काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ मा लोकतान्त्रिब बाम गठबन्धनका उम्मेदवार लक्ष्मण लम्सालले धुलिखेलको विकासमा आफुहरु दृढ रहेको बताएका छन् । आज धुलिखेलमा गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लम्सालले धुलिखेललाई दुई भागमा राखेर विकास गर्नुपर्नेमा जोड दिए ।
‘धुलिखेल नगरपालिकाको भूगोल एउटै प्राकृतिक छटाको छैन । यहाँका पुराना बजार र बाहिरी वडालाई दुई भागमा राखेर विकास गर्नुपर्छ । बितेको पाँच वर्षमा मेरो पहलमा यहाँको सडक, खानेपानी, शिक्षा, सिँचाइ, स्वास्थ्यको क्षेत्रमा काम भएको छ । तर पर्याप्त छैन ।’ लम्सालले भने ।
उम्मेदवार लम्सालले धुलिखेलमा ब्यवस्थित बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाउने बताए । ‘धुलिखेल दुई वटा राजमार्गले छोएको नगरपालिका हो । तर यहाँ अहिलेसम्म एउटा पनि राम्रो बसपार्क छैन । हामी निर्वाचित भएपनि अब बसपार्क निर्माणको कामलाई अघि बढाउँछौ ।’ उनले भने, ‘दुई वटा राजमार्गपछि यहाँ सवारी साधनको चाप बढ्दै गइरहेको छ । यसलाई ब्यवस्थित बनाउन जरुरी छ । धुलिखेल पर्यटकीय हिसाबले देशभित्र मात्रै होइन देश बाहिर पनि चिनिएको ठाउँ हो ।’
लम्सालले गठबन्धनकै सरकार बनेपछि अरनिको राजमार्गको सूर्यविनाय–धुलिखेल सडक खण्ड फराकिलो बनाउने कामका लागि टेण्डर भैसकेको भन्दै यसलाई पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
त्यस्तै काभ्रे एकीकृत खानेपानी आयोजनाको काम पनि गठबन्धनका उम्मेदवार विजयी भएपछि निर्माण पुरा गर्ने लम्सालको भनाई छ । ‘यतिका वर्षसम्म पनि काभ्रे एकीकृत खानेपानी आयोजनाको काम सकिएको छैन् । यसमा विभिन्न कारणले ढिला सुस्ती भैरहेको छ ।’ लम्सालले भने, ‘यो आयोजनामा हामीले चासो राखेका छौँ । अधुरा काम पुरा गरेर एक घर, एक धारा कार्यक्रमलाई हामी सार्थक दिने छौँ । हेर्दै जानु होला हामी कुरा होइन काम गछौँ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















