काठमाडौं । नेपालमा थप १ हजार ४९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४९० जनालाई संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा १३४ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ३२५ महिला र ३९८ जना पुरुषगरी ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।
हालसम्म पीसीआर परीक्षणको संख्या १७ लाख ५४ हजार ६३० छ भने पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पीसीआर परीक्षण भएका छन् ।
त्यस्तै बुधबार थप १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ जना रहेको छ भने ६०५ जना क्वारेन्टाइनमा रहेका छन् ।