२८ असार, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

विदेशमा रहेका कोरोना संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएको समितिले जानकारी दिएको छ ।

शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना संक्रमित नेपालीमध्ये २७ हजार ३ सय ६२ जना संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा बृद्धि भएको छ ।

संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जनामा संक्रमण फैलिएको छ । ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

यसअघि गतसाता सम्म १४ देशमा संख्या १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको छ । नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेको प्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरुलाई कडाईका साथ पालना गर्न समितिले आग्रह गरेको छ ।

यस्तै, नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरेको छ ।

यसै अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।