बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिक वडा नं. अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएको छ । आइतबार गाउँपालिका अध्यक्ष भगवान अधिकारीले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा जीवनको अनिवार्य शर्त भएको बताउँदै अध्यक्ष अधिकारीले समग्र समाजको उन्नति र खुसी शिक्षाले मात्र दिन सक्ने र शिक्षाले नै देश सुसंस्कृत, शान्त र समृद्ध बन्ने भएकाले शिक्षामा लगानी आवश्यक रहेको बताए ।

राज्यको माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा आएकोले जनप्रतिनिधिहरुले शिक्षासम्बन्धी विभिन्न नीति, कार्यक्रम सार्वजनिक गरे पनि ती नीति र कार्यक्रम कार्यान्वयनको लागि भने बजेटकै अभाव नै हुने गरे पनि शिक्षाका लागि आर्थिक स्रोत कसरी जुटाउने, स्रोत पहिचान कसरी गर्ने र पहिचान भएका स्रोतको परिचालन कसरी गर्ने भन्ने विषयमा आफूहरु जिम्मेवार भएर लागेको बताए ।

कार्यक्रममा बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेका र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने प्रावधान अनुरुप नेपाल सरकारले १९ असोज २०७७ मा ‘अनिवार्य र निःशुल्क शिक्षा सम्बन्धी नियमावली–२०७७’ लागू गरेको बताए ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले वडालाई अनिवार्य तथा निःशुल्क वडा कार्यान्वयन घोषणाका लागि प्रस्ताव गरेका थिए ।

वडा अध्यक्ष तिमल्सिनाले पेश गरेको प्रस्ताव पत्रमा भनिएको छः “काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका १ नं. वडा कार्यालयमार्फत मिति २०८० जेष्ठ १५ देखि १९ गतेसम्म दुई सय अठासी घरधुरीमा बालबालिकाको विवरण संकलन गर्दा प्रचलित कानून अनुसार चार वर्ष पूरा भइ तेह्र वर्ष उमेर पूरा नभएका १ जना बालक विद्यालय बाहिर रहेको पाइएको र उहाँलाई श्री चक्रेश्वर मा.वि. मा भर्ना गरिएकोले मिति २०८० जेष्ठ २१ गते आइतबार बसेको वडा समितिको निर्णयानुसार आज मिति २०८० साल आषाढ ३ गते आइतबारका दिन अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न बेथानचोक गाउँपालिका अध्यक्ष श्री भगवान अधिकारीज्यू समक्ष प्रस्ताव पेश गर्दछु ।”

कार्यक्रममा जनप्रतिनिधि, वडा भित्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, दलीय प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।