• चुडामणि तिमल्सिना
खै ! कसरी स्मरण गरौं त्यो दिन जुन दिन कसैको लागि आकास खसे झैं भएको दिन ।
हामी नेपालीहरुको बाध्यता भनौ या रहर, रेमिटेन्सबाट देश चलाउने र नेता पाल्ने चलन चलेको सुन्दर शान्त देश हाम्रो ।
एकाध परिवार बाहेक अधिकाँस परिवारका यूवाहरु आफ्नो परिवारको खुशीका निम्ति विदेशी भूमिमा रगत, पसिनाको मूल्य खोज्न जानुपर्ने बाध्यता रहेको छ ।
यस्तै बाध्यतामा थिए खनिखोला गाउँपालिका–१, हात्तीडाँडा निवासी छिरिङ लामाको ।
जो आफू परिवारको खुसी अनि आफ्नो उज्वल भविष्यको सुन्दर परिकल्पना गर्दै सात समुद्रपारीको देश मलेसियामा प्राण भन्दा प्यारी जीवन संगीनी जुनी र हृदयको टुक्रा तीन वर्षिया छोरी स्मारिकालाई छोडि, पछि भट्ने वाचा सहित विदेशीएका छिरङको दिनगन्ती सुरु हुन्छ, आफ्नो देश अनि आफ्नै प्यारो गाउँ फर्केने तिथि अनि मितिको पर्खाईमा ।
आफ्नो भाग्य भनौं या भावीको खेल, ’म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’ भने झै भत्कियो बालुवाको महल अनि बिलायो सपना छिरिङको, जस्तो कि शून्य आकाशमा धर्तीको धुवाँ बिलाए सरह ।
गाउँको कालीदेवी आधारभूत विद्यालयकी प्रध्यानाध्यापिका समेत रहेकी जुनिमायाँ गोले माईती गाउँ काभ्रेको कामिडाँडामा काका रहरबहादुर गोले कि छोरी अर्थात बहिनीको विवाहमा गाउँबाट भनौं या विद्यालयबाट २।४ दिनको छुट्टी मिलाएर माइती हिडिन् छोरी स्मारिका सहित उनी ।
सायद उनीसँगको अन्तिम भेट भएर होला परिवारको अनि गाउँलेहरुको, सबैसँग हाँसिखुशिका साथ ३।४ दिनमा गाउँ फर्कने भन्दै विदा भईन् सबैसँग उनी ।
जो उपकारी छ, जो गुणी छ त्यही मान्छे दैवलाई पनि मन पर्ने रहेछ जस्तो महशुस भएको छ मेरो अनुभवमा किनकि वरपर हेर्दा यस्तै भएको सुनेको छु मैले । तर आज म आफैले अत्यन्त नजिकबाट चिनेको अनि संगत गरेको सहृदयी बहिनी जुनी एवं भान्जी स्मारिका सबैले भन्छन् तिम्रो अन्त्य भयो रे, तिमीहरु बित्यौ अरे, तर यी सब गलत हुन् । बरु जुनी तिमीहरु सधैका लागि अजर र अमर भयौ, कहिल्यै कसैको स्मरणबाट नहट्ने गरि ।
जुनी, तिमीहरुलाई त के थाह र तिम्रो अभावमा कतिका आँखा ओभाएनन् भनेर । आजभन्दा भोलिभन्दा दिनहरुले कोल्टे फेर्दै जाँदा सायद चिने जानेकाहरुले त तिमीलाई भुल्लान् तर तिम्रो बाबा, आमा, दाइ भाइ र संगै जीउने संगै मर्ने कसम खाने जीवन साथी छिरिङ के भनेर चित्त बुझाउलान्, कत्ती पनि सोचिनौ हैन तिमीले ?
बहिनी, अमेरिकाको टेक्सासमा रहेका दाइ राजकुमार समाजिक संजाल मार्फत लेख्छन् ’अब यो निधारमा कसले टिका लगाई देला, अनि आजसम्म तिमीले लगाएको गुणको बदला कसरी तिरूँ’ भनेर ।
उता छिरिङ्लाई त विश्वास नै छैन तिमी अनि छोरी स्मारिका सधैंका लागि संसारबाट टाढा भयौ भनेर । त्यसैले त उनी मलेसियादेखी सामाजिक संजाल मर्फत लेख्छन् ’मेरी जीवन संगीनी मेरी छोरी मलाइ छोडेर तिमी जानै सक्दैनौ’ । त्यस्तै स्टाटसको अन्त्यतिर फेरि उनी लेख्छन् ’पार्खी बस केहि समय पछि भेट्न आउँछु त्यो अञ्जान बाटोमा खोज्दै तिमीलाई’ ’मिस यु छोरी, लभ यु जुनी ।’
आखिर जसले जे जे भने पनि जे नहुनु पर्ने थियो त्यो भैसक्यो । भावी दिनहरुमा यस्ता गल्तिहरु नदोर्होयाउन भन्दै नरभछि टिपरका चालकहरुलाई ट्राफिक प्रहरीहरुले कसम समेत खुवाई सक्यो तर यिनीहरु सुध्रिएनन् ।
काभ्रेको सन्दर्भमै कुरा गर्ने हो भने बिगत आठ महिनामा आठ जनाको ज्यान गैसकेको रेकर्डमा भेटिन्छ ।
के अब हामी सधै यसरी नै मरिरहने ? जवाफ चाहियो सरकार ?
हैन भने प्राकृतिक सम्पदाको नाजायज दोहन गर्न पाईन्न हाम्रो देशमा टिपर नै आवश्यक छैन ।
यदि टिपर बिना कामै चल्दैन भने टिपरको लागि उपयुक्त समय चयन हुनु र्पयो राती १० बजे देखि बिहान ४ बजेसम्म । अन्यथा निर्दोष जनताहरु मारिदै जान्छन् माफियाहरु ज्यानको मूल्य तोक्दै जान्छन् । अलिक पहुँच हुनेले क्षतिपूर्तिको नाममा मोटै रकम लेलान् तर निमुखाहरु दिनहुँ मारिन्छन्, भुस्याह कुकुर मारिए झैं ।
त्यसैले सरकार अब हामीले बाँच्न पाउने अधिकारको सुनिश्चित हुनु र्पयो ताकि जुनी र स्मारिकाको अवश्था कसैले भोग्नु नपरोस् ।
भावपूर्ण श्रद्धाञ्जली सहित अलविदा जुनी ! अलविदा स्मारिका !!

Comments

comments