मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ५ मा रहेको ब्रम्हायणी देवी मन्दिरमा ‘तामाको छानो’ हाल्न श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना गरिएको छ । सोमबार एक समारोहका बीच नगरप्रमुख टोक बहादुर वाईबाले उद्घाटन गरिएको हो ।

नगरप्रमुख वाईबाले महायज्ञबाट संकलन भएको रकम मन्दिर मर्मत तथा सम्भारका लागि अक्षयकोष स्थापना गर्न सुझाव दिँदै तामाको छानो हाल्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । ‘हामी नयाँ संरचना बनाउन खोज्छौँ । तर बनिसकेपछिका संरचनालाई कसरी जोगाउने भन्ने कुनै योजना छैन् । वाइबाले भने, ‘तपाईहरुले यो महायज्ञबाट संकलन भएको रकमबाट अक्षयकोष स्थापना गर्नुहोस्, मन्दिरमा तामाको छानो हाल्ने काम नगरपालिकाले गर्छ ।’

नगरप्रमुख वाईबाले अक्षय कोषमा रहने गरी ५ हजार ५ सय ५५ रुपैयाँ ब्यक्तिगत रुपमा सहयोग समेत गरेका छन् ।

यसैबीच उपप्रमुख विष्णुमणी नेपालले सके जति सबैले सहयोग गर्नुपर्ने बताए । ‘हामीले जे जतिसक्छाँै, सहयोग गरौँ । मिलेरै काम गर्ने हो । समूह, समाज, नगरपालिका र सिंगो देशमै मिलेर काम गर्दा आफ्नो अपनत्व पनि जाग्छ ।’ उनले भने, ‘जसले विकास निर्माणको कामलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्छ ।’ उपप्रमुख नेपालले पनि ५ हजार १०५ रुपैयाँ सहयोग गरे ।

यो मन्दिर देउपुर भेगको ऐतिहासिक मन्दिरभित्र पर्दछ । ब्रम्हायणी देवी मन्दिरमा पानी चुहिन थालेपछि स्थानीयले तामाको छानो हाल्ने निष्र्कषमा पुगेका हुन् । मन्दिरमा २०७२ साल बैशाख १२ को भुकम्पपछि क्षति पुगेको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष हर्क बहादुर लामा, ६ नम्बर वडाका वडा अध्यक्ष सोम प्रसाद ढकाल र ७ नम्बर वडाका वडा अध्यक्ष विष्णप्रसाद पौडेलको सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।