प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ का नेकपा (एमाले)का उम्मेदवार गोकुल बाँस्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकाका मतदाताले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मदेवारहरुलाई ‘नराम्रो काम नगर्न’ अनुरोध गरेका छन् । काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) भित्र पर्ने वडामा भोट माग्दै घरदैलोमा पुगेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार शिव प्रसाद हुमागाई र प्रदेश सभा (क)का उम्मेदवार लक्ष्मण लम्साललाई स्थानीय मतदाताले यस्तो अनुरोध गरेका हुन् ।

मण्डनदेउपुर नगरपालिकाका मतदाताले गटबन्धनका उम्मेदवारसँग १२ महिना गाडी चल्ने सडक र सिँचाईको मुख्य माग राखे । मण्डनदेउपुर नगरपालिकाको तल्लो भाग राम्रो उर्वरभुमि हो । तल्लो क्षेत्रका मतदाताले सिँचाई र सडकलाई बढी जोड दिए । नगरपालिकाको माथिल्लो भागका मतदाताले भने सडकलाई पहिलो प्राथमिकता दिए ।

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार शिव प्रसाद हुमागाई, प्रदेश सभा (क) का उम्मेदवार लक्ष्मण लम्साल र प्रदेश २ का उम्मेदवार कञ्चनचन्द्र बादेले मतदाताको मागलाई सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाए । उम्मेदवारहरुले नगरपालिकामा पनि गठबन्धनकै सरकार रहेको भन्दै मिलेर काम गर्ने बताए ।

‘हामी गठबन्धनका उम्मेदवार मण्डनदेउपुरका मतदाताको समस्या नजिकबाट चिन्दछौँ । यहाँको प्रायः बस्तीका बारे जानकार नै छौँ । हामीलाई एक पटक काम गर्ने अवसर मत हालेर दिनुहोस् । तपाईले दिएको मतको अबमुल्यन गर्ने छैनौँ । अहिले मत माग्न आउँदा तपाईहरुले राख्नु भएको समस्या समाधानमा हामी गठबन्धनका उम्मेदवारहरु लाग्ने छौँ । यसमा कुनै शंका गर्नु पर्ने छैन ।’ प्रतिनिधि सभाका उम्मेदवार शिव प्रसाद हुमागाईले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।