काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको ऐतिहासिक महत्वको नर्वन्दा पाटी पुनःनिर्माण कार्यको शिलान्यास भएको छ । नगरप्रमुख टोक बहादुर वाईबाले आज एक कार्यक्रमका बीच पाटी पुनःनिर्माण शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख वाईबाले पुरात्विक तथा सार्वजिक महत्वका सम्पत्ती संरक्षण गर्ने राज्यको कर्तब्य भएकोले पाटी पुनःनिर्माणको काम थालिएको बताए । ‘यो पुरात्विक महत्वको सम्पत्ती हो । संविधानले नै यस्ता संरचनाको संरक्षण गर्ने दायित्व सरकारलाई दिएको छ ।’ वाइबाले भने, ‘यो अहिले संघीय सरकार अन्तर्गतको पुरात्व विभागले निर्माणको काम गरिरहेको छ । यो नगरपालिकाको सम्पत्ति हो । यसलाई जर्गेना गर्ने दायित्व पनि हाम्रै हो ।’

नगरप्रमुख वाईबाले काम हुँदै गर्दा निर्माणको रेखदेख गर्न स्थानीयलाई अनुरोध समेत गरे । ‘नगरपालिकाले पनि अनुगमनलाई विशेष ध्यान दिन्छ । तपाई उपभोक्ताहरुले निर्माण भैरहेकै बेला आएर हेर्नुहोस् । काम बिग्रिएपछि टिकाटिप्पणी गर्नुभन्दा हुँदै गर्दा कमीकमजोरी औल्याउन सक्यौँ भने राम्रो हुन्छ ।’ उनले भने, ‘सुधार गर्न सजिलो हुन्छ । त्यो बेला यो पाटी निर्माण गरेर महत्वपूर्ण भूमिका लेख्ने नेपाल वंशका चेली नर्वन्दाको भौतिक शरीर हामी माझ नभएपनि सम्मान गर्नुपर्छ ।’

नगर उप्रमुख विष्णुमणी नेपालले निर्माण कम्पनीलाई गुणरस्तीय काम गर्न निर्देशन दिए । ‘यो ऐतिहासिक पाटी हो । यसको निर्माणमा कोही कसैले खेलाची नगरौँ । हामी सबैले प्राविधिक स्टामिट अनुसार निर्माणको काम भैरहेको छ की छैन भनेर हेरौँ ।’ उनले भने, ‘यो पुरात्व महत्वको संरचना हो । भावी पुस्ताका लागि समेत यो पाटी एउटा चिनारीका रुपमा हामीले संरक्षण गरेर राख्नुपर्दछ ।’

यसैबीच वडा अध्यक्ष सिताराम श्रेष्ठले पाटी निर्माणपछि ब्यवस्थित ढंगले सञ्चालन गर्न छुट्टै समिति गठन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षासेवी रामहरि नेपाल, कार्यपालिका सदस्य मैया तिवारी र सविना बिसुन्के, वडा सदस्य टेक बहादुर तामाङ र विष्णु प्रसाद नेपाल सहित स्थानीय शिक्षक, समाजसेवी तथा उपभोक्ता उपस्थिति थिए ।

पुरात्व विभागको आर्थिक सहयोगमा पाटी पुनःनिर्माणको काम थालिएको सो पाटी चालु आर्थिक वर्षमा एक तल्ले निर्माण हुने नगर प्रमुख वाइबाले जानकारी दिए । यो आर्थिक वर्षमा १५ लाख ६६ हजार ८५२ रुपैयाँ खर्च हुनेछ भने अर्को आर्थिक वर्षमा पाटी पुनःनिर्माणको सम्पूर्ण काम सकिने निर्माणको जिम्मा पाएको पञ्चस्तम्भ कन्ट्रक्सन एण्ड कन्सल्टेनी प्रा.लिले जनाएको छ ।

यो पाटी नेपाल बंशकी नर्वन्दा नाम गरेकी चेलीले निर्माण गरेको किम्बदन्ती पाइन्छ । यो पाटी कति वर्ष अघि निर्माण गरिएको थियो भन्ने यथार्थ मिती नभेटिएपनि कम्तीमा दुई सय वर्षभन्दा बढी भैसकेको बताइएको छ । २०७२ सालको भुकम्पका कारण यो पाटी थप जीर्ण बनेको थियो ।

नगरपालिकाले जीर्ण रहेको विभिन्न मठमन्दिर तथा पाटी पुनःनिर्माणका लागि पुरात्व विभागमा प्रस्तावना बुझाइसकेको छ । बालुवा पाटी, रायोबारीको पाटीको पुनःनिर्माणका लागि पुरात्व विभागमा प्रस्तावना पेश गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।