सुनिता दोङ तामाङ
३२ श्रावण २०७७
इराक । वैदेशिक रोजगारको सिलसिलामा ३ वर्ष अघि इराक पुगेका एकजना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला गाढी गाउँपालिका वडा नं. ६, सरङपुरका ३६ वर्षिय दिपक कुमार लो रहेका छन् ।
२०७४ सालमा श्रीमती मानमाया पाख्रीन र श्रीमान लो वैदेशिक रोजगारको सिलसिलामा इराक पुगेका थिए ।
६ महिना अघि देखि मृतक लोको दुवै मृगौला फेल भएको थियो । उनको रक्तचापका कारण मृगौलामा समस्या आएको उनकी श्रीमती पाख्रीनले जानकारी दिईन् । प्राइभेट अस्पतालमा उपचार गर्दा गर्दै सरकारी अस्पतालमा रिफर गर्न साथ उनको आज मृत्यु भएको उनले बताइन् ।
मृतकका श्रीमती पाख्रीनका अनुसार आफू एक्लैले कमाएर श्रीमानको उपचार गर्दै आएको थियो । ‘म एक्लैले कमाएर उहाँको उपचार गरें । यहाँको नेपाली दाजुभाइ, दिदीबहिनीहरुले पनि सहयोग गर्नुभयो ।’ श्रीमती पाख्रीनले भनिन्, ‘आखिरमा उहाँको मृत्यु भयो । तर अब नेपालमा शव कसरी लाने भन्नेमा म चिन्तित छु ।’
आफ्नो कमाइ र चन्दा संकलनले मात्र उपचार गर्न आर्थिक नपुग भएपछि सापटी लिनुपरेको र आर्थिक अभावका कारण शव नेपाल पठाउन निक्के कठिन भएको उनले बताईन् । ‘अब परदेशमा केही कमाई हुन्छ कि भनेर हामी आयौं तर हाम्रो सपना माथि बज्रपात भएको छ । आज उहाँको शव नेपाली पठाउन समेत सक्ने अवस्थामा छैन ।’ उनले सहयोगको याचना गर्दै भनिन्, ‘मलाई केही सहयोग पाए हुन्थ्यो । नेपाली दाजुभाइ दिदीबहिनीहरुमा म सहयोगको लागि फेरि पनि अनुरोध गर्न चाहन्छु ।’
मृतक लोको घरमा दुईटा छोरा र एक छोरी रहेका छन् ।
यो पनि पढ्नुहोस्ः

इराकमा दोलखाका दाहालको मृत्यु

Comments

comments