६ असार,२०७७ काठमाडौँ। नेपालले चीन र भारतले सीमा विवाद वार्तामार्फत समाधान गर्ने विश्वास व्यक्त गरेको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी भारत र चीनबीचको विवादका बारेमा औपचारिक प्रतिक्रिया दिएको हो ।

नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनुपर्ने मत नेपालको रहेको मन्त्रालयले बताएको छ । चीन र भारतका सैनिकबीच गलवान क्षेत्रमा हिंसात्मक झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको छ । चीनतर्फको क्षतिका बारेमा अहिलेसम्म चीनले केही बताएको छैन ।

चीनले भारतीय सुरक्षाकर्मीको नियोजित उक्साहटमा घटना भएको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिएन झाओले भारतीय फौज चिनियाँ भूभागमा प्रवेश गरेर आक्रमण गरेपछि भीषण युद्ध निम्तिएको बताएका हुन् । शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि विदेशी सेना भारतीय क्षेत्रमा प्रवेश नगरेको र भारतीय भूमि नगुमेको बताएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।