डिलबहादुर थाेकर

काभ्रे– नेकपा (एमाले)ले काभ्रे जिल्ला इन्चार्जबाट गोकुल बाँस्कोटालाई हटाएको छ । अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य समेत रहेका बाँस्कोटालाई काभ्रेको जिम्मेवारीबाट हटाएको हो ।

अन्तरपार्टी निर्देशन जारी गर्दै बाँस्कोटालाई सिन्धुपाल्चोक जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको छ । एमाले काभ्रेको नेतृत्वमा पछिल्लो दशक एकछत्र राज गरेका काभ्रे पार्टी भित्र ‘जारसाव’को नामबाट समेत परिचित बाँस्कोटालाई पहिलो पटक जिल्लामा राजनीतिक जिम्मेवारीबाट हटाइएको छ । उनको ठाउँमा एमाले काभ्रे जिल्ला इन्चार्जको जिम्मेवारी पोलिटब्यूरो सदस्य कृष्णबहादुर राईले पाएका छन् ।

पार्टी भित्र समेत आक्रामक बन्ने शैलीले गर्दा पछिल्लो चरणमा बाँस्कोटाबाट धेरै नेता कार्यकर्ता असन्तुष्टि बनेका थिए । बाँस्कोटालाई मन नपर्ने नेता कार्यकर्तालाई निषेध गर्ने, मञ्चबाटै गलहत्याउने, हेप्ने गरेपछि कार्यकर्ताहरुले उनको उपनाम ‘जारसाव’ नै राख्दै आएको थियो । सिन्धुपाल्चोकको जिम्मेवारी पाए पनि जिल्लामा बाँसकोटा नै हावी हुने कुनै शंका छैन ।

संघीय निर्वाचन क्षेत्रमा को–को खटाए ?

एमालेले काभ्रेको दुबै संघीय निर्वाचन क्षेत्रमा समेत २ केन्द्रिय सदस्यहरुलाई इन्चार्ज तोकेको छ । काभ्रे निर्वाचन क्षेत्र नम्बर १ को जिम्मेवारी पूर्व सांसद तथा विद्यार्थीका पूर्व अध्यक्ष नबिना लामालाई दिएको छ । यस अघि भूगोलको जिम्मेवारी नपाएका लामालेgok भूगोलको जिम्मेवारी पाएको यो पहिलो पटक हो । आगामी निर्वाचनमा सो क्षेत्रमा स्थापित गराई उम्मेदवारको तयारी गर्न पार्टीले खटाएको अनुमान एमालेजन र अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत गरेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत चौरीदेउराली, तेमाल, महाभारत, रोशी र खानीखोला गाउँपालिका पर्छन् । त्यस्तै नमोबुद्ध नगरपालिका, धुलिखेल नगरपालिकाको वडा नम्बर ८ देखि १२ सम्मका वडा र पनौती नगरपालिकाको वडा नम्बर ४ देखि १० सम्मका वडा पर्दछन् ।

यसैबीच काभ्रे निर्वाचन क्षेत्र नम्बर २ को इन्चार्जको रुपमा अर्का केन्द्रिय सदस्य कपिलदेव पोखरेललाई खटाएको छ । यो निर्वाचन क्षेत्र अन्तर्गत भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म पर्दछन् । त्यसैगरी मण्डनदेउपुर, बनेपा, पनौती नगरपालिकाको वडा नम्बर १, २, ३, ११ र १२, धुलिखेल नगरपालिकाको १ देखि ७ नम्बरसम्मका वडा रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।