खानीखोला गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को एघारौं
गाउँसभामा अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम

१. यस खानीखोला गाउँपालिकाको एघारौं गाउँसभाको छैठौं बजेट अधिवेशनका उपस्थित गाउँ सभाका सदस्यज्यूहरु, गाउँकार्यपालिकाका पदाधिकारी तथा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत एवं अन्य कर्मचारी मित्रहरु, नागरिक समाज, बुद्धिजीवि, पत्रकार, सुरक्षाकर्मीहरु सर्वप्रथम खानीखोलाको आज यस गरिमामय गाउँ सभामा म गाउँपालिकाको अध्यक्ष र गाउँकार्यपालिका परिवारको तर्फबाट यहाँहरुलाई हार्दिक न्यानो अभिवादन गर्दछु ।

यस खानीखोला गाउँपालिकाको आर्थिक वर्ष २०७९ । ८० को नीति तथा कार्यक्रम यस गरिमामय गाउँसभाको बैठकमा प्रस्तत गर्न पाउँदा म अत्यन्त गौरवान्वित भएको छ । २०७२ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन बाट हामीलाई मतदान मार्फत निर्वाचित गर्नु हुने आदरणिय खानीखोला बासी, आमावुवा, दिदीबहिनी लगायत सबैमा आभार सहित धन्यवाद व्यक्त गर्न चाहान्छु । यस अवसरमा इतिहासका विभिन्न कालखण्डमा विशेषत जनयुद्धको महान अभीयानमा यस खानीखोला गाउँपालिकाको भूमिबाट प्राण उत्सर्ग गर्नुहुने अमर योद्धाहरु रेशम बहादुर घिसिङ, डिल बहादुर थिङ, अर्जुन बहादुर थिङ, राममाया बज्यु, धनकुमारी गोले, मान कुमारी गोले, दल बहादर ब्लोन, अरबिन्द्र जिम्बा, देवराज सापकोटा, भक्त बहादर पाखिन, झलक दर्लामी, कमार वाईबा, रमिता थोकर, डेनसाङ घिसिङ, लोकबहादुर सिङतान लगायत अमुल्य जीवनको आहुति दिनुहुने ती महान शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्रात्मक राजनीतिक प्रणाली निर्माण सम्मको चरणमा आइपुग्दा घाइते तथा बेपत्ता पारिएका परिवार प्रति आजको यस सभा मार्फत गहिरो श्रदापूर्वक सम्मान व्यक्त गर्नु चाहान्छु । र मुलुकको राजनितिक, आर्थिक र सामाजिक परिवर्तनमा युगान्तकारी रुपमा नेतृत्वदायी भुमिका खेल्नु हुने अग्रजहरु प्रति सम्मान व्यक्त गर्न चाहान्छु ।

२. काभ्रेपलाञ्चोक जिल्लाको अति विकट क्षेत्र मानिएको डाडाँपारी क्षेत्रमा अवस्थित यस खानीखोला गाउँपालिका खानीखोलाको स्वच्छ एवम् कञ्चन पानी जस्तै समृद्धिको मिठो सपना बोकेर अघि बढि रहेको छ । कुल १३२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस पालिकाको उत्तरी सिमानामा बेथानचोक गाउँपालिका र रोशी गाउँपालिका, पूर्वमा महाभारत, दक्षिणमा मकवानपुरको बागमती गाउँपालिका, सिन्धुलीको हरिहरिपुरगढि गाउँपालिका र पश्चिममा ललितपुरको महांकाल गाउँपालिका पर्दछ । उत्तरतर्फ महाभारत पर्वत, पूर्वतर्फ चाउ खोला, दक्षिणतर्फ कोखाजोर र बागमती नदी एवम् पश्चिमतर्फ ठुला दुर्लुङ खोलाले घेरिएको यस पालिका आफैमा प्राकृतिक रुपले अत्यन्तै मनोरम, सुन्दर छ । पालिकाको नाम सँग साइनो जोडिएको यस भूगोलको मध्य भाग भएर बग्ने खानीखोला यहाँको मुख्य सौन्दर्य हो । यहाँको संस्कार, भावना र मनोविज्ञान यही सौन्दर्य सँग जोडिएको छ ।

प्राकृतिक दृष्टिले शान्त, प्रदुषण रहित, स्वच्छ, हरियाली युक्त खानीखोला आज विकासको अनमोल, अपेक्षाको बीचबाट खडा छ ।यहाँ पुरानो पाँचबटा गा.वि.स. हरुलाई जोडेर सातवटा वडा बनेको छ । २०७८ को जनगणना अनुसार १२,३७५ कुल जनसङ्ख्या देखिएको, शैक्षिक दृष्टीले ९६ प्रतिशत साक्षर भएको, दुध, तरकारी तथा मासुमा आत्मनिर्भर भएको यस पालिकाको अर्को पहिचान ऐतिहासिक भिमसेनस्थान मन्दिर, महादेवस्थान मन्दिर था गफा. गोल्मे दरवार चमेरो गुफा र तामा. चन, फलाम लगायतका अथाह खानीहरु पनि हो । जडिबुट्टी जन्य प्राकृतिक बस्तुहरुको श्रोतले पनि यस पालिका भरिपूर्ण छ यस्ता अनगिन्ति सम्भावना बोकेर पनि सम्भावनाको भारीले थिचेर उठ्न नसकेको तितो चिनारी लिएर अब बदल्ने, बदलिने प्रकृयाको यात्रामा अगाडि बढिरहको छ हाम्रो खानीखोला । साथै न्युनतम ३०० देखि अधिकतम ३००० मि. उचाईमा फैलिएको यस पालिका निश्चय नै हामी सबैको साझा प्रयत्नबाट बदलिने छ भन्ने विश्वास यस सभाले लिएको छ । मूलुकमा संघियताको स्थापना सँगै यसले प्रधान गरेको जनाधिकार, सिंहदरवारको अधिकार, गाउँ गाउँमा भएको व्यवस्था आदिले यहाँको जनमानसमा आएको उत्साह वास्तवमै आकर्षक छ । यसर्थ अब हामी सबै यो उत्साहका साथ “हामी बनाउछौं, हाम्रो खानीखोला” अभियानमा जुट्न सक्ने छौं ।

३. सबल पक्षः

* प्राकृतिक सौन्दर्य र स्वच्छ वातावरण भएको धार्मिक एवम् सांस्कृतिक सम्पदा भएको ।

* प्राकृतिक श्रोत उपयोगिताको दृष्टीले व्यापक सम्भाव्यता रहेको ।

* माहाभारत पर्वत श्रृखलाको उच्च पहाडी क्षेत्र भित्रका पर्यटनका सम्भावनाका साथ साथै पहिचानित वा पहिचान हुन बाँकी जडिबुट्टीको उपयोगिताको प्रचुर सम्भावना रहेको ।

* प्रदेश राजधानी र संघिय राजधानी सँगको नजिक रहेको ।

* सडक लगायतको पूर्वाधारको व्यवस्था गर्न सक्दा गाउँपालिकाको केन्द्र देखि प्रदेश राजधानीमा पुग्न दुई घण्टाभन्दा बढि नलाग्ने अवस्था रहेको।

* आदिवासी जनजाती र अन्य समुदाय बिच परस्पर, सुमधुर सम्बन्ध कायम गरी सदभावपूर्ण जीवन पद्दति भएको।

४. दुर्बल पक्षः

* भौगोलिक रूपले अत्यन्त विकट रहेको ।

* स्थानीय स्तरमा रहेको श्रोत साधनको समुचित प्रयोग हुन नसकेको ।

* इन्टरनेट एवम् संचार सेवा नियमित हुन नसकेको ।

* वर्षमा ६ महिना भन्दा बढि नियमति यातायात सेवा सञ्चालन हुन नसकेको ।

* भौगोलिक क्षेत्रफल ठूलो भए पनि कम जनसंख्या, कम बजेट र कम आन्तरिक श्रोत भएको ।

* केन्द्रिय प्रसारण लाईन (विद्युतीकरण) हुन बाँकी रहेको ।

५. सम्भावनाः

* महाभारत पर्वत क्षेत्रमा पर्यटकिय स्थल बनाउन सकिने सम्भावना रहेको।

* कफि, पशुपालन, जडिबुट्टी लगायतका क्षेत्रहरुमा लगानी भित्र्याउन सक्दा देशकै अर्थतन्त्रमा योगदान पुयाउन सक्ने अनुकुलित वातावरण भएको ।

* खानीखोला भित्रका ताल्ढुंगा, जगथली, माहांकाल र फलामेटार बस्तीलाई सहरिकरण गर्न सकिने सम्भावना भएको।

* सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थको खानी भएको र यसको उत्खनन् गरी बिक्री वितरण गर्न सक्दा पालिकाले ठूलो लाभ लिन सकिने सम्भावना भएको ।

* प्रदेश राजधानी हेटौंडा नजिक भएकाले बागमती नदिमा पुल निर्माण भएमा दुई घण्टामा हेटौंडा पुगि सेवा लिनसक्ने आधार भएको ।

६. वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि अपनाइएको नीतिः

* सहभागितामुलक र गाउँपालिकाको योजना तर्जुमा तथा लोकतान्त्रिक गणतन्त्रात्मक संघियताको मर्मअनुरुप सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता समपन्न जनताको शासन प्रकृयामा आधिकारिक रुपमा सहभागिता गराई नेपालको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्देशित गरे अनुरुप प्रकृया मार्फत टोल स्तरीय योजना तर्जुमा गोष्ठि गरिएको ।

* टोल स्तरीय योजना तर्जुमा गोष्ठि गरि टोलबाट छनोट भई आएका योजनाहरुको प्राथमिककरण गरिएको ।

सभाका सदस्यज्यूहरु,

७. अब म चालु आर्थिक बर्षको नीति तथा कार्यक्रमको समिक्षा प्रस्तुत गर्दछुः

* खानीखोला गाउँपालिका काभ्रे जिल्लाकै सबैभन्दा न्यून आय भएको गाउँपालिका हो । बिगत बर्षहरुमा यस पालिकाको आय बढाउन यस अघि लिएको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुन नसकि उद्योग, व्यापार र व्यवसाय मार्फत लगानी भित्र्याउन नसकेको, यस क्षेत्रका युवा, किसानहरुलाई उद्यमशिल बनाउन नसकेको ।

* आर्थिक विकास क्षेत्रको वस्तुगत आधारहरु तयार गरी सोही आधारहरुको पहिचान गर्न उचित र ठोस योजना बनाउन नसकेको ।

* गाउँपालिका भित्रका विपन्न नागरिकहरुको पहिचान गर्ने र यसको वर्गीकरण गर्ने, निम्न आय भएका परिवारको अवस्था पहिचान गर्ने महिला सशक्तिकरण, युवा सशक्तिकरण, दुर्व्यसन नियन्त्रण, शिक्षा क्षेत्रको अवस्था नियमन गर्ने कार्यको प्रयत्नलाई सकारात्मक कोशिसको रुपमा लिदै स्वास्थ्य क्षेत्रमा कोभिड-१९ को महामारी रोकथामका लागि गरिएको प्रयासले जनतामा सन्तुष्टि प्रदान गर्न सकेको ।

* यस गाउँपालिका भित्र उत्पन्न, विपद न्युनिकरण, उद्दार र पुनर्स्थापना गर्न सिर्जित विविध जटिलताको वावजुत भएका कोशिसहरुले परिणाम हासिल गर्न सकेको ।

* गाउँको बिकासका नाममा जथाभावि सडक निर्माण गर्न पहाड फोर्ने र भित्ता कोर्ने कामलाई निरुत्साहित गर्ने तर्फ उचित ध्यान नपुगि यस बाट उत्पन्न बाढि पहिरोले बस्तीहरुको जोखिम बढेको छ । यस विषयमा आमनागरिकमा सचेतना अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता भएको ।

* पूर्वाधार क्षेत्रको विकास बजेटलाई कार्यन्वयन गर्ने तर्फ समयमा काम सक्ने तर्फ ध्यान नदिइ असारको बजेट र असारे विकासको दुखद परम्परालाई अन्त्य गर्न नसकिरहेको ।

* आधारभुत रुपले पालिकामा प्रत्येक वडामा ३०० कि.मी. सडक सञ्जाल जोडिएको तर नियमित नभएको।

* संस्थागत सेवा र सुशासनको क्षेत्रमा हाम्रो पालिकाले इ-सेवा, अनलाइन घटना दर्तालाई चुस्त एवम् दुरुस्तसार्वजनिक सेवा प्रदान गर्न भौगोलिक विकटता, इन्टरनेटको पहुँच, पूर्ण जनशक्ति अभाव आदिका कारण उत्पन्न प्रतिकुल अवस्थाको अन्त्य गर्न केही प्रयत्न भएको ।

* गाउँपालिका प्रशासकीय भवनको निर्माणमा प्रकृयागत झन्झट उत्पन्न भई समयमा सूचना प्रकाशन गर्न नसकेको।

८. सोचः

हामी बनाउछौं, हाम्रो खानीखोला” भन्ने मुल नारालाई सम्पूर्ण खानीखोलाबासी नागरिकहरुको साझा नाराको रुपमा स्थापित गरी सोही बमोजिम सम्पूर्ण नागरिकलाई विकास र परिवर्तनको मार्गतर्फ एकीकृत र केन्द्रिकृत हुने वातावरण सृजना गरी स्वस्थ्य, स्वच्छ, सभ्य एवम् समुन्नत खानीखोला सबै दृष्टिले सुविधा सम्पन्न बनाउने सोच यस नीति कार्यक्रमले बोकेको छ ।

९. लक्ष्य:

आ.व. २०७९।८० को नीति तथा कार्यक्रम तर्जुमामा गरि रहँदा यस पालिकालाई समुन्नत समृद्ध र आत्मनिर्भर बनाउने खालका नीति कार्यक्रम र योजनाहरुलाई प्राथमिकता दिइएको छ । जनताबाट प्रत्यक्ष माग भएका योजना तथा कार्यक्रमहरुलाई समावेश गरी यस गाउँपालिकाको सम्भावना र अवसरलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम तय गरेको व्यहोरा अवगत गराउन चाहान्छु । “भौतिक पूर्वाधार युक्त, बेरोजगार मुक्त” उत्पादनले भरिपुर्ण समावेशी समानुपातिक चरित्र बोकेको, उद्यमशील नागरिक, गरिबी र विभेद रहित खानीखोला निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ ।

१०. अपेक्षित उपलब्धि:

आदरणीय गाउँसभाका सदस्यज्यूहरु,

यस नीति कार्यक्रमबाट आगामी तीन वर्ष भित्रमा गाउँपालिका प्रशासकीय भवन सम्पन्न गरि सक्ने । गाउँपालिका केन्द्र देखि जिल्ला सदरमुकाम सम्म र प्रदेश राजधानी हेटौंडा सम्म सडक सञ्जालले जोड्ने । गाउँपालिका भित्र एक सामुदायिक क्याम्पस र प्राविधिक शिक्षालय स्थापना गरि सक्ने । वडा केन्द्र सम्म नियमित सडक सञ्चालनको अवस्था सिर्जना हुने । करिब तिन सय जना युवाहरु कृषिमा रोजागारीकृत हुने, स्थानीय तहमा उत्पादित सबै बस्तुले चौबिसै घण्टा बजार प्राप्त गर्ने र उत्पादनशिल कार्यमा हरेक नागरिक सहभागी हुने खालको उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।

११. गौरवको आयोजनाः

आदरणीय गाउँसभाका सदस्यज्यूहरु,

 * यस गाउँसभा खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुंगा देखि जिल्ला सदरमुकाम धुलिखेल र प्रदेश राजधानीहेटौंडा जोड्ने खोपासी-ताल्ढुंगा-भोर्लेनी-हेटौंडा सडकलाई आफ्नो पालिकाको गौरवको योजना घोषणा गर्दछ ।

१२. यस गाउँपालिकाको केन्द्र खानीखोला गाउँपालिका वडा नं. ५ स्थित ताल्ढुंगा भन्ने स्थानमा स्थापनाकालदेखि रहि आएको तर गाउँपालिका केन्द्रको नाम स्थानीय तह पुनः संरचनाको बखत साल्मेचाकल हुन गएको र उक्त नाम हालसम्म नै यथाअवस्थामा रहेकोले गाउँपालिकाको केन्द्र जुन स्थानमा रहेको हो सोही स्थानकै नाम उल्लेख गर्नु वा हुन आवश्यक ठानी यो गाउँसभा खानीखोला गाउँपालिकाको केन्द्रको नाम ताल्ढुंगा हुने प्रस्ताव सर्वसम्मत पारित गर्दछु ।

१३. आवधिक योजनाः

खानीखोला गाउँपालिकाको भौतिक विकास, सामाजिक विकास, गरिबी निवारण एवम् आर्थिक विकासमा प्रत्यक्ष टेवा पुग्ने तपसिल बमोजिमका योजनाहरुलाई आवधिक योजनामा समावेश गरि आगामी तीन देखि पाँच बर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

तपसिलः

* खानीखोला गाउँपालिका केन्द्र ताल्ढुंगा देखि जिल्ला सदरमुकाम धुलिखेल र प्रदेश राजधानी जोड्ने खोपासी ताल्ढुंगा-भोर्लेनी-हेटौंडा सडक आगामी तीन वर्षमा सम्पन्न गर्ने ।

* खानीखोला गाउँपालिकाका सातै वडामा खानेपानीको समस्या समाधान गरी नागरिकलाई स्वच्छ खानेपानीको बन्दोबस्त गराउन प्रदेश सरकार, संघीय सरकार एवम् विभिन्न संघ संस्था सँग समन्वय गरी आगामी पाँच बर्षमा “खानीखोला सरकारको अभिभारा, नागरिकको घरमा एक घर एक धारा” सम्पन्न गर्ने ।

* यस पालिकाको नागरिकको आर्थिक जीवनलाई स्तोरोन्नती गर्न कृषि जन्य उत्पादनलाई मुख्य रुपले प्राथमिकिकरणगरी कफि खेति र पशु पालनमा विशेष अनुदानको कार्यक्रम मार्फत नागरिकको समृद्धि बनाउने लक्ष्यलाई आगामि पाँच बर्ष भित्र साठि प्रतिशत पुयाउने ।

* च्याल्टि-फलामेटार-ताल्लुटुंगा योजना तीन वर्ष भित्रमा सम्पन्न गर्ने ।

* खानीखोला कोरिडोर आगामी पाचँ वर्षमा सम्पन्न गर्ने।

* त्रिविणी-कोदोखोरिया-देउराली-ताल्ढुंगा सडक ट्रयाक खोली स्तरोन्नती तीन वर्ष भित्र गर्ने ।

* आगामी तिन बर्ष भित्र हात्तिछेडा-खजुलिलेक-बासँपुर-देउराली सडकको नयाँ ट्रयाक जोड्ने ।

* सुकुम-धाप्ले-महाँकाल सडक ट्रयाक खोली दुई वर्ष भित्र स्तरोन्नती गर्ने ।

* जुरे-बाङ्गे-धनमना सडक ट्रयाक खोली दुई वर्ष भित्र स्तरोन्नती गर्ने ।

* आहले-सानोभेसे-खिरौला-काफलडाँडा सडक आगामी पाच वर्षमा ट्याक खोल्ने ।

* सुकुमफेदीको दुर्लुङ खोलामा पुल निर्माण पाचँ बर्षमा गरि सक्ने ।

* ताल्ढुंगा-जोब्ला-आपटार-जगथली सडक दुई वर्ष भित्र स्तरोन्नती गर्ने ।

* बासँघारी-जगथली सडक ट्रयाक खोली दुई वर्ष भित्र स्तरोन्नती गर्ने ।

* आगामी तीन वर्ष भित्र गाउँपालिका प्रशासकीय भवन निर्माण गर्ने ।

* आगामी पाचँ वर्ष भित्र वडा नं. १, २, ६ र ७ मा वडा कार्यालय भवन बनाउने ।

* आगामी पाचँ वर्ष भित्र गाउँपालिका केन्द्र ताल्ढुंगा बजारलाई सहरिकरण गर्ने ।

* आगामी चार वर्ष भित्र खानीखोलामा एक सामुदायिक क्याम्पस स्थापना गर्ने ।

* आगामी पाचँ वर्ष भित्र खानीखोला ५ र ६ जोड्ने खानीखोलामा पक्की पुल निर्माण गर्ने ।

* आगामी पाच वर्ष भित्र खानीखोला र महांकाल जोड्ने दुर्लुङ खोलामा पक्की पुल निर्माण गर्ने ।

* आगामी पाचँ वर्ष भित्र खानीखोला वडा नं. २ बाहुनबिर्ता र फलामेटार जोड्ने मुल खोलामा पक्की पुल निर्माणगर्ने।

* आगामी पाच वर्ष भित्र खानीखोला वडा नं. ४ र महाभारत १ जोड्ने चाउ खोलामा पक्की पुल निर्माण गर्ने ।

* खानीखोला पर्यटकीय रिङरोड सम्भाव्यता अध्ययन गर्ने ।

१४. आदरणीय गाउँसभाका सदस्यज्यूहरु,

चालु वर्षको योजनाहरुको विस्तृत समिक्षा यहाँ प्रस्तुत गर्न सकिएन । निर्वाचनको दौरानमा सबै जनप्रतिनिधिहरु, कर्मचारीहरु, उपभोक्ता समितिमा रहनु भएका सदस्यहरु र आम जन समुदाय समेत झण्डै दुइ तीन महिना सम्म व्यस्त रहनाले कतिपय योजनाहरुलाई समयमा नै सम्पन्न गर्न र कतिपय योजनाहरु हाल तिव्र गतिमा सम्पन्नताको अन्तिम चरणमा रहेका छन। चालु आ.व. योजना तथा कार्यक्रमहरुको संक्षिप्त समिक्षाको प्रस्तुति पछि आगामी आर्थिक वर्ष २०७९।८० को लागि नेपालको स्थानीय सरकार सञ्चालन ऐन २०७४, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिगदर्शन २०७८, वडा भेलाबाट आएका विभिन्न सुझाव र कार्यक्रम, विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय आवधिक योजनाको मुल्य मान्यता र नेपाल सरकार तथा प्रदेश सरकार बाट प्राप्त बजेट सिलिङ एवम् मार्गदर्शन र गाउँपालिकाको गुरु योजना र जनता सँग निर्वाचनको समयमा गरेको प्रतिवद्धताको अधिनमा रही आगामी बर्ष २०७९।८० को नीति, कार्यक्रम तथा बजेट पेश गर्न गई रहेको छ । संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान, वित्तिय समानिकरण अनुदान, समपुरक अनुदान, राजश्वबाट प्राप्त हुने अनुदान र आन्तरिक श्रोत नै हाम्रा बजेट निर्माणका मुख्य आधारहरु हुन । आ.व. २०७९।८० का लागि वार्षिक नीति तथा कार्यक्रम कार्यन्वन गर्न रु. ४७,०४,७०,००० ।-अनुमानित बजेट पेश गरिएको छ ।

१५. आर्थिक विकासः

नेपालका सबै निर्वाचित निकाय एवंम राजनितीकर्मिहरुले आर्थिक समृद्धि विषयलाई आफ्नो प्रमुख एजेण्डाको रुपमा प्रस्तुत गरि गरिरहेको कुरा हामीमा सर्व विदितै छ तर समृद्धिको आधार समृद्धिको खाका र समृद्धि सम्बन्धी ठोस योजना बन्न नसक्दा फेरी समृद्धि केवल राजनीतिक एवंम चुनावी भाषणको मिठो शब्द बाहेक केही बन्न नसकेकको आजको तितो यथार्थ हो तसर्थ खानीखोलाको आर्थिक जीवनलाई माथि उठाउने सन्दर्भमा खानीखोला सरकारले आफ्नो ध्यान मूख्य रुपमा केन्द्रित गर्न चाहि रहेको छ जसको निम्ति तपसिल बमोजिमको नीति लिइएको छ ।

तपसिलः

१५.१. कृषिः

* “समृद्धिको आधार, कृषिमा सुधार” भन्ने नाराका साथ यस पालिकामा रहेका परम्परागत तथा निर्वाहमुखि

खेती प्रणालीलाई निरुत्साहित गर्दै सम्पूर्ण खानीखोला वासी किसानहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गराउनका लागि जोड दिइनेछ र यस्ता कृयाकलापका लागि प्रारम्भिक चरणमा वडा स्तरीय अभिमुखिकरणतालिमहरुको व्यवस्था मिलाइनेछ ।

* यस पालिका भित्रको उत्पादन कार्यलाई प्राभवकारी तुल्याउनको लागि पालिका स्तरिय “एक वडा, एक उत्पादन” गर्ने सो को लागि “एक वडामा, एक कृषि प्राविधिक” को व्यवस्था मिलाइनेछ ।

* यस पालिकाको प्रमुख उत्पादनको रुपमा रहेको कफि खेतीलाई खानीखोलाको मुख्य नगदी बालीको स्तरमा विकास गरी “कफिमा जसको उत्पादन, उसैलाई अनुदान” कार्यक्रम सञ्चालन गरिनेछ र आम कफिउत्पादन गर्ने कृषकहरुलाई सहकारीमा आवद्ध गराई उत्पादन कार्यमा सहकारी नीति लागू गरिनेछ ।

* खानीखोला गाउँपालिका भित्र कफि पकेट क्षेत्रको रुपमा थप विकास र वृद्धि गरिनेछ ।

* कृषि तथा पशुपंक्षि तथ्याङ्क अधावधिक गरि किसान सूचिकरणलाई व्यवस्थित गरिदै लगिनेछ ।

* रैथाने बालि संरक्षणमा जोड दिइनेछ ।

* गाउँपालिकाको केन्द्रमा किसानहरुद्वारा उत्पादित बस्तुहरुलाई व्यवस्थित एवंम बजारीकरण गर्नको लागि एक कृषि हाट बजार स्थापन गरी सञ्चालनमा ल्याइनेछ ।

* किसानहरुलाई कृषि सहकार्य समूह र सहकारीमा संगठित गरी उपलब्ध खेतीयोग्य जमीनका साथै बाँझो जमीनको उपयोग गरी कृषि उत्पादन (कागती र खएर) बढाउने कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।

* गाउँपालिकाको बेरोजगार यूवाहरुलाई रोजगार सेवा केन्द्रमा सूचिकृत गरी बेरोजगार युवाहरुमध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी सृजना गरिनेछ ।

* पालिका भित्रका विकेन्द्रिकित एवम अनुउत्पादित क्षेत्रमा छरिएका श्रम शक्तिलाई उत्पादन क्षेत्रमा जोड्नकोलागि श्रम सहकारी स्थापना गरिनेछ ।

* पालिका भित्र लगानी गर्न चाहने हरेक नागरिक, कम्पनी, समुह, सहकारीहरुलाई आवश्यक सहजीकरणको नीति अवलम्बन गरिनेछ ।

१५.२. पशुपन्छीः

* खानीखोला गाउँपालिकामा पशु पालन क्षेत्रमा भैसी तथा बाख्रा पालनको लागि अति अनुकुल वातावरण भएकोले दुध र मासु उत्पादनमा कार्यविधि निर्माण गरी अनुदान मार्फत प्रोत्साहन गरिनेछ ।

* पशु उपचारलाई भरपर्दो बनाउन आधुनिक औजार उपकरण व्यवस्था गरिनेछ ।

* “एक पालिका, एक भेटेरीनरी डाक्टर”, “एक वडा, एक पशु प्राविधिक” कार्यक्रम सञ्चालन गरिनेछ ।

* दुध उत्पादक किसानलाई कार्यविधि निर्माण गरी प्रति लिटर रु. २ को दरले अनुदानको व्यवस्था मिलाइनेछ।

* कृषि एवम् पशुपन्छी सम्बन्धि कार्यक्रमलाई सहकारी र समूह मार्फत सञ्चालन गर्ने कार्यमा जोड दिइनेछ।

* किसान सँग प्रत्यक्ष ५० प्रतिशत साझेदारीमा भैंसी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

* खानीखोला गाउँपालिकामा माछा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ र पशु विमा कार्यक्रमलाई विकास र विस्तार गरि, बाखा पकेट कार्यक्रमलाई निरन्तरता दिइनेछ । साथै पशु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिनेछ र औषधी र खोप सेवालाई प्रभावकारी बनाइनेछ र व्यवसायिक रुपमा पशु पालन गर्ने किसानलाई कार्यविधि निर्माण गरी अनुदानको व्यवस्था गरिनेछ ।

* मासु फ्रेस हाउस/कोल्ड स्टोर स्थापनका लागि अनुदानको व्यवस्था मिलाइनेछ ।

* पशु नश्ल सुधारका कार्यक्रम सञ्चालन गरिनेछ र पशुपन्छी तथा मत्स्यपालनका लागि आवश्यक उन्नत नश्ल, माछाका भुरा, उन्नत घाँसका बिउ बेर्ना, दाना, औषधी, खोप लगायतका समाग्रिहरु लगायतको प्रवन्ध मिलाइनेछ ।

१५.३. सिचाई:

* खानीखोला गाउँपालिकाका कृषि योग्य जमिन तथा फाँटहरुमा अनिवार्य सिचाईको व्यवस्था गरिनेछ ।

भाङटारबेसी, फलामेटार, धार्ने, जगथली, आपटार, बेलटार, महादेवटार, महाकाल, बोरनबेसी, ताल्ढंगा, आपटार, हात्तीसार, माझीटार, सतिघाट, बाहुनविर्ता, बलदेव जस्ता फाँटहरुमा सिचाईको उचित प्रवन्ध मिलाइनेछ ।

 १५.४. उद्योग, व्यपार तथा व्यवसायः

* जडिबुटी प्रसोधन (काष्ठ र गैरकाष्ठ) उद्योग स्थापना गरिनेछ ।

* दुध तथा दुध जन्य पदार्थको उत्पादनलाई केन्द्रित गर्न उद्योग स्थापना गरीनुका साथै कार्यविधि निर्माण गरी साना उद्योगलाई प्रोत्साहन अनुदानको व्यवस्था मिलाइनेछ ।

* पालिकाहरुमा नेपाल सरकारले कार्यान्वयन गर्ने लघुउद्यम विकास कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन र पालिकाको समेत लगानी सहभागिता बढाइनेछ ।

* परम्परागत सीप र क्षमतामा आधारित उद्योग संचालन गरी ‘कोशेली घर’ को संचालन र प्रवर्द्धन गरिनेछ  ।

* विभिन्न रोजगारमा रहनु हुने गाउँ भित्र, बाहिर, बिदेशमा रहनुहुने साथै खानीखोलामा जन्मनु भएका हालअन्यत्र बसाईसराई गरी जानु भएका खानीखोलालाई माया गर्नुहुने सबैलाई केहि व्यवसाय गर्न र व्यवसाय नभएमा लगानी गरीदिन आग्रह गर्दै सामुहिक लगानीबाट सम्बृद्ध भित्रिने छ भन्ने कार्यलाई प्राथमिकता दिदै सम्मान गर्ने कार्यको थालनी गरिनेछ ।

१५.५. पर्यटन तथा संस्कृतिः

* गाउँपालिका भित्रका सम्पूर्ण संस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धनमा जोड दिइनेछ साथै भाषा, कला, संस्कृति तथा धर्म संरक्षणका लागि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । साथै भाषा, कला, साहित्य तथा संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक तालिम, प्रतियोगितात्मक सोध तथा कार्यशाला कार्यक्रमहरु अगाडि बढाइनेछ ।

* गाउँपालिका भित्र भएका ऐतिहासिक, पुरातात्विक, धार्मिक, पर्यटकिय सम्पदा, मठ मन्दिर, गुम्बा, पाटी,पौवा, सतल, कुवा पधेरो, अन्तिम दाह संस्कार गर्ने घाट जस्ता सम्पदाहरुको पुर्ननिर्माण तथा संरक्षण गरिनेछ।

* तामाङ सामुदायको संस्कृति सँग जोडिएको अत्याधिक लोकप्रिय बाजा डम्फु र सो डम्फुको नाम सँग जोडिएको पेङदोर्जेको प्रतिमा सहितको पहिचान झल्किने गरि पेङदोर्जे डम्फु पार्क निर्माण गरिनेछ ।

* यस खानीखोला गाउँपालिकाबाट दस बर्षे जनयुद्धको क्रममा विभिन्न स्थानमा पुगि सहादत प्राप्त गर्नु भएका १६ जना महान सहिदहरुको स्मृतिमा एक सहिद पार्क निर्माण गरिनेछ ।

* गाउँपालिका भित्र भिमसेन स्थानमा भिमसेनको मन्दिर स्थापना गरिनेछ र लाप्चेको चमेरो गुफा (अर्विन्द गुफा) संरक्षण तथा प्रवर्द्धन गरिनेछ ।

* पालिका क्षेत्रमा मनाइने जात्रा, मेला उत्सवलगायत स्थानीय पर्वहरुको प्रवर्द्धनका लागि फोटो प्रदर्शनी, प्रचार बोर्ड, क्यालेण्डर निर्माण गरी संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने कार्यक्रम तर्जुमा गरिनेछ ।

* जनसंख्या, भूगोल र सामुदायिक प्रभावलाई मुल्याङ्कन गरी पालिकास्तरीय पर्व विदा घोषणा गरिनेछ ।

* खानीखोलाको नागरिकहरुको सांस्कृतिक मुल्य, मान्यता र जागरणलाई संवोधन गर्ने गरी दशै महोत्सव रल्होसार महत्सव आयोजना गरिनेछ । र यहाँ रहेका सबै समुदायको भाषा, संस्कृति, धर्मको पहिचान झल्कने गतिविधिहरुको संरक्षण गर्नुका साथै प्रवर्द्धन गरिनेछ ।

१५.६. भूमि व्यवस्था, सहकारी तथा वित्तिय सेवाः

* साना मझौला उद्यम व्यवसायद्वारा रोजगारीको सृजना गर्न प्रोत्साहित गरिनेछ यसका लागि नेपाल सरकारको “टोलटोलमा सहकारी, घर घरमा रोजगारीको” कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । ।

* प्राकृतिक भ्यू प्वाइन्ट थुम्कीलाई पहिचान सहितको प्रचार प्रसार गरिनेछ ।

* गाउँपालिका भित्रका सहकारीहरुलाई आफ्नो जिम्मेवारी र कार्यक्षेत्रमा सबल र सक्षम बनाउन र नियमन गरी प्रभावकारीताका साथ सञ्चालनमा ल्याउन प्रोत्साहित गरिनेछ ।

* यस पालिकामा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने कार्यको लागि एक सेवा केन्द्र स्थापना गरिनेछ ।

* पालिकास्तरमा रहेका सहकारी संस्थाको किसिम छुट्याई अभिलेखिकरण गरिनेछ ।

* गैरसरकारी संस्थाले पालिकामा सञ्चालन गर्ने कार्यक्रमहरु अनिवार्य रुपमा प्रस्तावका रुपमा पेश गर्नुपर्नेछ । गैरसरकारी संस्थाबाट प्रस्तावित कार्यक्रमको आवश्यकता र औचित्य पुष्टि भएमा मात्र स्वीकृत प्रदान गरिनेछ ।

* पालिकाबाट स्वीकृत गैर सरकारी संस्थाको कार्यक्रमको लागत, लाभान्वित समूह, क्षेत्र, बजेट, योजनाका कार्यान्वयन तालिका, परियोजना संचालन अवधि समेत खुल्ने गरी संस्थाको फोकल पर्सनको नाम, सम्पर्क नम्बर सहितको योजना बोर्ड पालिकामा अनिवार्य राख्न लगाइनेछ ।

१५.७. श्रम, रोजगारी तथा गरिबि निवारणः

* “एक वडा, एक पकेट । ब्लक” उत्पादन क्षेत्र घोषणा गरी उत्पादनको लागि लगानीको वातावरण सृजना गरिनेछ ।

* यहाँको आर्थिक विकासको स्रोत र सम्भाव्यताको मुल पक्ष भनेकै कफि र पशुपालन क्षेत्र रहेको भन्ने कुरा पहिचानित भइ सकेकोले कफि र पशुपालन तर्फ आम नागरिकलाई प्रोत्साहित गरि यसमा उद्यमशिल बनाउने र गाउँपालिकाले उत्पादनको मुल क्षेत्र कफि र पशुपालनलाई नै ठानेर विशेष अनुदानको व्यवस्था गरिनेछ।

* खानीखोलाको अथाह जडिबुटीलाई उत्पादन तथा संकलन गरी जडिबुटी सहकारी मार्फत परिचालन गरिनेछ र खानीखोला गाउँपालिका स्तरिय जडिबुटी केन्द्र स्थापना गरी आर्थिक स्रोतको माध्यम बनाइनेछ ।

* खानीखोलाको गाउँपालिका केन्द्र रहेको बस्ती ताल्ढुंगा स्वयम ताल्ढुंगा भन्ने एक ऐतिहासिक ढुंगाबाट बनेको र छुट्टै परिचय बोकेको तथ्यलाई थप स्थापित गर्न र सोही मार्फत ताल्ढुंगाको सौन्दर्य र पर्यटन विकासको सम्भावना रहेको अवस्थालाई “One Day, Taaldhunga Stay” कार्यक्रम मार्फत पर्यटन विकास गरिनेछ ।

* खानीखोला गाउँपालिकाको सम्पूर्ण नागरिकद्वारा उत्पादित हरेक वस्तुलाई व्यवस्थित रुपले बजारीकरण गर्न एक स्थानीय उत्पादन खरिद विक्री तथा संकलन केन्द्र स्थापना गरिनेछ ।

* खानीखोला आफै खानी नै खानी भएको भुगोलको नाम हो यहाँ तामाखानी, फलामखानी, चुनखानीको सम्भाव्यता सम्बन्धी प्रारम्भिक अध्ययन भइ सकेको छ यसर्थ यहाँको खानीलाई उत्खनन् गरि निर्यात गर्न सकेमा यहाको आर्थिक विकासको लागि ठुलो मद्दत पुग्ने हुनाले सो सम्बन्धी योजना बनाई कार्यान्वयन गर्न पहल गरिनेछ ।

* गाउँपालिका स्तरमा एक स-मिल खोल्न प्रोत्साहित गरिनेछ ।

* वातावरणीय प्रभाव मूल्याङ्कन गरी गाउँपालिका भित्र क्रसर उद्योग स्थापना गर्ने व्यवसायलाई प्रोत्साहन गरिनेछ।

* खानीखोला बाहिर स्वदेश तथा बिदेशमा रहेको युवाहरुलाई गाउँमा नै श्रम गर्ने उत्पादन बढाउने र रोजगारीको अवसर सृजना गर्ने कार्यलाई अघि बढाइनेछ ।

* गरिब घर परिवारको एकिकृत सूचनाको लागि गरिब घर परिवार सूचना प्रणाली निर्माण गरी गरिब परिचयपत्र वितरण गरिनेछ र पालिकाका सबै कार्यक्रममा गरिब लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनेछ ।

* बैदेशिक रोजगारबाट फर्केका नागरिकहरुलाई उनीहरुले आर्जन गरेको अनुभव, सीप र पूजी लगानी गरी उत्पादन र स्वरोजगार क्षेत्रमा काम गर्न प्रोत्साहन गरिनुका साथै बहुउद्देश्य तालिम मार्फत उत्पादन मुलक कार्यक्रमहरु लागू गरिनेछ ।

१६. सामाजिक विकासः

१६.१. स्वास्थ्य तथा पोषणः

* खानीखोला गाउँपालिकाको केन्द्रमा निर्माणाधिन अवस्थामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन छिटै सम्पन्न गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायहरु सँग पहल गरिनेछ ।

* खानीखोला गाउँपालिकाका सबै वडाहरुमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण गरिनेछ । साथै स्वास्थ्य चौकी स्थापना हुन बाकी रहेको वडा नं. १ र ३ मा यथाशिघ्र स्वास्थ्य चौकी स्थापना गरी सेवा आरम्भगर्नका लागि जोड दिइनेछ ।

* गाउँपालिकाका जेष्ठ नागरिक, आपाङ्गता भएका, एकल महिला, शहिद परिवार, द्वन्द्वका कारण घाइतेहरुको निःशुल्क स्वास्थ्य वीमा गरिनेछ । साथै अन्य नागरिकहरुलाई पनि स्वास्थ्य वीमाको लागि पहल गरिनेछ

* खानीखोला गाउँपालिकाका अति विपन्न तथा असहायहरुको स्वास्थ्य उपचारको लागि विपन्न तथा असहाय कोष स्थापना गर्न कार्यविधि बनाई उचित व्यवस्था मिलाइनेछ ।

* खानीखोलामा बालबालिका, वृद्ध-वृद्धा तथा सुत्केरीहरुको स्वास्थ्य अवस्था बुझ्नका लागि स्वास्थ्य घुम्ती टोली गठन गरी प्रत्येक १/१ महिनामा सेवा सुचारु गरिनेछ ।

* “औषधी घटाऔ, निरोगिता बढाऔ’ भन्ने नारा अन्तर्गत रही गाउँपालिकामा पोषण युक्त खानपान आदि सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।

* “योगा गरौ, रोग हटाऔ” भन्ने नारा अन्तर्गत रहि सम्पूर्ण गाउँपालिका नागरिकहरुलाई योगामा प्रेरित गरिनेछ र गाउँपालिकामा सम्भव भएको स्थानमा योगालय स्थापना गरी योगा प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।

* बर्षमा दुई पटक गाउँपालिका स्तरीय एकिकृत स्वास्थ्य सिविर सञ्चालन गरिनेछ ।

* गाउँपालिका स्तरीय हेल्थ प्रोफाइल (Health Profile) मार्फत स्वास्थ्य सँग सम्बन्धित तथ्याङ्क तयार गरीनियमित अभिलेखिकरण गरिनेछ ।

* गाउँपालिकामा एक आयुर्वेदिक औषधालय स्थापना गर्नका लागि पहल गरिनेछ ।

* यस गाउँपालिकामा सुत्केरी महिलाहरुको लागि निःशुल्क एम्बुलेन्सको प्रवन्ध मिलाइनेछ ।

* यस गाउँपालिकामा रहेका ६ महिना देखि २ वर्ष सम्मका वालवालिकाको लागि पोषण युक्त आहारको व्यवस्था मिलाइनेछ ।

* महंगो स्वास्थ्य सेवाका कारण सामान्य व्यक्तिको पहुँच बाहिर रहेको मुटु, मृगौला लगायत अन्य घातक रोगको उपचारमा पालिका वासिलाई सहायता उपलब्ध गराउन आवश्यक कार्यविधि बनाई पालिका नागरिक सहायता कोष स्थापना गरिनेछ । कोषलाई बृहत बनाउनको लागि, संघ संस्थाहरुले समेत सहकार्य गरिने नीति ल्याइनेछ ।

१६.२. शिक्षा, भाषा, कला तथा साहित्यः

* खानीखोला गाउँपालिका शिक्षा तथा शिक्षण कार्यलाई व्यवस्थित बनाउन शिक्षा ऐन तथा कार्यविधि र निर्देशिकाहरु तयारी गरी कार्यान्वयन गरिनेछ र सोही बमोजिमको समितिहरु गठन गरी परिचालन गरिनेछ।

* कक्षा ८ को परिक्षालाई पालिका स्तरिय परीक्षाको रुपमा सञ्चालन गरिनेछ र कक्षा ८ को परीक्षालाई होमसेन्टर विहिन बनाइ र उत्तर पुस्तिका परीक्षणमा कोडिङ र डि-कोडिङ विधि अपनाइने छ ।

* शिक्षण प्रकृयालाई प्रविधिमैत्री बनाउन आगामी दुई वर्ष भित्र प्रत्येक विद्यालयमा इन्टरनेटको पहुँच पुयाइनेछ।

* खानीखोलाको शैक्षिक सुधार सम्बन्धी विषेश योजना बनाइनेछ साथै निरन्तर पुर्नताजगि तालिम, गोष्ठी तथा बैठकहरु मार्फत शिक्षण कार्यको अनुगमन, विकास विस्तार र प्रगतिको समिक्षा गरी योजना निर्माण गरिनेछ।

* यस गाउँपालिकामा रहेका स्थायी, करार शिक्षक र गाउँपालिकाको स्रोत अन्तर्गत रहेको शिक्षकहरुको समेत विवरण तयार गरी विद्यार्थी संख्या, आवश्यकता र औचित्यको आधारमा शिक्षकहरुको पुर्नवितरण गरिनेछ र गाउँपालिकामा स्वंयसेवक शिक्षकको व्यवस्थाको लागि कार्यविधि निर्माण गरी व्यवस्थापन गरिनेछ ।

* बालबालिकाहरुको प्रारम्भिक शिक्षण बाल विकास केन्द्रबाट हुने भएकोले यसलाई प्रभावकारी रुपमा सञ्चालनगर्नको निम्ति विशेष योजना बनाइनेछ र आवश्यकता अनुसार यसको पुनरावलोकन र विस्तार गरिनेछ ।

* गाउँपालिका स्तरबाटै शिक्षक र विद्यार्थीहरुलाई प्रोत्साहान दिने कार्यक्रम बनाइनेछ । आगामी दुई बर्ष भित्रमा खानीखोला गाउँपालिकामा एक सामुदायिक क्याम्पस स्थापना गरिनेछ र सम्भाव्यता अध्ययन गरी प्राविधिक शिक्षालय स्थापना गरिनेछ ।

* नेपाल सरकार र प्रादेशिक सरकारको नमुना विद्यालयको अवधारणालाई यस पालिकामा सुचकहरु तयार गरी कार्यन्वयनमा ल्याइनेछ ।

* शैक्षिक गतिविधिलाई एकरुपतामा ल्याउन शैक्षिक क्यालेन्डर निर्माण गरी कार्यन्वयन गरिनेछ ।

* यस पालिकामा रहेको असाहाय, टुहुरा र अनाथ बालबालिकाहरुको पहिचान गरी उनीहरुको शिक्षणलाई व्यवस्थित बनाउन गाउँपालिका भित्रको कुनै एक विद्यालयमा आवशिय शिक्षणको व्यवस्था मिलाइनेछ ।

* गाउँपालिकाका अल्पसंख्यक र दलित समुदायका SEE मा सर्वोत्कृष्ट ल्याउने एक छात्र र एक छात्रालाई स्नातक तह सम्म निःशुल्क शिक्षाको लागि व्यवस्था मिलाइनेछ ।

* परम्परागत संस्कृतिक जगेर्ना गर्ने जस्तै डम्फुनाच (तामाङमा), मारुनी नाचें (मगरमा), खैजेडी नाच (खसआर्यमा), भजन कृतन मण्डली आदि संरक्षणका लागि न्यूनतम रकमको व्यवस्था गरिनेछ साथै मठ मन्दिर, गुम्वा चैत्य, समाधिघाट आदि संरक्षण तथा निर्माण गरिनेछ ।

* खानीखोला गाउँपालिकाको स्थानीय पाठ्यक्रममा स्थानीय भाषालाई समावेश गरी कक्षा सञ्चालनमा ल्याइनेछ।

* विद्यालयका शिक्षण कार्यलाई गुणस्तरिय परिणाममुखी बनाउन गाउँपालिका शिक्षा शाखा र सबै विद्यालयका प्रधानाध्यापक सँग कार्य सम्पादन करार गरिनेछ ।

* आगामी पाचँ बर्ष भित्रमा पालिका भित्रका सबै विद्यालहरुको सुविधा सम्पन्न भवन बनाइनेछ ।

* यस गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार एवम शैक्षिक अनुशन्धानत्मक कार्यका लागि काठमाडौं विश्व विद्यालय लगायत संघ, प्रदेश र जिल्ला स्तर अन्तर्गतका उत्कृष्ट शिक्षण संस्थाहरुसँग सहकार्य गरिनेछ ।

* यस गाउँपालिका भित्रका आई सि टी ICT) कक्षालाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याइनेछ । साथै गाउँपालिका भित्र कुनै एक विद्यालयबाट इ-लर्निङ (E-Learning) कक्षा सञ्चालनको आरम्भ गरिनेछ ।

* गाउँपालिका भित्रका सबै विद्यालयका वालवालिकाहरुको सर्वाङ्गिण विकासका लागि गाउँपालिका स्तरिय विभिन्न खालका अतिरिक्त कृयाकलापहरु सञ्चालनमा ल्याइनेछ ।

* गाउँपालिकाको बालबालिकाको शिक्षाको स्तर वृद्धि गर्न अभिभावक शिक्षा, सचेतना र अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

* स्थानीय तहमा भएका भाषा, कला, साहित्य र सृजनाका अनेक क्षेत्रलाई संरक्षण एवम समबुद्धन गरिनेछ । साथै खानीखोला गाउँपालिकाबाट राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यक्ति एवम व्यक्तित्वलाई खानीखोला प्रतिभा सम्मान पुरस्कार द्वारा अभिनन्दन गरिनेछ साथै पालिका भित्र नियमित रुपले कला साहित्यको जगर्णा गर्ने उद्देश्यले विभिन्न किसिमका सृजनात्मक कृयाकलापहरु आयोजना गरिनेछ ।

* शैक्षिकस्तर उकास्न प्रवर्द्धन हुने किसिमका कार्यक्रमहरु (छात्रवृत्ति, पढ्दै कमाउँदै) सञ्चालनका लागि पालिकाले कार्यक्रम तर्जुमा गरिनेछ ।

* सामुदायिक विद्यालयहरुको गुणस्तर अभिबृद्धिको लागि ICT ल्याव विज्ञान प्रयोगशाला र विषयगत प्रयोगशालासबै विद्यालयमा सञ्चालन गर्न आवश्यक समन्वय गर्ने नीति लिइनेछ ।

१६.३. खानेपानी तथा सरसफाईः

* खानीखोला गाउँपालिका भरीका बस्तिहरुमा रहेको खानेपानीको अव्यवस्था र अभावलाई पुर्ति गर्ने नीति बनाइ आगामी पाँच बर्ष भित्र खानीखोला सरकारको अभिभारा “एक घर, एक धारा” कार्यक्रम लागु गरिनेछ।

* खानेपानीको समस्या भएका गाउँपालिकाको सबै ठाउँमा बृहत खानेपानी आयोजना मार्फत खानेपानीकोव्यवस्था गरिनेछ । साना आयोजना खानेपानी निर्माणलाई प्राथमिकतामा राखि उचित बजेट बिनियोजन गरिनेछ ।

* बासँघारी लिफ्ट खानेपानी तथा मिल्चे लिफ्ट खानेपानी योजनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिनेछ ।

* खानेपानीको लागि (NEWAH) संस्था सँग सहकार्य गरी साझेदारीमा योजना कार्यान्वयन गर्न सम्झौता बमोजिम कार्य गरिनेछ ।

* सबभन्दा बढि खानेपानीको समस्या रहेको वडाहरुमा खानेपानी व्यवस्थित गर्नका लागि लिफटिङ खानेपानीकोसम्भाव्यता अध्ययन गरी कार्यन्वयन गरिनेछ ।

१६.४. महिला, बालबालिका तथा सामाजिक समावेशिकरण

* महिला सशक्तिकरण तथा नेतृत्व विकास, महिला उद्यमशिलता तथा सिप विकास, लैङगिक हिंसा न्युनिकरण,बालबिवाह अन्त्य तथा अपाङ्गता पुनउत्थानका कार्यक्रमहरु सञ्चालन गराइनेछ ।

* सहिद स्मृति पार्क, जनयुद्धका सहिद, घाइते परिवारलाई स्वास्थ्य वीमा, जनयुद्धका सहिद तथा घाइते परिवारलाई रोजगारीको अवस्था सृजना गराइनेछ ।

* महिला अधिकार, कर्तव्य र उत्तरदायी क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ । * “समृद्ध महिला, उन्नत पालिका” नारालाई सार्थक बनाउन महिला उद्यमी निर्माण सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।

* बालअधिकार, बालश्रम र बालमैत्री केन्द्रित विकासलाई प्रोत्साहन र कार्यन्वयन गरिनेछ ।

* अपाङ्गता भएकालाई सीप, अवसर र सहयोगी सामाग्री सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।

* अपाङ्गता परिचयपत्र वितरण, सामाजिक सुरक्षामा आवद्धता लगायतका कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिनेछ ।

* ज्येष्ठ नागरिकहरुको लागि पूर्णकालिन वा दिवा सेवाकेन्द्रहरु स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।

* महिला, बालबालिका, एकल महिला, अपाङ्गता, ज्येष्ठ नागरिक आदिको वार्षिक तथ्याङ्क व्यवस्थापन तथा अद्यावधिक गरिनेछ ।

* ज्येष्ठ नागरिक विश्रम स्थल चौतारो निर्माण र प्रवर्द्धन गरिनेछ ।

* पालिका भरिका परम्परागत सीपलाई आधुनिकीकरण गर्नका लागि प्रोत्साहन गरिनेछ ।

* बालमैत्री स्थानीय शासनको सुचकहरुलाई सहयोग पुग्ने कार्यक्रमहरु तय गर्दै आ.व २०७९ । ८० बाट पूर्ण रुपमा बालमैत्री बनाउने नीतिलाई प्राथमिकताका साथ कार्यन्वयन गरिनेछ ।

* प्रत्येक वडा र विद्यालयम बालमैत्री शासनको अवधारणा अनुरुप बाल क्लबहरु तथा बालक्लब संजाल गठन गरिनेछ । साथै सबै माध्यमिक विद्यालयमा विद्यार्थी संचालित सामुहिक कोष सञ्चालन ल्याइने छ ।

 १६.५. युवा, खेलकुद तथा नवप्रवर्तनः

* “युवालाई रोजगार, समृद्धिको आधार” भन्ने उक्तिलाई मुलमन्त्र ठानेर आफूमा भएको स्रोत साधनलाईउपयोग गर्दै उद्यमशिलताको विकास गरिनेछ ।

* गाउँपालिका स्तरीय एक रङ्गशाला निर्माणका लागि संघ र प्रादेशिक सरकार सँग समन्वय गरी आवश्यक नीति निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।

* एक वडा एक खेलमैदान निर्माण गरिनेछ ।

* गाउँपालिकाले खेलकुद सम्बन्धी नीति निर्माण गरी पालिका भित्रका खेलकुद गतिविधिलाई व्यवस्थितबनाउदै लगिनेछ ।

* “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने राष्ट्र नारालाई अनुसरण गर्दै यस क्षेत्रको विकास मार्फत व्यक्तिलाई अनुशासित र मर्यादित बनाउदै समग्र समाजलाई एक ढिक्का बनाउनका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।

* पालिका स्तरिय अध्यक्ष कप खेलकुद प्रतियोगिताको व्यवस्था गरिनेछ ।

१६.६. सामाजिक सुरक्षा तथा पञ्जिकरणः

* सामाजिक सुरक्षा भत्ता वितरणमा भएको जटिलतालाई सरलिकृत गर्न आवश्यक पहल गरिनेछ ।

* गाउँपालिकाको हरेक वडामा घटना दर्ता सम्बन्धीका घुम्ति शिवर सञ्चालन गरी सचेतना अभिवृद्दी गरिनेछ।

१७. पूर्वाधार विकासः

१७.१. भवन, आवास तथा वस्ती विकासः

* गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यको लागि सम्बन्धित निकाय सँग विशेष पहल गरी बाँकी रहेका कामकार्वाहीहरुलाई अगाडी बढाई सो निर्माण कार्य सम्पन्न गर्ने प्रवन्ध मिलाइनेछ । र बाँकी वडा भवन निर्माण गर्न जि.स.स. सँग समन्वय गरी भवन निर्माण कार्यलाई आगामी पाचँ बर्ष भित्र पूर्णता दिइनेछ।

* गाउँपालिकाको केन्द्र ताल्ढुंगा बजारलाई नमुना शहरको रुपमा विकास गर्ने योजना बनाइनेछ । साथै पालिकाको शहर बिकासको सम्भावना बोकेको जगथली, महांकाल र फलामेटारको पनि सम्भाव्यता अध्ययन गर्ने प्रकृया अघि बढाइनेछ ।

* गाउँपालिका क्षेत्र भित्र रहेका ऐलानी पर्ती जग्गाको अभिलेखिकरण गरिनेछ । यस किसिमको जग्गाको संरक्षण र उचित प्रयोगमा पहल गरिने छ ।

* साबिक नापी हुँदा आलि, कान्ला कटाई नापिएका चारकिल्ला कायम भएको जग्गाहरुलाई छुट जग्गाको रुपमा वर्गिकरण गरी जग्गाको आधारमा जग्गा धनी प्रमाण पुर्जाको व्यवस्था गर्ने नीतिलाई अगाडि बढाइनेछ ।प्रमाणित नहुने ऐलानी पर्ती जग्गा प्रयोग गर्नु भएको हकमा आयोगमा समन्वय गरिनेछ ।

१७.२. सडक, पुल तथा यातायातः

* आगामी तीन बर्ष भित्र सबै वडाको केन्द्रमा बाहै महिना यातायात सञ्चालन हुने गरी पूर्वाधारको निर्माण गरिनेछ ।

* जिल्ला सदरमुकाम देखि पालिका केन्द्रका साथै ताल्ढुंगा हुँदै प्रदेश राजधानी हेटौंडा सम्म जोड्ने सडक ढलान तथा कालोपत्र गरिनेछ ।

* बाहुनबिर्ता, धार्ने, सतिघाट, महाभारत जोड्ने चाउ खोला, ललितपुर जोड्ने दुर्लुङ खोला, खानीखोला, धनमनाबेसी कुपिनटार सुकुम फेदीको दुर्लुङ खोलामा पक्की पुल निर्माणको लागि संघ र प्रदेश सँग समन्वय गरी आगामी पाँच बर्ष भित्र पक्की पुल निर्माण गरिनेछ ।

* आगामी तीन वर्ष भित्र सडक सञ्जालले नजोडिएका बस्तीहरुमा सडक सञ्जाल सँग जोड्ने व्यवस्था मिलाइनेछ हाल सम्म खोलिएका ट्रयाकहरुको ग्रेड सुधार, मोड सुधार, नाला निर्माण तथा ग्रारावेलिङ गरि स्तरोन्नती गरिनेछ साथै नयाँ ट्रयाकहरु खोलिनेछ ।

* काठमाडौं पशुपतिनाथ, काभ्रेको पनौती, खानीखोला गाउँपालिका हुँदै जनकपुरधाम सम्म जोड्ने धार्मिक एवंम राष्ट्रिय लोकमार्ग निर्माणको निम्ति बिशेष पहल गरिनेछ ।

* खानीखोला गाउँपालिकाको पहिचान बोक्ने र धेरै भन्दा धेरै बस्तीलाई समेट्ने खानीखोला कोरिडोरलाई खानीखोलाको मेरुदण्ड सडकको रुपमा विस्तार एवंम विकास गरि प्रदेश राजधानी हेटौडा सम्म जोडिनेछ ।

* पालिका भित्रका अन्तर वडा र अन्तर पालिका जोड्ने सडकको पहिचान गरी प्राथमिकता निर्धारण सहितसडक गरुयोजना निर्माण गरिनेछ ।

* गाउँपालिका भित्रका झो.पु. निर्माण गर्न आवश्यक स्थानहरुमा आगामी पाँच बर्ष भित्रमा झो.पु. निर्माण गरिनेछ ।

* सडक एवंम अन्य पूर्वाधारको क्षेत्रमा आवधिक योजना निर्माण गरी संघ र प्रदेश सँग समपुरक बजेटको व्यवस्था गर्ने कार्यलाई जोड दिइनेछ ।

* नयाँ सडक ट्रयाक खन्दा अनिवार्य रुपमा वातावरणीय प्रभाव मुल्याङ्कन गरेर मात्र गरिनेछ ।

* सडक छेउछाउमा वृक्षारोपणका नीति लिइ कार्यक्रम समेत निर्माण र कार्यान्वयन गरिनेछ ।

* गाउँपालिका स्तरका ठूला आयोजनाहरु निर्माण गर्दा सम्भाव्यता अध्ययन प्रतिवेदन डिपिआर तयार पारी मात्र सञ्चालन गरिनेछ ।

* हाल सञ्चालनमा रहेको झोलुङ्गे पुलहरुको मर्मत सम्भार गर्ने आवश्यकताको पहिचान गरी थप स्थानमा झो.प. तथा मोटरएवल पुलहरुको निर्माण कार्यलाई अगाडि बढाइने छ ।

१७.३. जलस्रोत तथा उर्जाः

* जलवायु परिवर्तन न्युनिकरणका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्न अन्तरपालिका तथा अन्तर संस्था साझेदारी कार्यक्रम ल्याइनेछ ।

* गाउँपालिकाको केन्द्र ताल्ढुंगाको मुख्य बजार क्षेत्रमा सडक बत्तीको व्यवस्था गरिनेछ ।

* यसै आर्थिक वर्षमा खानीखोला गाउँपालिका भरि केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्ने कार्य सम्पन्न गरी सम्पूर्ण बस्तिमा विद्युतीकरण गरिनेछ ।

* गाउँपालिका भित्रको लघु जलविद्युत आयोजनाहरुको संरक्षण एवम सम्वर्धन गरी उक्त आयोजनाबाट उत्पादित उर्जा स्रोतलाई केन्द्रिय प्रसारण लाइन सँग जोडिनेछ ।

१७.४. सूचना तथा सञ्चार प्रविधिः

* पालिकाले कार्यविधि निर्माण गरी आफ्नो क्षेत्रका स्थानीय सञ्चार माध्यम (रेडियो, टेलिभिजन , पत्रपत्रिका, अनलाइन) लाई स्थानीय लोक कल्याणकारी सन्देश उपलब्ध गराइनेछ ।

* १०० वाट सम्मको एफ.एम रेडियो दर्ता गरि कार्य सञ्चालनमा ल्याइनेछ ।

* त्रैमासिक पत्रकार अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।

* पालिकाले चौमासिक बुलेटिन प्रकाशन तथा प्रसारण गरिनेछ ।

* पालिकाको सम्पूर्ण नियमित गतिविधिहरुको डकुमेन्ट्री बनाई अभिलेखिकरण गरिनेछ ।

* पालिकाको वडाहरुमा इन्टरनेट सेवाको अभावले गर्दा अनलाइन मार्फत दिइने सेवा प्रवाहमा बाधा पर्न गएकाले सम्पूर्ण वडाहरुमा इन्टरनेटको पहुँचको वृद्धि गरि अनलाइन सेवाको विकास गरिनेछ ।

* गाउँपालिका भित्र रहेको एक मात्र संचार सेवा एकदमै कमजोर तथा फितलो रहेकोले पालिका निवासी सम्पूर्ण नागरिकको दैनिक सूचनामा वाधा परेकोले संचार सेवालाई थप व्यवस्थित पुयाउनको लागि थप संचारटावरको विस्तार गरिनेछ ।

* चुस्त, दुरुस्त गति तथा पारदर्शीताका साथ सेवा प्रवाह दिन विभिन्न सेवाहरु अनलाइन/अफलाइन सफ्टवेयर मार्फत प्रदान गरिनेछ ।

* डिजिटल पालिका निर्माणका लागि सिङ्गो पालिकाको जनशक्ति स्रोत साधनलाई समेत परिचालन गरि सफ्ट्वेयरमा केन्द्रिकित गरिनेछ र पालिकाको वार्षिक Video Documentary निर्माण गरी अभिलेखिकरण गरिनेछ।

१८. वन तथा वातावरण:

१८.१ वन, भु-संरक्षण तथा जैविक विविधताः

* बन अतिक्रमण तथा डढेलो नियन्त्रणलाई निरुत्साहित गर्न बृक्षारोपणका कार्यक्रम लागु गरिनेछ ।

* बन क्षेत्रबाट बग्ने नदी खोला र खोल्सीहरुमा थुपरिएका ढुंगा, गिट्टि, बालुवा जस्ता नदी जन्य पदार्थहरुको सोही स्थानमा तटबन्ध बनाउनुको साथै बाँकी नदीजन्य पदार्थ सार्वजनिक पूर्वाधार निर्माणमा लगाउनुका साथै विक्री वितरण समेत गरी पालिकाको आन्तरिक स्रोत बढाइनेछ ।

* हरियो बन फलफुलको मान खानीखोलाको आफ्नो छुट्टै शान भन्ने मुल नाराका साथ प्रदेश सरकार र संघीय सरकारको समन्वयमा बिरुवा रोप्ने नीति ल्याइनेछ ।

* सामुदायिक, सार्वजनिक र कबुलियति वनलाई व्यवस्थित गर्दै यस्ता वन क्षेत्रहरुमा जडिबुट्टी, गैरकाष्ठ वन पैदावार र आय आर्जनका विविध कार्यक्रम सञ्चालन गरिनेछ ।

* भु-संरक्षण, जलाधार व्यवस्थापन र जल उत्पन्न प्रकोप न्युनिकरणका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।

* विपद जोखिम न्युनिकरण, जलवायु परिवर्तन असर न्युनिकरण तथा जैविक विविधता संरक्षणका लागि दिर्घकालिन योजना बनाई कार्यन्वयनको पहल गरिनेछ ।

१८.२. फोहोर मैला व्यवस्थापनः

* गाउँपालिकाको केन्द्र रहेको ताल्ढुंगा बजारको फोहोरलाई व्यवस्थित गर्न वातावरणीय प्रभाव मुल्याङकन गरी उचित व्यवस्थापन गरिनेछ ।

* गाउँपालिकाको बजार क्षेत्र पर्ने स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।

* शैचालय जन्य फोहोर व्यवस्थापनको लागि प्रत्येक घरलाई आफ्नै सेफ्टी ट्याङकी बनाउनु पर्ने कार्यलाई अनिवार्य बनाइनेछ साथै शौचालय जन्य फोहोर नदि वा खोल्सीहरुमा व्यवस्थापन गर्न पाइने छैन ।

* “हाम्रो घरको फोहोर, हामी आफै व्यवस्थापन गछौं”, “हाम्रो टोलको फोहोर हामी आफै व्यवस्थापन गछौं’,

“हाम्रो वडाको फोहोर, हामी आफै व्यवस्थापन गछौं” भन्ने मुल नाराका साथ सम्पूर्ण गाउँपालिका वासिहरुले हामी सफा, स्वच्छ र स्वस्थ्य रहन्छौं भन्ने प्रतिवद्धताको निम्ति अपिल गरिनेछ ।

* हरेक वडामा स्वास्थ्य सचेतना सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिनेछ ।

* विपद विरुद्धको प्रतिकार्यलाई व्यवस्थित बनाउन आवश्यक योजना निर्माण गरिनेछ र रेड क्रस लगायतका संस्था सँग समन्वय गरी विपद पूर्ण अवस्थामा गरिने उद्धार तथा पुनर्स्थापना कार्यलाई छिटो र छरितो बनाउन विपद टिम निर्माण गरिनेछ ।

* आकस्मिक प्रकोप जन्य रोग नियन्त्रणका लागि आवश्यक नीति बनाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइनेछ ।

* फोहोरमैला व्यवस्थापन, सार्वजनिक शौचालय व्यवस्थापनमा विशेष ध्यान दिइनेछ ।

१८.३. विपद जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलनः

* पालिका भित्र पहिरो, बाढि, चट्याङ, हावाहुरी, आगलागि, भुकम्प आदि विपदका घटनाहरु निरन्तर रुपले हुने भइरहने हुनाले प्राकृतिक विपद न्युनिकरणको सम्भावनालाई अध्ययन गरी विपद न्युनिकरणको लागि आवश्यक पहल गरिनेछ ।

* पालिका क्षेत्रको विपद जोखिम सर्भेक्षण गर्ने र सोका आधारमा योजना निर्माण गरी कार्यान्वयन गरिनेछ र भू-संरक्षणका लागि वृक्षारोपण, तटबन्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

* भुकम्प, बाढि, पहिरो, आगलागि, चटयाङ, महामारी, दुर्घट्ना जस्ता विभिन्न प्रकारका प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराइनेछ जसका लागि पालिका विपद व्यवस्थापन कोष स्थापना गरिनेछ ।

१९. सुशासन तथा संस्थागत विकासः

 १९.१. नीति, कानुन, न्याय तथा सुशासनः

* पालिका भित्रका सम्पूर्ण प्रशासनिक सेवालाई चुस्त बनाउनको लागि आवश्यक कार्य गरिनेछ ।

* पालिका अन्तर्गतका कुनै पनि कार्यालयमा कर्मचारी विदामा बस्दा वा फिल्डमा जाँदा समेतको अवस्थामा बैकल्पिक जिम्मेवारी र उत्तरदायी कर्मचारी तोकेर जानकारी खुल्ने गरी सूचना बोर्डमा उल्लेख गरिनेछ ।

* आफ्नो कार्यालयको कार्य प्रगति, समस्या, चुनौति र समस्या सामाधानसहितको मासिक बैठक राखिनेछ ।

* कर्मचारी क्षमता विकास तथा संस्थागत क्षमता विकासका योजना निर्माण गरी सञ्चालन गरिनेछ ।

* भौगोलिक विकटताका कारण कर्मचारी अभावले कार्यालय कामकाजमा बाधा पर्ने हुँदा थप जिम्मेवारीको आधारमा कर्मचारी प्रोत्साहन भत्ताको व्यवस्था मिलाइनेछ । साथै उत्कृष्ट कार्यसम्पादन गर्नेलाई पुरस्कृतको व्यवस्था गरिनेछ ।

* गाउँपालिका कार्यालय, वडा कार्यालय एवंम विद्यालय, स्वास्थ्य चौकी आदीमा सूचना अधिकारी तोकी हरेकसूचना प्रवाह गरिनेछ ।

* गाउँपालिका अन्तर्गतका हरेक कार्यालयमा गुनासो पेटीका राखी मासिक रुपमा सो को सुनुवाई गरिनेछ ।

* गाउँपालिका अन्तर्गतका हरेक कार्यालयमा ई- हाजिरीको व्यवस्था गरिनेछ ।

* कर्मचारी कल्याणकारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याइनेछ ।

* पालिकाले प्रत्येक ४-४ महिनामा सार्वजनिक सुनुवाई र आर्थिक वर्ष सकिएर अर्को आर्थिक वर्षको पहिलोचौमासिकको पहिलो महिनामा नै सामाजिक परिक्षण अनिवार्य रुपमा सञ्चालन गरिनेछ ।

* उपभोक्ता समितिहरुका पदाधिकारीलाई सार्वजनिक निर्माण तथा कार्यक्रम सञ्चालन सम्बन्धि अभिमुखिकरण सञ्चालन गरिनेछ ।

* पालिकाको स्वीकृत बजेटको इस्टमेट तयार गरेर मात्र उपभोक्ता समितिसँग सम्झौता गर्ने, यस किसिमकोइस्टमेट तयार गर्दा उपभोक्ताले बुझ्ने गरी नेपाली भाषामा तयार गरिनेछ ।

* खानीखोला गाउँपालिकाको बेरुजु न्युनिकरणका लागि बेरुजु फर्छयौट समिति गठन गरी न्युनिकरण तर्फ प्रकृया बढाइनेछ ।

* न्यायिक समितिको कार्य सम्पादन प्रकृया प्रभावकारी बनाउन समितिका पदाधिकारी र मेलमिलाप कर्तालाई क्षमता विकास तालिम दिइनेछ ।

१९.२. संगठन तथा क्षमता विकास, जनशक्ती व्यवस्थापन र सेवा प्रवाहः

* गाउँपालिका भित्रको नियमति सेवालाई सुचारु गर्नको लागि प्रयाप्त जनशक्ति नभएको कारण सो लाइ पुर्ति गर्न प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश, हेटौंडा समक्ष आवश्यक दरवन्दी बमोजिमको जनशक्ति माग गरिनेछ साथै गाउँपालिकामा आवश्यक कतिपय विषयगत शाखासँग सम्बन्धित कर्मचारी पालिकाबाट नै पदपुर्ति गरिनेछ ।

* कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ONM Serve) प्रतिवेदन कार्यन्वयनमा ल्याइनेछ ।

* गाउँपालिका भित्र उत्कृष्ट नतिजा हासिल गर्ने उपभोक्ता समिति, निर्माण व्यवसायि, कृषि फर्म, सहकारी, स्वास्थ्य संस्था एवम शैक्षिक संस्थाहरुलाई पुरस्कारको व्यवस्था मिलाइनेछ ।

* गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा कर्मचारीहरु नभइ सेवाग्राही घर फर्कनु पर्ने अवस्थाको अन्त्य गर्दै लगिनेछ ।

* गाउँपालिकाको सार्वजनिक सेवाको सन्दर्भमा सम्पूर्ण विवरण खुल्ने गरी पालिका कार्यालय, वडा कार्यालयर स्वास्थ्य संस्थाहरुमा नागरिक वडा पत्र राखिनेछ ।

* निर्वाचित जनप्रतिनिधिहरुको क्षमता विकासको लागि अभिमुखिकरण आयोजना गरिनेछ ।

१९.३. राजश्व तथा स्रोत परिचालनः

* गाउँपालिकाको आन्तरिक आय बढाउनको लागी यहाँ भएका खानीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उतखनन् गरि निर्यात, बिक्रि र वितरण गर्न कानुन बमोजिम प्रकृया बढाइ आवश्यक पहल गरिनेछ ।

* गाउँपालिकाको राजश्वको दायरा बढाइनेछ र आम नागरिकलाई “राज्यलाई कर तिर्नु हरेक नागरिकको कर्तव्य” हो भन्ने कुरामा प्रभावकारी अनुशिक्षण गरिनेछ ।

१९.४. तथ्याङ्क प्रणाली र योजना र विकास व्यवस्थापनः

* गाउँपालिका स्थित सबै विषयगत क्षेत्रहरुको वस्तुगत विवरणको यथार्थ आँकडा आउने खालको प्रोफाइल निर्माण गरिनेछ र सोही तथ्याङ्कको आधारमा खानीखोला गाउँपालिकाको भावि योजना निर्माण गरिनेछ ।

* टोल, गाउँ, वडाबाट नागरिकको छनौटमा परेका विकास योजनाहरुलाई कार्यान्वयन गर्न तत्कालिन एवम दिर्घकालिन प्रकृतिका योजनाको वर्गीकरण गरि कार्यान्वयनमा ल्याइनेछ र तत्काल कार्यान्वयन हुन नसकिने योजनाहरु गाउँपालिका योजना बैंकमा भण्डारण गरि प्राथमिकताको आधारमा कार्यान्वयन प्रकृयामा लगिनेछ। धन्यवाद !

इन्द्र बहादुर थिङ गाउँपालिका
अध्यक्ष
२०७९ साल असार १० गते शुक्रबार

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।