बनेपा– काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ८ बाट एक महिला र एक पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काभ्रेका अनुसार खैरो हिरोइन सहित उनीहरु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बनेपा र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त प्रहरी टोलीले खैरो हिरोईन सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा तेमाल गाउँपालिकाकी १९ वर्षीया महिला र भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नं. ९ का ३० वर्षीय पुरुष रहेका छन् ।

इलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार उनीहरुको साथबाट ६५ ग्राम खैरो हिरोइन, डिजिटल तराजु १ थान, ३ लाख १९ हजार रुपैयाँ र आइफोन–११ एक थान बरामद गरेको छ । जेठ ३२ गते राति ८ बजेको समयमा पक्राउ परेका दुबैजनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।