काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्षणिक र आवेगमा मोर्चा गठन नगरिए दावी गरेका छ । सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् ।
सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले विगतमा हतारमा पार्टी एकता गरेर नेकपा बनाएकाले असफल बनेको बताउँदै मोर्चा कसैको विपक्षमा नरहेको समेत प्रष्ट पारे । ‘यो मोर्चा कुनै परिवर्तनका पक्षधर, गणतन्त्रका पक्षधर, उत्पीडित जाति समुदायका विरुद्ध परिलक्षित छैन ।’ उनले भने, ‘क्षणिक र आवेगमा मोर्चा गठन गरिएको होइन ।’
उनले मोर्चामा सबैलाई समेट्ने प्रयास गर्ने पनि बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै मोर्चामा आउन आग्रह पनि गरे । ‘नयाँ शिराबाट तिता मिठा अनुभवको समीक्षा गर्दै जनताको हकलाई सुनिश्चित गर्न समाजवादतर्फ लैजान मोर्चा गठन भएको हो, हिजो हतारमा एकता गरेर सफल गर्न नसकेका नेताहरूलाई पनि मोर्चाको बाटो गरी जाऔँ भन्न चाहन्छु ।’, प्रचण्डले अपिल गर्दै भने, ‘नेकपाले आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अघि बढाउनेछ भन्ने विश्वास लिएको तर दुर्भाग्य जनताको अपार समर्थनका बाबजुद नेकपा बचाउन सकेनौ ।’
उनले नेकपा टिक्न नसक्नुमा सबै समीक्षा गर्नुपर्ने पनि बताए । ‘कहाँ त्रुटि ग¥यांै समीक्षा गरौँ । मलाई कहिलेकाहीँ लाग्छ– पार्टी एकता गर्न पो हतार गरेछौ कि ?’ उनले भने, ‘मोर्चा गठन गरेर एकता गर्ने उद्देश्य राखेको भए सफल हुन्थ्यो कि यो सोच्नुपर्ने प्रश्न छ ।’,
प्रचण्डले हिजो नेकपाको समेत स्मरण र तितो अनुभव ख्याल गर्दै समाजवादी मोर्चा गठन गरेकाले अब आफूहरूको सफलतालाई कसैले रोक्न नसक्ने बताए ।
‘हामीले एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गर्ने प्रयास गरेका छौ । हरेक पार्टीको स्वतन्त्रतालाई पनि सिध्याउने काम गरेका छैनौ’, प्रचण्डले भने, ‘पार्टीको स्वतन्त्रताको पनि रक्षा होस् र देश र जनताको विद्यमान समस्या समाधान गर्न एकताको आवश्यकतालाई पनि सम्बोधन गरोस् । त्यसकारण हामीले एकता र स्वतन्त्रताको संयुक्त मोर्चा र पार्टी स्वतन्त्रताको द्वन्द्वात्मक संश्लेषण मोर्चामा गरेका छौ । यसमा सबै कम्युनिस्ट र वामपन्थीले विचार गर्न जरुरी छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















