डिलबहादुर थाेकर
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पोडेलले सिकाउने गुरुको अपमान गरेर मात्रै शिक्षण पेशा सुधार नहुने बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र शिक्षा विकास तथा समन्वय इकाइले आज धुलिखेलमा आयोजना गरेको ‘काभ्रेपलाञ्चोक जिल्लाको शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशासम्बन्धी अन्तरक्रिया कार्यक्रम’मा उनले स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्याकसहितका शिक्षकको साझा सहकार्य आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले मन्त्रालयले ऐन नियमसँग सम्बन्धीत कानुन सुधार, शिक्षण सिकाइ प्रक्रियामा स्तरीय बनाउने र भौतिक पूर्वाधार गरी तीन प्रकारका सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटो तय गरेको बताए । सो क्रममा उहाँले अध्यापन, तालिम र दरबन्दी मिलानमा सुधार ल्याउन सकेको खण्डमा शिक्षण सिकाइमा सुधार गर्न सकिने बताए ।
उनले विद्यालय पूर्वाधार बनेपनि कस्तो नतिजा दिइरहेको छ भन्ने कुरालाई मध्यनजर गर्दै आफूतिर फर्केर समीक्षा गर्ने वेला आएकोले सार्वजनिक, संस्थागत र गुठी विद्यालयलाई सोबारेमा आग्रहसमेत गरे । मन्त्री पौडेलले अब क्यालेण्डरअनुसार नै शिक्षण सिकाइलाई कार्यान्वयन गर्ने गरी तोकिएकै समयमा पठनपाठन, परीक्षा र नतिजा प्रकाशन गर्ने प्रक्रियामा रहेको बताए । विद्यालय शिक्षा, उच्च शिक्षा र प्राविधिक शिक्षासँगै जोडेर जाने प्रक्रियामा मन्त्रालय रहेको मन्त्री पौडेलले बताए ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले शिक्षाको विकास प्रमुख भएकाले जिल्लाको समग्र शिक्षाको विकासका लागि भएको समस्या, त्यसको उपाय र आगामी दिनमा गर्नुपर्ने कामको विषयमा छलफल गरी मार्गचित्र तयार गर्नुपर्ने भएकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताए । जिल्लामा नै रहेको काठमाडौँ विश्वविद्यालयले पनि स्थानीय तहको भौगोलिक अवस्था र त्यहाँका विशेषताका आधारमा प्राविधिक शिक्षा दिन अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलाञ्चोकका प्रमुख गोकर्णध्वज कार्कीले जिल्लाको समग्र शिक्षाको अवस्था, विद्यालयको प्रकृति, विद्यार्थी संख्या र समग्र शैक्षिक अवस्थाको बारेमा विवरण प्रस्तुत गरे । अन्तरक्रियामा जिल्लाका सबै पालिकाका शिक्षा शाखा प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, नीजि विद्यालयका प्रध्यानाध्यापकबीचमा समूहगत छलफल गरी जिल्लाको शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र भावि रणनीतिको विषयमा छलफल गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।