काठमाडौं– पूर्व युवा तथा खेलकुद मन्त्री दावा तामाङले बौद्ध धर्म सम्बन्धी तीन पुस्तकहरु एकै साथ विमोचन गरेका छन् । विमोचन गरिएको पुस्तकहरुमा ञ्युङने साधना, लाभ तथा अनुभूति वर्णन, पारमितायानको मार्ग साधना र समग्र धर्मपाल सङ्क्षिप्त बलिविधि रहेको छ ।

जोङ्सर बौद्ध महाविद्यालयको महाउपाध्याय (खेन्छेन्) कुन्गा वङ्छ्युक रिन्पोछेले भोटभाषा (सम्भोटा) मा लेखेको ञ्युङ्ने साधना, लाभ तथा अनुभूति वर्णन र पारमितायानको मार्ग साधना त्यसैगरी विद्याधर ग्युर्मेदोर्जेले लेखेका समग्र धर्मपाल सङ्क्षिप्त बलिविधि स्तुतिगान नामक पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको छ । यसै केन्द्र अन्तर्गतको अनुवाद समितिले गरेको साथै अनुवादकहरू जेचुन सङ्गे खण्डो रिन्पोछे साथै खेन्पो पाल्साङ नोर्बु बोम्जन लामा रहेका छन् ।

ञ्युङ्नेले बौद्ध साधनाविधि प्रष्टयाउनुका साथै दुर्लभ मानव जीवनलाई कुशल कर्म सञ्चयमा खर्चिँदै बोधि चित्तोत्पादको मार्ग प्रशस्त गर्न सघाउ र्पुयाउनेछ । बोधिचित्त अभ्यासको प्रसङ्गसँगै स्व र पर को भावनाबारे सरल भाषामा व्याख्या रहेको समग्र धर्मपाल सङ्क्षिप्त बलिविधिमा बुद्धरत्न, धर्मरत्न र सङ्घरत्नको सङ्क्षिप्त चिनारी समेटिएको छ । समग्र धर्मपाल सङ्क्षिप्त बलिविधिमा बाहिरी भित्री र गुह्य लगायतका विपत्ति, विघ्न, बाधाहरूका समनविधि बारे सरल व्याख्या रहेको छ ।

प्रकाशित पुस्तकहरूमाथि सकारात्मक सोचको अभियन्ता तथा बौध्ददर्शनका अध्येता बुद्धि तामाङ साथै राजनीतिक विश्लेषक एवं पूर्वीय दर्शनका अध्येता बुद्धछिरिङ मोक्तानले टिप्पणी गरेका छन् ।

पुस्तक लोकार्पण गर्नुहुँदै प्रमुख अतिथि तामाङले तामाङहरू अब यसरी धार्मिक पाटोमा पनि अनुवाद लगायतका पुस्तकसहित सशक्त रूपमा आउन थाल्नु भनेको शुभ संकेत भएको बताए ।

प्रकाशित पुस्तकहरूमाथि सकारात्मक सोचको अभियन्ता तथा बौद्ध दर्शनका अध्येता बुद्धि तामाङ साथै राजनीतिक विश्लेषक एवं पूर्वीय दर्शनका अध्येता बुद्धछिरिङ मोक्तानले टिप्पणी गरेका छन् । पुस्तकका लेखकहरू साथै समेटिएका विषयवस्तुमाथि अनुवादक खेन्पो पाल्साङ नोर्बु बोम्जन लामाले स्पष्ट पारेका थिए । कार्यक्रमको अध्यक्षता बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रकी अध्यक्ष साथै अनुवादक जेचुन खाण्डो रिन्पोछेले गरेका थिए ।

कार्यक्रममा एआइजी टेकबहादुर तामाङ लगायत प्रकाशित पुस्तकहरूलाई छपाउन आर्थिक सहयोग गरेका दान दाताहरूलाई सम्मान समेत गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।