।
पिङ्गाई, तिमीले ‘हाम्रो दुश्मन तेहि हो’ भन्दा
सहयोगी हातहरु कसरी दुश्मन हुन्छ भनी
दुर्साघाङको खिया लागेको एम्बुस
उखेल्न तम्सेको मै हँु ।
खरीढुङ्गा ब्यारेकबाट निस्केका सेनाले
स्कुल हिडेका बखान सरको बाटैमा बिभत्स हत्या गरेपछि
लास पुर्न गएका हामी थुप्रै रोयौं ।
त्यसपछी हो
भालुखोला दोबानमा पनि अर्को एम्बुस थापेका हामीले ।
तर बिडम्बना पिङ्गाई
दुश्मन कहिलै हाम्रो एम्बुसको बाटो भएर आएन या
दुश्मनको बाटोमा हामी एम्बुस भएर बसिनौं ।
पिङ्गाई
तिमी हराएपछि
स्कुलमा तिमिले सम्हालेको
बिद्यार्थीको अध्यक्ष पद मैले सम्हाले
तिमीले छोडेको चम्किलो रातो तारा किताप मैले पढें
तिमीले कुर्न छोडेको एम्बुस हरेक रात मैले कुरें
छापामार दाजु घर आउँदा
म एक्लै सेन्टि बस्थें
पार्टीको गोप्य चिठ्ठि म एक्लैले ओसारे
हिड्नु पर्ने ठाउँमा एक्लै हिंडे
दौडिनु पर्ने ठाउँमा एक्लै दौडें ।
पिङ्गाई
तिमीले पढ्न छोडेको एक बर्ष पछि मैले स्कुल छोडे
युद्ध मैदानमा तिमीलाई भेट्ने दृढ अठोट थियो
एउटै मोर्चामा लढ्ने बलियो संकल्प थियो
तर पिङ्गाइ तिमीलाई कहिल्यै भेट्न सकेनौ ।
एक दिन माहाभारतको उपल्लो छेउ
छतिवनको शिरैशिर झरेर
मकवानपुरको झुरझुरे पुग्दा
झुरझुरे मोर्चामा साहदत बीर सहिदहरुको नामावली
सहिद स्तम्भको सत्रौ नम्बरमा पढ्न पुगेछु
क. प्रेरणा (पिङ्गाई)
पिङ्गाई
त्यसपछि कति मोर्चा लडे
कति साहदतहरुको शरिर पुरे
कति घाइते योद्धाहरुको चित्कार सुने पत्तै पाएन ।
पिङ्गाई आज तिमी खाडीमा
पसिना बगाइरहेका छौ
थाहा छ तिमीलाई ?
आज हाम्रै मान्छे हाम्रो दुश्मन छ,
तिम्रो पसिनाको दुश्मन
तिम्रो रगतको दुश्मन
हाम्रो सपनाको दुश्मन
कुर्सिमा छ, सत्तामा छ र राज्य ब्यबस्थामा छ ।
पिङ्गाई
एक दिन आकाशले भस्मै खुसी ल्याइदियो हगि
जनान्दोलन उत्कर्षमा पुगेको थियो
म भुमिगत एस एल सि को तयारीमा लागेथे
अचानक ६३ अषाढ सात गतेको सातबजेको समाचारमा
भैरबनाथ गणबाट तिमिलाइ रिहाइ गरेको तश्बिर देखें ।
पत्याउनै नसक्ने
बुज्नै गाह्रो
धेरै पहिले देखिको पिङ्गाई
मैले प्रश्ट ठम्याएका थिए ।
मैले आंङिलाइ खबर गरे
आङी “पिङ्गाइ जिउदो छ“
आङी रुनु भो । झन रुनु भो,
बेस्मारी रुनु भो ।
पिङ्गाई
भोली पल्ट इन्सेकको कार्यलयमा
सप्पै भन्दा पहिला तिमीले मलाइ देखेथ्यौ मैले तिमीलाई ।
हामीले अंगाल्यै तिमी रुदै रोएनौं
मेरो आँखामा आँसु थामेन ।
तिमी घाइते भई गिरफतारारिमा परेको खबर थाहा नपाउँदा साहदतको सुचिमा सुचिकृत भएछन ।
अहो त्यो क्षण
त्यो पल
त्यो समय ।
पिङ्गाई
हाम्रो आजिबन दुश्मन त
पुँजीबादी ब्यबस्थाको खिया लागेको कानुन रहेछ
जुन हिजो हामीले कुरेको
खिया लागेको एम्बुस जस्त बडो खतरानाक छ ।
(शब्दार्थः
पिङ्गाईः तामाङ छोरीचेलीलाई मायाबी भाषामा बोलाउने नाम ।
बोन्बोः पुजालाउने मुखिया
आखेः बाजे
आङीः फुपु
आस्याङ . फुपाजु
धुर्साघाङः च्यान डाँडा)

Comments

comments