-रक्तिम लामा
२०५२ चैत्रको अन्तिममा हामी जेल भित्रको जेल गोलघरमा पुगेपछी हाम्रो जीवन झन कस्टसाध्य भयो। आफन्त, परिवार, नातागोता कोहि भेट्न दिएनन । यतिसम्म कि पत्रपत्रिका पढ्ने, लेख्ने र रेडियो सुन्न पनि दिएन । मेरो आफ्नो बिद्यालय, पढाइ अनि मुख्यतः आमाको सम्झना एकतिर दुखी थिए भने अर्कोतिर पार्टीले सन्चालन गरेको जनवादी आन्दोलनको प्रभाब देशभरि नै फैलिएकोले खुसी पनि थिए ।
म गिरफतार भएको खबरले आमा निकै बिक्षिप्त हुनु भयो भन्ने कुरा मलाइ राम्रैसँग हेक्का थियो । तर म फलामे जन्जिरको घेराभित्र कैद थिए । मलाई राम्रो सम्झना छ, आमा मलाइ भेट्नको लागि एक हप्तादेखी जिल्ला प्रहरी कार्यलयमा धाउनु भएको रहेछ । निकै दिनको प्रयासपछि आमालाई भेट्न अनुमती दिएछ जेल प्रशासनले । तर देखादेख हुन पाउने तर बोल्न नपाउने शर्तमा ।
त्यसबेला एउटी आमाको मन कति सम्हालिन गाह्रो भयो होला ! यति निर्दयी र आततायी राज्यसत्ताका प्रशासन हुन्छ भन्ने कल्पना भन्दा बाहिरका कुरा हुन । सामान्यतः कैदी बन्दीलाई पतिवार, आफन्त र कानुनी सहयता लिन पाउने अधिकार समेत खोस्यो । जेलको गेटबाट चौकिदार र प्रहरीहरुले मलाइ बोलायो ‘रक्तिम लामा गेटमा तिम्रो कोहि आएको छ भेटनको लागि तर तैले बोल्न पाउदैनस, मात्र तिम्रो आफ्नो अनुहार देखाउनु !’ ‘को आउनु भएको हो र बोल्नै नहुने ? बोल्नै नहुने भए म भेटदिन’ भनेर म पन्छिन खोजे । तर पछि एक जना प्रहरीले ‘एक जना बुढी बुढी मान्छे रहेछ सायद तिम्रो आमा हुन सक्छ ।’
आमा भनेपछी मैले एकपटक आमालाई बोल्न नपाए पनि मुख देखाउछु भन्ने लाग्यो । किनकी आमाले सायद म जिउँदै होला भन्ने कल्पना नै गर्नु भएको थिएन त्यसबेला । किनकी म काँग्रेसी ग्याङका स्थानीय गुन्डाहरुले लगभग लास बनाएर प्रहरीलाई बुझाएको थियो जुन कुरा गाउँभरी हल्ला चलिसकेको थियो भन्ने कुरा म भन्दा पछि पक्राउ पर्नु भएका च्याङ्बा दाइले मलाइ सुनाउनु भएको थियो । त्यही भएर पनि मैले आमालाइ म जेलभित्र असुरक्षित भएपनी हाललाइ जिवित छु भन्ने देखाउन एक पटक भेट्नै पर्छ भन्ने लाग्यो ।
गोलघरबाट मलाइ बाहिर गेटसम्म जान दिएन । जेलभित्र लगभग १० मिटरको दूरीमा मलाई उभ्याएर जेलका गेटबाहिरबाट आमालाई हेर्न लगायो । मैले आमाको अनुहार मलिन देखे, आखामा आँसु अनि आक्रोश पनि देखे, आमाको गलाबाट कुनै स्वर निस्केन, मेरो पनि कुनै स्वर निकाल्ने साहस थिएन । किनकी म आमाको त्यो दर्दनाक पिडालाइ मैले केही मल्हम लगाउन सक्ने थिएन । त्यसमाथी बोल्न आदेश थिएन ।
तर एकपटक त मैले आवाज निकालेर म ठिक छु आमा भनेर बोल्नै पर्छ भन्ने सोचे । मेरा अगाडि पछाडी चौकिदार, नाइके र प्रहरी जवानहरु थियो । मैले आमालाई देख्न साथ एकछिन बोलेन तर मैले बोले ‘आमा ङाता ज्याबान मुला, ए दिमरी दोको’ (आमा मलाइ राम्रै छ, तपाईं घर फर्किनु) ।
आमाले हातमात्र हल्लाएर जानू भयो । ‘ओइ रक्तिम ! तिमलाइ नबोल्नु भन्ने आदेश हुँदाहुदै किन बोलिस ? त्यसमाथी तामाङ भाषामा किन तेरो आमासित कुरा गरिस ?’ भनेर जेलरको अफिस रुम लगेर ३।४ जना लठैतहरुले मेरो शरिर पुनः थिल थिल हुने गरि बुटले कुल्चेर गोलभित्र फर्कायो ।
मेरो बोल्न पाउने अधिकार, मैले मेरो परिवार र आफन्त अनि जन्म दिने आमासँग किन बोल्न नपाउने ? मैले यहि कुरा सोचे । यो त झन अत्याचार थियो । म क्रान्तिकारी बिचार र आस्था बोक्ने युवालाइ सहिसक्नु थिएन । त्यसरी नबोल्नु भन्ने आदेशलाइ मैले उल्लंघन गर्न पाउँदा मैले ठुलै युद्ध जितेको महशुस गरे ।
वास्तवमा जेल युद्ध मोर्चाको एउटा गतिलो स्थान सम्झे । माओले जेललाइ बिश्वबिद्यालय भनेर परिभाषित त्यतिकै गर्नु भएको होइन रहेछ भन्ने पुष्टि भयो । बाहिरि संघर्षको कठिनाइ आफ्नो ठाउँमा छदैछ तर जेलभित्रको सेकेन्ड र मिनेट मिनेटभित्रको दुश्मनसँगको पौठेजोरी वा मुकाबिला साधारण थिएन । यद्यपि जेलभित्र हामिलाइ पार्टीका आधिकारिक निर्देशन नभए पनि हामी स्वतः क्रान्तिको लागि प्रतिबद्ध थियौ । अब भने हामी गोलघरको त्यो नारकिय जिवनबाट मुक्ती पाउने अभिलाषामा कसरी आन्दोलन गर्ने भन्ने निचोटमा पुग्यौ । हामिले चरणबद्ध आन्दोलन गर्ने सहमती गर्यौ र हामिले जेललाइ क्रान्तिकै ट्रेन्चका रुपमा प्रयोग गरेर प्रतिक्रियावादी राज्यसत्तासँग लडने निर्णय स्वरुप जेल मोर्चा गठन गर्यौ । क्रमशः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।