नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेदवार सूर्यमान दोङ (लालध्वज)ले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा एमालेका अध्यक्ष केपी ओली, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनहरु किन एक ठाउँमा उभिए आम नेपालीले बुझ्न जरुरी रहेको बताएका छन् । बिहीबार (आज) गठबन्धन सम्बद्ध काभ्रे–काठमाडौँ सम्पर्क समितिको आयोजनामा भएको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लालध्वजले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लालध्वजले यो गठबन्धन परिवर्तनकारीहरू बिचको गठबन्धन भएको बताउँदै देशमा जब–जब सङ्कट आउँछ तब–तब परिवर्तनकारी, अग्रगामी पार्टीहरू एक ठाउँमा उभिँदै आएको प्रस्ट पारे । ‘हामीले विभिन्न समयमा मुलुकभित्र भएको आन्दोलनहरूलाई हेर्न सक्छौँ । सबै आन्दोलन मिलेर मात्र सफल भएको छ ।’ उनले भने, ‘यो पटक पनि अग्रगामी र परिवर्तनकारीहरू एक ठाउँमा उभिएका छौँ । देशमा जब राजनीतिक सङ्कट आउँछ यो पार्टीहरूबिचमा साझेदारी गर्दै एक ठाउँमा उभिँदै आएको छ । ठिक आज पनि संविधान जोगाउन, व्यवस्था जोगाउन हामी एकै ठाउँमा उभिएका छौँ ।’
उनले आफूहरूले गरेको गठबन्धन सारभूत रूपमा नीतिगत रूपमा सबै राजनीतिक आन्दोलनको उपलब्धिहरू जोगाउन र समुन्नत समाज निर्माण गर्नको लागि भएको प्रस्ट पारे । ‘मैले रेशम लामासँग चुनाव लडिरहेका छैनौँ, शिवजीले गोकुलसँग चुनाव लडेका हौइनौं, हामीले एजेन्डासँग चुनाव लडेका हौं । व्यवस्था जोगाउन चुनाव लड्दै छौँ ।’ लालध्वजले जोड दिएर भने, ‘विषय गम्भीर छ । सामान्य रूपमा नबुझ्नु होला । त्यसैले चुनाव कुनै व्यक्तिसँग लडेका छैनौँ । हामीले राजनीतिक शक्तिहरूको दृष्टिकोणसँग चुनाव लडिरहेका छौँ ।’
परिवर्तनको लागि जसले साझेदारी गरेको थियो, बलिदान गरेको थियो उनीहरू एक ठाउँमा उभिएको बताउँदै यो परिवर्तनकारी आन्दोलनलाई दमन गर्नेहरू एक ठाउँमा उभिएको बताए ।‘प्रतिगामी कमल थापा, राजेन्द्र लिङदेन, राजावादीहरू, गणतन्त्र नेपालमा आउँछ भन्नु र बयल गाडा चढेर अमेरिका जानु उस्तै हो भन्ने केपी ओलीहरू एक ठाउँमा उभिएको छ । त्यसैले लालध्वजलाई सांसद बनाउन, शिव हुमागाईँलाई सांसद बनाउन यो गठबन्धन भएको होइन ।’
आफूहरू सांसद बन्नका लागि पार्टीले गठबन्धन नगरेको बताए । ‘म सांसद दुई पटक भएको छु । शिवजी पनि भइसक्नु भएको छ । त्यसैले सांसद बन्नको लागि गठबन्धन भएको होइन ।’ उनले भने, ‘हाम्रो टिमको सुन्दर सपना छ, काभ्रेलाई सुन्दर बनाउने सपना छ, काभ्रेलीको सपना बोकेका छौँ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















