बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. २ को आयोजना तथा विभिन्न संघ संस्थाको सहकार्यमा बेथानचोक गाउँपालिको ढुंखर्क बजार क्षेत्रको सरसफाइ गरिनुका साथै विशेष चेतनामूलक कार्यक्रम आयोजना भएको छ ।
ग्रामिण विकास संस्था (एआरडी), लग्जम्वर्गको बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने संस्था एइआईएन, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेथानचोक जेसीज, लायन्स क्लब अफ बेथानचोक, पार्वती एल्मुनाई एशोसियशन, पार्वती मा.वि. कृष्णगोपाल मा.वि., पार्वती क्याम्पस, नयाँबस्ती टोल सुधार समिति, हातेमालो युवा समाज, लगायतका स्थानीय संघ संस्थाहरुको सहभागातीमा सम्पन्न कार्यक्रममा बजार क्षेत्रमा चतनामूलक र्यालीका साथै सरसफाइ पश्चात् पाट्ने खोलामा पुगी कोण सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले प्रकृति सबैको साझा भएको र मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अङ्ग भएकोले यसको संरक्षण गर्नु सबैको दायित्व भएको औंल्याए । पृथ्वी र प्रकृतिको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने कर्तव्य तथा जिम्मेवारी सबैको भएकोले वातावरण दिवसको अवसरमा स्वस्थ एवं स्वच्छ वातावरण सिर्जनाको प्रण गर्न सबैलाई आग्रह गरे । उनले अमूल्य प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै वातावरण जोगाउनु सबै पालिकाबासीको दायित्व भएको बताए । नेपालको संविधानले सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको र आफूहरुले पनि गाउँपालिकाको वातावरणीय सन्तुलन कायम गर्न विभिन्न गतिविधि गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष तथा कोणसभाका अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जसरी अघिल्लो पुस्ताले वर्तमान पुस्ताका लागि स्वच्छ र हराभरा प्रकृति छोडेर गएका छन वर्तमान पुस्ताले पनि भावी सन्ततिका लागि वातावरण जोगाएर राख्न आवश्यक रहेको जीकिर गरे । उनले क्याम्पस तथा विभिन्न विद्यालयका विद्यार्थी कार्यक्रममा सहभागी हुनु पुस्तामा जिम्मेवारी हस्तान्तरण भएको बताए । “यो पुस्ताले वातावरण संरक्षणको जिम्मा लिएको छ । यो एउटा उम्दा सँस्कार हो । यसका लागि उहाँहरु धन्यवादका पात्र हुनुहुन्छ ।” उनले अभिभावकलाई लक्षित गर्दै भने, “विद्यालय बाहिर पनि शिक्षण सिकाइका अनेकन क्रियाकलाप भएको र वातावरण सरसफाइ र संरक्षणको दिशामा तपाईका बालबालिका अघि बढेका छन् ।”
उनले जनसंख्याको बढ्दो चाप, विकास निर्माणप्रतिको प्राथमिकता र बदलिँदो मानव व्यवहारले गर्दा वातावरणलाई असर पारिरहेकोले घरबाट निस्किने फोहरलाई वर्गिकरण गर्न आग्रह समेत गरे । नकुहिने फोहर व्यवस्थापनका लागि केही समय भित्रै वडाका बजार क्षेत्रमा इन्सिनेटर स्थापना गर्ने बताउँदै उनले दीगो विकास र वातावरण संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापन गर्ने दिशामा सबैलाई अघि बढ्न अपील गरे ।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष कुबेर ढकाल, वडा नं. २, ३ र ४ का वडा सदस्यहरु, बेथानचोक गाउँपालिकाको वडा नं. २ मा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा कर्मचारी, विद्यालय तथा क्याम्पसका पदाधिकारी तथा कर्मचारी, बेथानचोक गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।






















