धुलिखेल– संयुक्त राजनीतिक दलित संघर्ष समिति, काभ्रेले जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमलाई ८ बुँदे ज्ञापनपत्र बुझाएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको सन्दर्भ पारेर समितिले सो ज्ञापनपत्र बुझाएको हो ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिका अध्यक्ष तेज नेपालीका अनुसार दलित तथा पीछडिएका समुदायका लागि संविधानमै उल्लेख गरिएका व्यवस्थाका बारेमा स्थानीय सरकार नै बेखबर भएकाले यस विषयमा सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको हो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट बनाउँदा प्रस्तावित ८ बुँदालाई ध्यानमा राखी दलित लक्षित कार्यक्रम ल्याउन संयुक्त राजनीतिक दलित संघर्ष समिति काभ्रेको माग रहेको उनले बताए । जिल्लाका १३ वटै स्थानीय सरकारलाई संवैधानिक व्यवस्थामा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराउने कार्यक्रम रहेको पनि अध्यक्ष नेपालीले बताए ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले जातीय भेदभाव तथा छुवाछुतरहित समाज निर्माणका लागि जिल्ला समन्वय समितिले आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाइएको समन्वय प्रमुख गौतमले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।