काठमाडौं– पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीबी लामासहित सञ्चालक समितिमाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सहकारी विभागले पत्राचार गरेको छ । सर्वसाधारणको ५ करोड रुपैयाँ ठगी गरेको उजुरी परेपछि अनुसन्धानको लागि पत्रचार गरेको हो ।
शुक्रबार पशुपति बचत तथा ऋण सहकारी संस्था अध्यक्ष तथा सञ्चालकमाथि थप अनुसन्धानका लागि पत्राचार गरेको सहकारी विभागका रजिस्टार नमराज घिमिरेले बताए । ललितपुरको कुमारीपाटीमा रहेको सहकारी संस्थाका अध्यक्ष लामाल गायतले सहकारी ऐनको दफा १२२ अनुसारको कसुर गरेको देखिएमा कारवाहीका लागि सम्बन्धित नियायमा पठाउन सक्ने ऐनको व्यवस्था अनुसार सीआईबीमा पत्राचार भएको घिमिरेले बताए ।
सहकारी ऐनको दफा १२२ मा के छ ?
सहकारी ऐनको दफा १२२ मा सदस्यको बचत सहकारी ऐन र त्यस ऐन अन्तर्गत बनेको नियम, विनियम बमोजिम बाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गरेमा कसुर गरेको मानिने उलेख छ । यस्तै तोकिएको भन्दा बढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रदान गरेमा, समितिको सदस्य, व्यवस्थापक वा कर्मचारीले सहकारी संस्थाको सम्पत्ति, बचत वा सेयर रकम हिनामिना गरेमा पनि कसुर गरेको मनिने उल्लेख छ ।
‘ऋण असुल हुन नसक्ने गरी समितिका कुनै सदस्य, निजको नातेदार वा अन्य व्यक्ति वा कर्मचारीलाई ऋण दिई रकम हिनामिना गरेमा, समितिका कुनै सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा सहकारी संस्थाको सेयर वा बचत रकम आफूखुसी परिचालन गरी सहकारी संस्थालाई हानि नोक्सानी पुर्याएमा कसुर गरेको मानिने उल्लेख छ ।
यस्तै दफा १२२ अनुसार गरेको कसुरमा हुने सजायहरु सहकारी ऐनको १२४ मा उल्लेख छ । विभागले ऐनको दलफा १२२ अनुसार कसुर गरेको देखिएमा १२४ अनुसार कारवाहीको लागी दफा १२९ अनुरसार सम्बन्धित निकायमा लेखी पठाउने सकने व्यवस्था अनुसार सीआईबीलाई पत्राचार गरिएको घिमिरेले बताए ।
‘मन्त्रालय, नेपाल राष्ट्र बैंक, रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले यस ऐन बमोजिम आफ्नो काम, कर्तव्य र अधिकारको पालना गर्दा कसैले दफा १२२ बमोजिमको कसुर गरेको थाहा पाएमा त्यस्तो कसुरका सम्बन्धमा यस ऐन बमोजिम अनुसन्धान गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ’ सहकारी ऐनको दफा १२९ मा भनिएको छ ।
लामाले सम्पत्ति तथा दायित्वको विवरण पेश गरेनन्
विभागले सहकारीका अधयक्षलगायत पदाधिकारीलाई पटक–पटक स्पष्टीकरण सोधेको र सम्पत्ति तथा दायित्वको विवरण पेश गर्न अवसर दिंदा पनि कुनै प्रगति नभएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस पनि गरेको छ । अहिलेसम्म सहकारीले करिब ५ करोड ठगि गरेको भन्दै विभागमा उजुरी परेकोे छ । सहकराीले करिब ८० करोड बराबरको निक्षेप दायित्व फिर्ता गर्नुपर्ने छ । तर, सहकारीका अध्यक्षलाई विभागले विवरण पेश गर्न पटक पटक ताकेता गर्दा पनि कुनै प्रगति नभएको विभागका एक अधिकराीले बताए । सहकारीको अध्यक्ष लामाको काभ्रे, भक्तपुर र चितवन लगायतका विभिन्न ठाउँमा जग्गा रहेको विवरण सहकारीमा पेश गरेको भएपनि त्यसको प्रमाणित काजगत नभएको विभागको दाबी छ ।
समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई पत्रचार, तर मन्त्रालय मौन
विभागले २९ फागुनमा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको थियो । तर, मन्त्रालयले अहिलेसम्म सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छैन । सहकारीले बचतकर्ताको पैसा लिएर फिर्ता नगरेको भन्दै साढे ३ वर्षदेखिको उजुरी विभागमा बसिरहेका थियो ।
लामा नेपाली कांग्रेस काभ्रेका नेता समेत हुन् । २०७४ सालको आम निर्वाचनमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (क)मा काँग्रेसको तर्फबाट उम्मेदवार समेत बनेका उनी माओवादी केन्द्रका रत्न ढकालसँग पराजित भएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















