सर्वोच्च अदालतको फैसलाले नेकपाबाट एमाले र माओवादी केन्द्र पूर्ववत रुपमै रहनुपर्ने फैसला गरपछि एमालेमै बसेका माओवादी केन्द्रका युवा नेताहरु पूरानै घरमा फर्केका छन् । एमालेमा व्यक्तिवाद हावी भएको भन्दै उनीहरु पूरानै घर माओवादी केन्द्रमा फर्केका हुन् ।
माओवादी केन्द्रमै फर्किर्नेहरुमा एमाले जिल्ला कमिटी सदस्य तथा धुलिखेल नगरकमिटी सह–इन्चार्ज यसबहादुर तामाङ, युवा संघ नेपालका केन्द्रिय सदस्य तथा एमालेका खानीखोला गाउँपालिका कमिटीका सह–सचिब विरेन्द्र ब्लोन लगायतका युवा नेताहरु रहेका छन् । त्यसैगरि राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य बिजय लामा, जिल्ला कमिटी सदस्य बुद्ध लामा, जगत भोलन, एमाले निकट खेलकुद महासंघ जिल्ला सदस्य दिपक गोले पनि माओवादी केन्द्रमै फर्केका छन् ।
माओवादी केन्द्रले पनौतिमा एक कार्यक्रमको आयोजना गरि उनीहरु पूरानै पार्टीमा फर्केको घोषणा गरेका थिए ।
उनीहरुलाई वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य सूर्यमान दोङ (लालध्वज)ले स्वागत गरेका थिए । नेता लालध्वजले माओवादी केन्द्रमै फर्केका आफ्ना कार्यकर्ताहरुलाई धन्यवाद दिंदै उचित जिम्मेवारी दिएर अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे ।
एमालेमा व्यक्तिवादी प्रवृत्ति निकै हाबी भएको र लोकतान्त्रिक बाम गठबन्धनलाई मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा सहयोग गर्न भन्दै माओवादी केन्द्रमै फर्किएको उनीहरुले बताएका छन् । जिल्ला कमिटी सदस्य, नगर सहइन्चार्ज, पालिका सहसचिब सहित ४० जना युवाहरु एमालेबाट माओवादी केन्द्रमा समाहित भएका हुन् ।
कार्यक्रममा वागमती प्रदेश कमिटी सचिव इन्द्रबहादुर थिङ (छिन्ताङ), जिल्ला समन्वय समिति संयोजक भोला अर्याल, सचिव दैबलाल घिसिङ लगायतका सहभागी थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















