नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा काभ्रे– १ अन्तर्गत प्रदेश सभा (क)का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रत्न ढकालले आगामी मङ्सिर ४ गतेको निर्वाचन ‘दोस्रो जनमतसंग्रह’ भएको बताएको छन् । बिहीबार (आज) गठबन्धन सम्बद्ध काभ्रे–काठमाडौँ सम्पर्क समितिको आयोजनामा भएको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार ढकालले यस्तो कुरा बताएका हुन् ।
यो निर्वाचनलाई विशिष्ट ढङ्गले हेर्नुपर्ने बताउँदै ढकालले २०३६ सालको पहिलो जनमतसंग्रह भएको र आगामी मङ्सिर ४ गते दोस्रो जनमतसंग्रह हुने बताए । ‘यो चुनाव अघि पछिको जस्तो चुनाव होइन । यो चुनावलाई हामीले विशिष्ट ढङ्गले हुनुपर्छ । यो चुनाव कुन उम्मेदवारले जित्ने या कुन पार्टीले जित्ने भन्ने कुरा मात्र होइन । २०३६ सालमा जनमतसंग्रह भएको भएको थियो । त्यसपछि नेपालमा जनमतसंग्रह भएको छैन ।’ उम्मेदवार ढकालले भने, ‘आगामी निर्वाचन दोस्रो जनमतसंग्रह हो । अग्रगमन कि पश्च गमन भन्ने बिचको जनमतसंग्रह हो । यो मुलुकमा दोस्रो जनमतसंग्रह हुँदै छ । यो जनमतसंग्रहमा अग्रगामीहरूको जीत हुनुपर्छ, त्यसको लागि तयारी भएर लाग्न म अनुरोध गर्दछु ।’
उनले प्रतिगामीहरू एकै ठाउँमा उभिएका कारण पनि अग्रगमन चाहने काँग्रेस–कम्युनिस्ट एकै ठाउँमा उभिएको बताए । ‘मुलुकमा संविधान सभा मार्फत नयाँ संविधान बनेपछि काँग्रेस–कम्युनिस्ट एक ठाउँमा उभिएर निर्वाचन लडेको यो पहिलो हो । ००७ साल, ०४६ साल र ०६२।०६३ सालमा जुन शक्तिहरू मिलेर आन्दोलन गरेको थियो ती शक्तिहरू आज पहिलो पटक चुनावमा पनि एक ठाउँमा उभिएको छ ।’ ढकालले भने, ‘आन्दोलनको बेला जसरी एक ठाउँमा उभिएर मात्र आन्दोलन सफल भएको थियो त्यसरी नै आज पनि परिवर्तनकारी शक्तिहरु आज एक ठाउँमा उभिएको छ भने प्रतिगामीहरू पनि एक ठाउँमा उभिएको छ । त्यसैले आगामी निर्वाचनलाई मैले जनमतसंग्रहको रूपमा लिएको छु ।’
प्रतिगामीहरूले जित्यो भने व्यवस्था मात्र खारेज हुँदैन नेपाली जनताको समृद्धिको सपना समेत ध्वस्त हुने ठोकुवा गरे । ‘आगामी निर्वाचनमा प्रतिगामीहरूले जित्यो भने हामीले लडेर ल्याएको यो व्यवस्था, यो संविधान, समानुपातिक समावेशी, धर्म निरपेक्षता, सङ्घीयता जस्ता उपलब्धिहरू सबै ध्वस्त हुनेछ ।’ उनले भने, ‘अनि केपी आलीले चाहेको व्यवस्था अर्थात् राजतन्त्रको स्थापना हुने छ । निरंकुशतन्त्रको सुरुवात हुनेछ ।’
ढकालले अब थोरै मतले मात्र जितेर नहुने र भारी मतान्तरले जित्न जरुरी रहेको बताउँदै गठबन्धनका सबै साथीहरू आ–आफ्नो ठाउँबाट लाग्न अनुरोध समेत गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















