नेकपा (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य एवं संविधान सभा सदस्य कृष्ण प्रसाद सापकोटाले एमाले आफै परमादेशी पार्टी रहेको बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धनले आज बनेपा नगरपाकिला–१ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सापकाटाले यस्तो बताएका हुन् ।
एमालेले गठबन्धनलाई परमादेशी भनेर लगाएको आरोपको खण्डन गर्दै उनले कम्युनिष्ट पार्टीलाई फुटाएर तीन वटा पार्टी बनाउँदै एमालेमा फकिर्ने ओली आफै परमादेशी पार्टीको अध्यक्ष बनेको बताए ।
संविधानले विकेन्द्रिकृत गरेको अधिकारलाई ओली नेतृत्वको सरकारले केन्द्रिकृत गर्दै अदालतमाथि नै सेटिङ गरेर पार्टी फुटाएको नेता सापकोटाले आरोप लगाए । एमालेका नेताहरुले आफैले बनाएको घोषणापत्रको सामान्य काम पनि कार्यान्वयन गर्न नसक्ने पार्टीले विकासको मुल फुटाएको भनेर भ्रम फैलाउनु हास्याँस्पद भएको टिप्पणी गरे । गोकुल बाँसकोटा निर्वाचनमा लडेर जितेको बेलामा बनाएको घोषणापत्रमा प्रत्येक टोलमा ‘फ्रि वाईफाई सेवा’ उपलब्ध गराउने भनेर लेखिएको भएपनि उनै व्यक्ति सञ्चारमन्त्री हुने वेलामा कार्यान्वयन गर्न नसकेको बताए ।
कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभास सदस्य निर्वाचनमा संघीयता विरोधी र संविधान ध्वस्त पार्न खोज्ने पार्टीका उम्मेदवारलाई भोट दिनुको औचित्य नरहेको सापकोटाले बताए । ‘सिंहदरवारको अधिकारलाई जनताको नजिकको सरकार स्थापना गरेको संघीयताको विरोध गर्ने उम्मेदवारलाई जनताले भोट दिनु भनेको प्राप्त उपलब्धी गुमाउन दिनु सरह हो ।’ उनले भने, ‘अहिलेको निर्वाचन संविधानको कार्यान्वयन र प्राप्त उपलब्धीको रक्षा गर्दै विकास र समृद्धिको लागि भएकोले त्यसको नेतृत्वगर्ने बाम गठबन्धनलाई जिताउन आवश्यक छ । अहिले सामान्य अवस्था नभएर गणतन्त्र र लोकतन्त्रको निम्ति जेल, नेल र यातना व्यहोरेर प्राप्त गरेको उपलब्धीलाई एमालेले ध्वस्त पार्न खोजेको अवस्था रहेकोले अबको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनको विजयी आवश्यक छ ।’
माधव कुमार नेपाल प्रधानमन्त्री र आफु संविधान सभा सदस्य बन्ने बेलामा निर्णय गरेको काभ्रेपलाञ्चोकको पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज) बनाउने भनेर गरेको निर्णयलाई ध्वस्त गर्ने काम एमालेबाट भएको बताउँदै सापकोटाले सूर्यविनायक धुलिखेल सडक खण्डलाई ६ लेनको बनाउने जापान सरकारले गर्न लागेको सहयोग समेत केपी ओली सरकारले गर्न नदिएको खुलासा समेत गरे ।
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं. २ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार शिव प्रसाद हुँमागाई, प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार कञ्चनचन्द्र बादे, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार मिना तामाङ, प्रदेश सभातर्फका समानुपातिक उम्मेदवार भोला प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















