धुलिखेल– काभ्रे जिल्लाको धुलिखेल नगरपालिकालाई तीन प्रमुद राजनीतिक दलले आर्थिक वर्ष २०७९।०८० को खर्चको पूर्ण विवरण अविलम्ब सार्वजनिक गर्न माग गरेको छ । आज नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले संयु्क्त प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेको हो ।
विज्ञप्तीमा नेपाली कांग्रेसको तर्फबाट नगरसभापति विदुर बहादुर बस्नेत, नेकपा (एकीकृत समाजवादी) नगर कमिटी अध्यक्ष दयासागर श्रेष्ठ र नेकपा माओवादी केन्द्रका नगर कमिटी सचिब अर्जुन प्रसाद पौडेलद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा नगरपालिकाबाट सन्तोषजनक रुपमा सम्बोधन नभएमा थप संघर्ष र विरोधका कार्यक्रमहरु अगाडि बढाउन वाध्य हुने उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘धलिखेल नगरपालिकाबाट भएका खर्चहरु र सम्भावित अनियमितताहरु बारे सामाजिक सन्जालहरुमा व्यापक प्रचार भैरहेको सन्दर्भमा चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्त सम्मको आय व्यय विवरण र फाँटवारीहरु समेतको अध्ययन गर्दा चालु तथा पूँजीगत खर्च अन्तरगतका कतिपय विषयहरुमा भएका खर्चहरु अस्वाभाविक र कृतिम समेत लागेको हुँदा नगरपालिका भित्र अनियमिता र भ्रष्टाचार भएको हुन सक्ने भएकोले यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
तसर्थ, चालु आर्थिक वर्षको वैशाख महिना सम्म भएका खर्चहरुको पूर्ण विवरण अविलम्ब सार्वजनिक गर्न नगरपालिकालाई आग्रह गर्दछौं । नगरपालिकाबाट यस विषयमा सन्तोषजनक रुपमा सम्बोधन नभएमा आप संघर्ष र विरोधका कार्यक्रमहरु अगाडि बढाउन वाध्य हुने सम्बन्धित सबैलाई अवगत गराउँदछौं ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















