नेपाली काँग्रेसका काभ्रे जिल्ला सभापति तथा काभ्रे–१ प्रदेश (ख)का गठबन्धनका साझा उम्मेदवार तीर्थ लामाले आगामी मङ्सिर ४ गते हुने निर्वाचन प्रतिगामी र अग्रगामी बिचको राजनीतिक लडाइँ रहेको बताएका छन् । बिहीबार (आज) गठबन्धन सम्बद्ध काभ्रे–काठमाडौँ सम्पर्क समितिको आयोजनामा भएको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लामाले यस्तो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लामाले निर्वाचन आन्दोलन भएकोले उच्च मनोबलका साथ प्रस्तुत हुन कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘सबै साथीहरूले के बुझ्न जरुरी छ भने, मङ्सिर ४ गतेको चुनाव खाली चुनाव मात्र होइन । यो निर्वाचन आन्दोलन हो ।’ लामाले भने, ‘पछाडि हट्ने र अगाडी बढ्नेबीचको लडाई हो । प्रतिगामी र अग्रगामी बिचको राजनीतिक लडाइँ हो । त्यसैले आगामी निर्वाचनमा उच्च मनोबल र अनुशासनका साथ अगाडि बढ्न म पार्टीको सबै तहको सङ्गठनहरूलाई अनुरोध गर्दछु ।’
लोकतान्त्रिक–वाम गठबन्धनको उम्मेदवारहरूलाई जिताए मात्र मङ्सिर ४ गतेको राजनीतिक लडाइँ सफल हुने भएकोले गठबन्धनले उठाएको उम्मेदवार जिताउन आवश्यक रहेको बताए । ‘राजनीतिक आन्दोलन हो यो । लोकतान्त्रिक वाम गठबन्धनका सबै उम्मेदवारहरूलाई जिताउन आवश्यक छ ।’ उनले भने, ‘त्यसैले गाउँ–गाउँ र टोल–टोलमा पुगेर मङ्सिर ४ गते गठबन्धनको उम्मेदवारहरूलाई मतदान गरेर जिताउन जरुरी छ । यसको लागि सचेत पहल गर्नुहोला ।’
लामाले आ–आफ्नो पार्टीलाई अगाडि बढाउँदा विगतमा विभिन्न प्रकारको मतभेद, वादविवाद भएको छ भने सबै बिर्सेर एक मतका साथ अगाडि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘विगतमा हाम्रो पार्टीहरू सङ्गठन निर्माणदेखि विभिन्न विषयमा मतभेदहरू भए होलान्, तर्क वितर्कहरू भए होला, यो सानोतिनो कुराहरूलाई बिर्सेर यो आन्दोलनलाई जीतमा परिणत गराउन अगाडि बढ्न म अनुरोध गर्दछु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।