१६ असार २०७७ काठमाडौँ । लामोसमयको लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा उत्रिएका ट्याक्सी ठाउँठाउँमा प्रहरीको नियन्त्रणमा परेका छन् ।

ट्याक्सी व्यवसायीहरुले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको तर सम्बोधन नभएपछि आफुहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन् ।

अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका अध्यक्ष दीपक केसीले सरकारलाई १५ गते सम्म आफ्नो माग सम्बोधन गर्न समय दिइएको तर सरकारले बेवास्ता गरेपछि विरोध स्वरुप ट्याक्सीको चाबी यातायात व्यवस्था विभाग मार्फत सरकारलाई बुझाइएको बताए ।

ट्याक्सी सन्चालन गर्न नपाउँदा बैंकको किस्ता तिर्न समस्या भएको र बैंकले ट्याक्सी नै लिलाम गर्ने अवस्था आएकाले यातायात व्यवस्था विभाग मार्फत सरकारलाई चाबी बुझाइएको उनको भनाई छ ।

अहिले ट्याक्सी मात्रै बुझाइएको तर सरकारले सम्बोधन नगरे उपत्यकामा भएका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने उनको चेतावनी छ । अध्यक्ष केसीले प्रधानमन्त्रीले समेत कोरोना ठूलो रोग नभएको बताइसकेकाले लकडाउन गरेर मजदुरहरुलाई बन्दी बनाउन नहुने बताए ।

व्यवसायीहरुले ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफ्नो दैनिक जीवन निर्वाहमा समेत समस्या भएको गुनासो गरेका छन् । उनीहरुले सरकारका कारण ट्याक्सी चलाउन नपाउँदा घरमा खाने कुरा सकिएको र रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थितिमा आफुहरु पुगेको बताएका छन् ।

दिनभर काम गरेर बेलुका खानुपर्ने मान्छेहरुलाई सरकारले बेवास्ता गरेको गुनासो उनीहरुको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला