खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ५ मा डोजर अपरेटरलाई पैसाको मालले सम्मान गरेका छन् । सो वडाको स्यार्ते जन्तेमा रहेको निक्कै कठीनपूर्ण पहरामा ट्याक खोलेपछि डोजर अपरेटरलाई सम्मान गरेको हो ।

ट्याक खोलेको खुशीयलीमा स्यार्ते जन्तेका स्थानीयले डोजर अपरेटरलाई पैसाको माला लगाएर सम्मान गरे । १ किलो मिटर जति स्यार्ते जन्तेमा निकै अप्ठ्यारो क्षेत्र थियो । सोही अप्ठ्यारो क्षेत्रमा ट्याक खोलेको थियो ।

यो सडक खानीखोला करिडोर अन्तर्गतको हो । यो करिडोर अन्तर्गत सडकको कुल लम्बाई २१ किलो मिटर रहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए । अब जम्मा ४÷५ किलो मिटर मात्रै ट्याक खोल्न बाँकी रहेको अध्यक्ष थिङले जानकारी दिए ।

यो प्रदेश सरकारको बजेटबाट खनिएको सडक हो । करिडोर निर्माण पश्चात वडा नम्बर १, २, ५ र ६ का स्थानीयलाई सहज हुनेछ । अप्ठ्यारो क्षेत्रमा ट्याक खुलेसंगै अन्य भागमा सडक विस्तार गर्न सजिलो हुने भएको छ ।

स्थानीयसँग ट्याक खुलेको खुशी साट्न गाउँपालिका अध्यक्ष थिङ, १ नम्बरका वडा अध्यक्ष सन्तमान थिङ, ३ नम्बरका वडा अध्यक्ष सागर लामा, ५ नम्बरका वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान र ६ नम्बरको वडा अध्यक्ष बृहस्पति घिसिङ लगायतका पुगेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।