अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलन थाइल्यान्डमा भइरहेको छ । आज परिषद्का संस्थापक अध्यक्ष तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले एक समारोहकाबीच उद्घाटन गरेका थिए ।

सम्मेलनले विश्वभरिका तामाङ समुदायको ध्यानाकृष्ट गरेको छ भने तामाङ एकताको सन्देश पनि दिइरहेको छ । भाषा, धर्म, संस्कृतिका साथै राजनीतिक अधिकार प्राप्तिको बहसलाई नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय करण समेत गरेको महसुस विश्वमै गरिरहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक अध्यक्ष तामाङले तामाङहरू विश्वव्यापी रूपमा एक ढिक्का बनाउन पाउँदा आफूलाई खुसी लागेको बताए ।

उनले तामाङ जाति भाषा‚ धर्म‚ संस्कृतिको धनी भएको जाती भएको बताउँदै आफूहरूलाई सत्ताले सिमाङ्कन गराए पनि आइटिसीको जस्तो संस्थाले एकता बनाउन सघाएको दाबी गरे ।

‘तामाङहरूले हिजोका इतिहासलाई सच्याउने‚ तामाङहरू छरिएर रहनुको कारण दुःख हो । तामाङहरू गरेर खान्छ तर मागेर खाँदैन ।’ उनले भने, ‘बरु हलो जोतेर खान्छ‚ दुःख गर्छ त्यसैले यो तामाङको महान् कार्य हो ।’

उनले नेपालमा बुद्ध धर्म बचाउने तामाङ जाति भएको पनि दाबी गरे । ‘नेपालमा बुद्ध धर्म बचाउने भनेको तामाङ हो । किनकि तामाङले आफ्नो धार्मिक कर्मकाण्डले बुद्ध धर्मलाई बचाउन सघाउ पुगेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष महेन्द्र जङ्ग तामाङले तामाङहरू साझा संस्था आइटिसीले अब नयाँ युगसँगै नयाँ र उपलब्धिमूलक कार्य योजना बनाइ अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्थायी सदस्य संस्था‚ सम्बन्धन सदस्य र राष्ट्रिय सदस्य संस्थाका अध्यक्षहरूले शुभकामना दिँदै आइटिसीले तामाङका साझा मुद्वाहरुलाई सम्बोधन गरेर त्यसको निराकरण गर्नेतिर लाग्नुपर्ने बताए ।

सम्मेलनमा थाइल्यान्ड नेपाल‚ जापान‚ नेपाल, भारत‚ अमेरिका‚ कोरिया‚ हङकङ‚ बहराइन‚ युएई‚ पोर्चुगल‚ रोमनिया, माल्टा, बर्मा, जापान, बेल्जियम, मलेसिया, कतार र इटाली लगायत देशहरूबाट प्रतिनिधिहरू सहभागी भएका छन् ।

परिषद्को सन् २००२ डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो । तेस्रो मुलुकमा यो पहिलो पटक सम्मेलनको आयोजना भएको हो ।

कार्यक्रमको सभाध्यक्ष केएम तितुङले चौथो सम्मेलनमा निर्वाचित भएका सम्पूर्ण कार्यसमितिको कार्यकाल सकिएको घोषणा गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।