• रक्तिम लामा
२०५२ फाल्गुन १४ गरे साँझबाट जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा हाम्रो यातनाको श्रृंखला निरन्तर रह्यो । सानो एउटा कोठाभित्र हामी १६।१७ जना खचाखच थियौ । सुत्नु पर्यो भने पालैपालो सुत्ने गर्थ्यो ।
खासै राम्रोसँग सुत्न पाउने भए पो ! कतिखेर कुन चाहिँ थुनुवालाई बाहिर निकालेर रामधुलाइ गर्ने हो ठेगान थिएन । सामान्यतया २४ घन्टाभित्र अदालत बुझाउनु पर्ने संबैधानिक ब्यबस्था भए पनि हामिलाई त्यसो गरिएन । चिसो भुइ, उडुस उपियाँको निरन्तर आक्रमण अनि निर्मम यातनाले हामी प्रायः बिरामी थियौ ।
प्रहरीहरुको मेसमा खाना बाँकी बस्यो भने अन्तिमको डढेको र चिसो खाना आधी पेट खुवाउथ्यो । त्यही पनि प्राण धान्न खानुपर्ने बाध्यता हामीमा थियो । सुचनाबाट पुरै बन्चित थियो । मुख्यतः रातको समयमा पेट खराब भएर दिशा लाग्यो भने बाल्टिनमै गर्नु पर्ने थियो किनकि राती हामी माओवादीहरुलाई ट्वाइलेट लानु तिनीहरुको लागि जोखिम ठान्थ्यो । अर्थात हामी माओवादीहरु भनेको न खानपिन गर्न लायक न दिसापिसाब गर्न लायक जस्तै थियो । प्यास लागेको बेला अघाउजी पानी पिउन पनि बन्चित । आफन्त भेटघाटको त कल्पना नै नगरौं ।
मध्यरातमा एक दिन एक्कासी मादल र मादलसँगै हिरासत कोठाबाट क्रान्तिकारी गीत गुन्जेको आवाज हामी सबैको कानमा पर्यो । ओहो ! स्वर त ठ्याक्कै च्याङ्बा लामाको जस्तो ! पछि हामी मध्यबाट मानकाजी दोङलाई खोरबाट निकालेर लग्यो । करिब १५ मिनेटपछि उहाँलाई पुनः भित्र पठायो । किन रहेछ खास यो १२ बजे राती भनेर हामिले सोध्यौ । च्याङ्बा र कान्छा ल्याएको रहेछ तिनिहरु चिन्छ कि चिन्दैन भन्ने सोध्न रहेछ । लगतै मलाई पनि बाहिर निस्किन भन्यो । सरासर च्याङ्बा र कान्छा लामा भएको ठाउँमा लग्यो । हामी एउटै गाउँका हो कि होइन भन्ने सोध्न रहेछ । (च्याङ्बा लामा काभ्रेको अनेकोटमा सात जना कलाकार सहित २०५५ मा सहिद भैसक्नु भयो भने कान्छा लामा तात्कालिन फासिस्ट सरकारको ““किलो सेरा टु““ नामक दमनमा २०५४ तिरै प्रहरिले मारेको थियो ।)
त्यस रात उहाँहरुलाइ पाचखालबाट गिरफ्तार गरेर ल्याएको रहेछ । उहाँहरुले आफू माओवादी होइन तर कलाकार हौ भनेपछी डिएसपी र प्रहरीहरुले गीत गाउन च्याङ्बा लामालाई र नृत्य गर्न कान्छा लामालाई लगाएको रहेछ ।
त्यस्तो सङकटमा पनि उहाँहरुले क्रान्तिको गित गाएर नाचेको देख्दा कता कता जनयुद्धको पुर्व तयारीको निम्ति घरदैलो अभियान गर्दाको सम्झना प्रस्टै हुन्थ्यो । त्यही रातको बिहानीतिर होला पुनः काभ्रे होक्सेका बुद्धिमान तामाङ, मेच्छे मुक्पाकै रंगवीर दोङ, तिर्थ दोङहरु पनि गिरफ्तार गरेर ल्याएको रहेछ । त्यस रात बुद्धिमान तामाङ र रंगबीरको सास मात्र बाँकी राखेर हामी भएको ठाउँतिर हुलियो ।
च्याङबा र कान्छा त अघि नै लास थियो यातनाले । एवंरितले हामी मुख्य सात जना दौलत सिङको घर कब्जाका म्यादी बनायो । बेहोस बनाएर झुटो विवरण तयार गरेर अदालतमा म्याद थपको लागि पठाउने काम भयो । त्यसबेला मुद्दा फाँटमा झुटो विवरण तयार गर्नुमा तिनिहरुको सफलता रहेछ क्यारे । अन्धा अदालतमा म्याद थप गरेर हामी माथी चरम यातना रोकिएन । मलाई लाग्थ्यो बरु कारागार चलान गरिहाले हुन्थ्यो जस्तो लाग्यो त्यसबेला । हामीसँग मुद्दा हेरिदिने वकिल थिएन तर पार्टीको सल्लाहमा होला अधिवक्ता मुक्ति प्रधान, एकराज भन्डारी अदालतसम्म आउनु भएर हाम्रो मुद्दाको बहस पैरवी शुरु भयो ।
अब भने हाम्रो हिरासतमा बस्ने दिन सकियो । करिब ४० दिनको कठोर हिरासत बसाइपछी अदालतले हामी ७ जनालाई कारागार चलान गर्यो पुर्पक्षकाका लागि । बाँकी कोशिपारिका आगजनी आरोपमा पक्राउ परेका साथिहरु कोहि साधारण तारेखमा र कोहि धरौटिमा छुटेछ । हामी भने छुटेनौ ।
ओहो ! जेल कस्तो होला, कारागार कस्तो होला भन्ने जिज्ञासा निकै थियो मनमा । सायद जेलभित्रैबाट मैले अब युद्धको कोटा पूरा गर्नु पर्ने होला जस्तो सोचे । फलामे गेट, कडा सुरक्षाबिच हामीलाई पालैपालो हथकडी सहित जेलभित्र हुलायो ।
‘अब सडेर बस क्रान्तिकारिहरु !’ एक जना प्रहरीले हामिलाई औंला ठड्याएर भन्दै थियो । हामिले तिनका कुरालाइ खासै वास्ता गरेनौ । हामी सातै जनालाइ लस्करै राखेर जेल प्रशासनले पुनः उर्दि जारी गर्यो । सायद ती जेलका मुख्य होला भन्ने सोचे नभन्दै जेलर रहेछ । म र कान्छा लामा उमेरले नाबालक थियौ । कानुनतः नावालकलाइ जेलमा राख्ने नियम थिएन तर हामीलाई प्रतिक्रियावादी राज्यसत्ताका कानुनले छुट दिएन । तिनका कानुन संविधानको धज्जी तिनिहरु आफैले पोलेर खाएको महशुस भयो ।
जेलभित्र पनि अर्को जेल हुदारहेछन गोलघर । त्यहाँका चौकिदारले भन्दै थियो ‘यिनिहरुलाइ गोलघरमा लाग्नु सरासर !’ नभन्दै हामिलाइ गोलघर नामक ब्लकमा लग्यो । त्यहाभित्र सद्दे मान्छे कोहि देखिएन । कोहि गित गाउदै रहेछ कोहि थाल बजाएर नाच्दै, कोहि रुदै कोहि चुरोटको धुवा उडाउदै । तिनिहरु विभिन्न मुद्दामा कैद भुक्तान गरेका तर मानसिक सन्तुलन गुमाएकाहरु रहेछन । हामी सबैलाइ एक एक वटा कोठामा हुल्यो । कोठा कस्तो रहेछ भने राणाकालमा घोडा बाध्ने तबेला रहेछ । पिसाब लागे त्यसैको बारबाट गर्नु पर्ने । खुट्टामा साङला बाध्यो हामी सबैको । मानौ हामी कुनै चौपाया जनावार हौ । त्यत्रो सुरक्षा ब्यबस्था भएर पनि कोठाभित्र खुट्टामा साङला बाँधेर लडाउने कति अमानवीय र निर्मम थियो भन्ने प्रस्ट हुन्थ्यो ।
त्यस साँझ हामिलाइ खाना लिएर केही साथिहरु आउनु भयो । तिनिहरु पनि बन्दी नै रहेछ । सबैले साइला दाइ साइला दाइ भन्ने ब्यक्ती चोरी मुद्दामा कैद भुक्तान गर्दै रहेछ । साथमा जनयुद्ध शुरु हुनुभन्दा अगाडि नै झुटा मुद्दा लगाएर जेल परेका काभ्रेका माओवादी नेता जेबि आले कमरेड र म आफू आवद्ध सङ्गठन अखिल क्रान्तिकारी काभ्रेका अध्यक्ष कमरेड गणेश चौलागाइ पनि खाना लिएर आउनु भयो । म त खुसी पो भए । सबै जानेबुझेका नेताहरु पनि साथमा पाउँदा । तर दुख पनि लाग्यो ‘अब काभ्रेको माओवादी आन्दोलन के होला यतिका होनहार नेताहरु जेलमा बस्नु परेपछी’ भन्ने चिन्ता पनि भयो। जे होस खुट्टामा साङ्ला ( नेल) बाधेपनी त्यो बेलुकिको खाना निकै मीठो र तातो थियो।
करिब ४० दिनपछी तातो खाना पेटमा पुग्दा हामीले आनन्द महशुस गर्यौ । खाना ल्याउदा जेबि कमरेडहरु सँग मैले सुटुक्क दरो हात मिलायौ । उहाँले नआत्ती बसौ २।४ दिनमा अर्को ब्लक सर्नु पर्छ भनेर सम्झाउनु भयो । त्यसरात भने हामी राम्रैसँग निदायौ तर खुट्टामा नेल भएर होला जरकजुरुक चल्न चाहिँ अलि मुस्किल थियो । मिलाएर कोल्टे फेर्नु पर्थ्यो ।
पिसाब लागे जता सिरानी त्यतैतिरबाट उभिएर फलामे ढोकाबाट गर्नु पर्थ्यो । अर्को कोठामा मानसिक रोगिका कैदिहरु बर्बाराएको प्रस्टै हुन्थ्यो ।
त्यसरात मेरो रुम पाटनर च्याङबा दाइ र मानकाजी दोङ हुनु भयो । राज्यसत्ता बौलाएको बखत ती जेलका कैदिहरु बौलाएको सामान्य लाग्यो । हामी भोलिको सुर्योदय र दिन कस्तो होला भन्ने कानेखुसी गरेर त्यसरात गोलघरमा निदायौ । क्रमशः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।