बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिको संयोजक तारा रानाले बेथानचोक गाउँपालिकाका जनतालाई कानूनी अधिकारको पहुँचमा पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन् । सोमबार वडा नं. ५ मा आयोजना गरिएको कानूनी साक्षरता सम्बन्धी वडा स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रानाले यस्तो बताएका हुन् ।
न्यायिक समितिले आफ्नो अधिकारको परिधि भित्र रहेर गाउँ स्तरमै मेलमिलाप गराएर सम्भावित ठूला घट्नाहरुबाट हुन सक्ने जोखिमलाई मेलमिलाप मार्फत सहज रुपमा न्यूनिकरण गर्न सकेकोले गाउँटोलमा जनादलको प्रत्याभूति दिएको दावी गरे ।
‘आर्थिक, सामाजिक, राजनीतिक एवं कानुनी चेतना जागृत गराई आम जनतालाई कानूनी अधिकारको पहुँच पुर्याउनु स्थानीय सरकारको दायित्व तथा जिम्मेवारी हो । त्यसैले बेथानचोक गाउँपालिकाले यहाँको जनतालाई कानूनी अधिकारको पहुँचमा पुर्याउने छ ।’ रानाले भने, ‘समुदाय स्तरमा हुने साँध, सिमाना, छाडा चौपाया तथा पन्छी, कुलो, पधेरो, जग्गा खिचलो, रुखको असर, उपभोक्ता समिति, छिमेकी बीच तथा पारिवारिक बिबाद, भैझगडा जस्ता सामान्य तर समयमै व्यबस्थापन हुन नसक्दा हुनसक्ने सम्भावित ठुला घट्नाबाट हुनसक्ने जोखिम न्यूनिकरण गरि सहजरुपले मेलमिलाप गराउँदा जनताले जनादलको अनुभूति गरेको पाइएको छ ।’
यसैबीच उपाध्यक्ष रानाले नेपालको संविधान २०७२ भाग १७ को धारा २१७ अनुसार र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को १, २ तथा दफा ७६ मा व्यवस्था भए बमोजिम न्यायिक समितिले १३ वटा व्यक्तिगत तथा देवयानी प्रकृतिका विवादहरु निरुपण गर्छ भने ११ वटा विभिन्न साँध, सिमाना, ज्याला, घरेलु हिंसा जस्ता मुद्दाहरुको सहजीकरण गरेर मेलमिलाप गराउने व्यवस्था रहेको सहभागीहरुलाई जानकारी दिएका थिए ।
उनले मेलमिलापकर्ता र जनसमुदायको क्षमता बिकास गरि न्यायमैत्री समाज निर्माणमा यस्ता कार्यक्रमको अत्यन्तै आवश्यक र महत्त्व रहेको समेत बनाए ।
कार्यक्रममा वडा अध्यक्ष राज कुमार वाईवा, बिमला गोले, केशव लामा, बिष्णु बिक, उजुरी प्रशासक कृष्ण तिमल्सिना, कानुनी सहजकर्ता पूजा खड्का, स्थानीय मेलमिलापकर्ता र जनसमुदायको सहभागी थियो ।
यस अघि वडा नं. २, ३ र ४ मा कानूनी साक्षरता सम्बन्धी वडा स्तरीय कार्यक्रम सम्पन्न भइसकेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















