नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ प्रत्यक्ष तर्फको उम्मेदवार सूर्यमान दोङ (लालध्वज)ले अबको १० दिन राम्रोसँग ‘डिउटी’ गर्न मतदातालाई अपिल गरेका छन् । काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ८ मा आज सम्पन्न चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार दोङले यस्तो अपिल गरेका हुन् ।
‘अबको १० दिन तपाईँले डिउटी गर्नुहोस्, ५ वर्ष हामी तपाईँको निरन्तर डिउटी गर्ने छौँ ।’ उनले भने, ‘तपाईँको रत्न ढकालहरूले, तपाईँका तिर्थ लामाहरूले तपाईँका लालध्वजहरुले इतिहासमा कति गर्न सक्यौँ सकेनौँ तपाईंहरुलाई थाहा छ, तर तपाईँहरूको लगानीमा हामीले कालो धब्बा चाहिँ लगाउन दिनेछैनौँ ।’
उम्मेदवार दोङले एमाले–राप्रपा गठबन्धन र वाम–लोकतान्त्रिक गठबन्धनबिचको भिन्नता प्रस्ट पार्दै यो व्यवस्था नचाहने र चाहने बिचको महासङ्ग्राम भएको बताए । ‘यो निर्वाचनमा दुई वटा गठबन्धन रहेको छ । एउटा गठबन्धन यो व्यवस्था नचाहनेहरूको छ भने अर्को यो व्यवस्था चाहने र रक्षा गर्नुपर्छ भन्नेहरूको गठबन्धन छ ।’ उनले भने, ‘राप्रपा–एमाले गठबन्धन यो व्यवस्था ध्वस्त पारेर राजसंस्थाको पुनर्स्थापना गर्न चाहन्छन् । हामी यो व्यवस्थाको लागि लडेका थियौँ, यो व्यवस्थाको रक्षाको लागि सडक आन्दोलन पनि गरेर आएका हौं । त्यसैले एमाले–राप्रपा गठबन्धन र वाम–लोकतान्त्रिक गठबन्धनबिचको भिन्नता यहीँ नै हो ।’
चौंरीदेउरालीमा आफ्नो पहिलो प्राथमिकता सडक नै रहेको उनले प्रस्ट पारे । ‘मेरो पहिलो प्राथमिकता सडक हो । म आन्तिरिम व्यवस्थापिकाको सदस्य हुँदा पहिलो पटक बजेट विनियोजन गरेको बाटोहरू यी नै हुन् ।’ उनले भने, ‘यहाँको उत्पादनलाई व्यवस्थित बनाउने कुराहरू, स्वास्थ्य, शिक्षालाई व्यवस्थित बताउन पनि सडकलाई व्यवस्थित बनाउन जरुरी छ ।’
भोलि गठबन्धनबाट अलग भएछ भने पनि आफू सबै दलको सल्लाह अनुसार नै अघि बढ्ने उनको भनाई थियो । ‘विचार र आस्थाका हिसाबले हामीहरू अलग–अलग छौँ । कोही काँग्रेस छौँ, कोही माओवादी छौँ, कोही एकीकृत समाजवादी छौँ । तर चौंरीदेउराली निर्माणको लागि हामी एकै ठाउँमा उभिएका छौँ । हामी सबै मिलेर भोलि विकास योजनाको खाका कोर्नेछौँ ।’ उनले भने, ‘भोलि हामी गठबन्धनबाट अलग भएछौँ भने पनि त्यसको लागि म आधार तयार पार्नेछु । तपाईंहरुसँगै सल्लाह गरेर अघि बढ्ने विश्वास दिलाउन चाहन्छु । यति गरेपछि हामीले चौंरीदेउराली बनाउन सक्छौँ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















