बनेपा– काभ्रेमा जिल्ला स्तरीय खुल्ला बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शनिबार प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोगमा जिल्ला युवा समिति काभ्रेको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा नेपाल प्रहरी स्कुलका सम्भव अधिकारी प्रथम, बेनपा नगरपालिका वडा नं. १४ का सफलता कार्की दोस्रो र बनेपा नगरपालिका वडा नं. ४ का सुशान्त खत्री तेस्रो भएका छन् । प्रतियोतिामा पहिलो, दोस्रो र तेस्रो हुनेले पुरस्कार स्वरुप क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् भने बेथानचोक गाउँपालिका वडा नं. ५ का रोमिन लामाले सन्त्वना पुरस्कार हात पारेका छन् ।

प्रतियोगितामा काभ्रेका विभिन्न स्थानीय तहका १४ बर्षदेखि २४ बर्षसम्मका २१ जना युवाहरुले भाग लिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यले प्रदेश सरकारले युवाहरुको प्रतिभाहरु उजागर गर्नको लागि यस्तो कार्यक्रमहरु संचालन गरेकोमा खुशी व्यक्त गरे ।
प्रदेश सरकार र स्थानीय तहले युवाहरुको बिषयमा युवाको चासो र लगानीको बातावरण बनाउनको लागि पहल गरिरहेको शाक्यले बताए ।
कार्यक्रममा बागमती प्रदेश युवा परिषद्को सदस्य मैया पहरीले देशमा रहेका ४० प्रतिशत युवाहरु स्वदेशमै लगानी गर्ने वातावरण र युवा विदेश जानबाट रोक्ने योजना नेपाल सरकारले ल्याउनुपर्ने बताए ।
जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाले जिल्ला युवा समितिले युवाहरुको बिषयमा बिभिन्न कामहरु गरिरहेको जानकारी दिए । अध्यक्ष थापाले जिल्लामा चारवटा तालिम संचालन गरेको बताउँदै त्यसबाट धेरैभन्दा धेरै युवा लाभान्वित बनेको दावी गरे । साथै युवाहरु स्वरोजगार बनाउने तालिमबाट जिल्लामा करिब दुई सय भन्दा धेरै युवाहरुले अवसर पाएको उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















