आगामी मंसिर ४ गते हुने आम निर्वाचनको प्रचार प्रसारका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारहरु काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ८, विर्ता देउरालीमा पुगेका छन् । आज (विहिबार)बाट सो गाउँपालिकामा गठबन्धनले चुनावाी अभियान थालनी गरेका हुन् ।

सो वडामा भएको कोणसभालाई सम्धोन गर्दै वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (क)का प्रत्यक्ष उम्मेदवार रत्न ढकालले गठबन्धनलाई भोट हाल्न एमालेका कार्यकर्ताहरुलाई समेत अपिल गरेका छन् । संविधानको रक्षा, विकास र समृद्धि चाहन्छ भने गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न ढकालले अपिल गरेका हुन् ।

‘विर्तादेउरालीका एमालेका साथीहरुलाई पनि भन्न चाहन्छु कि तपाईं परिवर्तन चाहनुहुन्छ, संविधानको रक्षा चाहनुहुन्छ, तपाईं यो क्षेत्रको विकास चाहनुहुन्छ, तपाईं यहाँको समृद्धि चाहनुहुन्छ भने तपाईंले हामीलाई रोज्नुपर्छ ।’ उनले भने, ‘नहिच्किचाई तपाईंहरुले पनि हामीलाई नै भोट हाल्नुपर्छ म अपिल र अनुरोध गर्न चाहन्छु ।’

लोकतान्त्रिक–वाम गठबन्धन नै अहिलेको हाम्रो पार्टी

नेता ढकालले चुनाव चित्नको लागि मात्र गठबन्धन नगरेको बताउँदै बरु संधविधानको रक्षा, राजनीतिक स्थायीत्व र समृद्धिको लागि गठबन्धन गरेको स्पष्ट पारे ।

‘चुनाव जित्नका लागि मात्र यो गठबन्धन होइन, संविधानको रक्षाका निम्ति, राजनीतिक स्थायीत्वका निम्ती र हाम्रो गाउँ, हाम्रो क्षेत्रको विकास गरेर जनताको समृद्धिको अभियान, जनताको जीवन स्तर बदलने अभियान, जनताको सुखको दिन ल्याउने अभियानका निम्ति यो गठबन्धन हो ।’ उनले भने, ‘त्यसकारण यो गठबन्धन माथि कहिं शंका गर्नुपर्ने, कहिँ प्रश्न गर्नुपर्ने, कहिँ पनि दिमाग खुम्च्याउनुपर्ने ठाउँ छैन । किनभने विभिन्न परिवर्तनका निम्ति हामीले पटक पटक सहकार्य गरेको इतिहाँस साछी छ ।’

आफूहरु कुनै पार्टी विशेषको उम्मेदवार नभई गठबन्धनको उम्मेदवार भएको बताउँदै ढकालले लोकतान्त्रिक–वाम गठबन्धन नै अहिले आफूहरुको पार्टी रहेको प्रष्ट पारे । ‘हामीहरु निर्वाचनमा कुनै पार्टी विशेषको उम्मेदवार बनेर आएका छैनौं । काँग्रेसको उम्मेदवार पनि मै हुँ, एकीकृत समाजवादीको उम्मेदवार पनि मै हुँ । माओवादी केन्द्रको उम्मेदवार पनि मै हुँ ।’ ढकालले भने, ‘अहिले हामी पार्टीगत हिसाबले यहाँ आएका छैनौं । अहिले हामीले सबै पार्टीलाई थाँती राखेर आएका छौं । अहिले हामी गठबन्धनका हिसाबले यहाँ आएका छौं । लोकतान्त्रिक–वाम गठबन्धन नै अहिलेको हाम्रो पार्टी हो ।’

विकास निर्माण शु्रुवात भएको छ

विर्तादेउराली क्षेत्रमा विकास निर्माणको काम शुरुवात भएको बताउँदै शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार क्षेत्रमा विकास गरेर अघि बढ्ने उनले बताए । ‘यस क्षेत्रमा हामीले धेरै विकास निर्माणका कामहरु शुरुवात गरेका छौं, सम्पन्न भइसकेका छैनन् । तर कामका हिसावले हामीले धेरै ठाउँमा शुरुवात गरेका छौं । हामीले पहिलो प्राथमिकता यो विर्ता देउराली हुँदै गोठपानी–कात्तिके देउराली जोड्ने सडकलाई दियौं । यो ५ वर्षको बीचमा स्तरोन्नतिको कामहरु भएको छ । झनै साँढे ४ करोड रुपैयाँ बजेट यो सडकमा परेको छ । यस वर्ष १ करोड रुपैयाँ बजेट यो सडकलाई परेको छ । यहाँको किसानहरुको उत्पादनलाई सहजढंगले निर्यात गर्न र आवातजावत गर्न सडकको आवश्यकता भएकोले पहिलो प्राथमिकता यहाँको सडकलाई दियौं ।’ उनले भने, ‘समृद्धिको काम गर्ने भनेको शिक्षा क्षेत्रमा काम गर्नु पनि हो । शिक्षामा गुणस्तरीय हुनुपर्‍यो, हाम्रो छोराछोरीहरु यहीँ बसेर पढ्नपाउनुपर्‍यो, त्यसको निम्ति हामीले वातावरण निर्माण गर्ने हो । स्वास्थ्यमा सबै जनताको सहज पहुँच होस्, सबै युवाहरु रोजगारी होस्, कृषिका लागि सिंचाईको व्यवस्था होस्, पशुपालनमा सहज होस्, पर्यटन विकासको लागि के–के सम्भावना छ पहिचान गरेर यहीँको जनशक्तिलाई यहिँ नै खपत गर्न सकौं ।’

विकास नर्माणमा भेदभाव गरिने छैन

मन्त्री ढकालले विकास निर्माणमा कुनै पनि प्रकारको भोदभाव नगरिने बताए । ‘राजनीतिक हिसावले विकास निर्माणमा काख र पाख हुँदैन । विकास निर्माणमा जात धर्म लिंग, भाषा, पार्टी भन्ने कुरा हुँदैन ।’ ढकालले भने, ‘किनभने हाम्रो गाउँको ठाउँको विकास गर्दा सबैलाई हुने हो । त्यसकारण विकास निर्माणमा भेदभावहुने छैन, भेदभाव गरिने छैन ।’

कार्यक्रममा आफ्नो प्रतिद्वन्द्वी एमालेका उम्मेदवार दिलिप तामाङलाई आफूले चिनेको तर जनताले नचिनेको बताउँदै पार्टीको इमान्दार कार्यकर्ता भएपनि प्रतिगमकारीको पक्षमा लागेको आरोप लगाए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।