नमोबुद्ध– काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा मेलमिलापकर्ताहरुलाई ८ दिने आधारभूत तलिम दिइएको छ । तालिमको मंगलबार एक समारोहकाबीच समापन गरिएको छ ।
तालिममा ११ वटै वडाका ५ जनाका दरले ५५ जना मेलमिलापकर्ताहरुको सहभागीता रहेको न्यायिक समितिका संयोजक समेत रहेका नगर उपप्रमुख रत्नबहादुर लामाले जानकारी दिए ।
तालिममा काभ्रे जिल्लाका मूख्य न्यायधिश मोहनराज भट्टराई, श्रेस्तेदार गोविन्द प्रसाद घिमिरे, अधिवक्ता दिपक प्रसाद चौलागाई, सृजना तामाङ, नमोबुद्ध नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता महेन्द्र तामाङ (थिङ), वैतनिक वकिल निरोजप्रसाद नेपाल, जिल्ला कानूनी सहायता केन्द्रका अधिवक्ता विजयभक्त श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए ।
तालिममा मेलमिलाप सम्बन्धी प्रचलित कानून, अन्तराष्ट्रिय अभ्यास, मेलमिलापका चरण, विवाद समाधान लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञानसहितका सत्र सञ्चालन गरिएको थियो ।
मुख्य न्यायधीश मोहनराज भट्टराईले जनताले घरदैलोमा नै न्यायको अनुभुति गर्न पाओेस् भनेर स्थानीय तहमा नै न्यायिक समितिको अवधारणा ल्याइएको बताए । यसैगरि नगर प्रमुख कुनसाङ लामाले आफू क्षमतावान नभएसम्म अरुलाई न्याय दिन नसक्ने भन्दै मेलमिलापकर्ताको सिप, ज्ञान र क्षमता अभिवृद्धिको लागि तालिम सञ्चालन गरिएको बताए । नगर उपप्रमुख रत्नबहादुर लामाले मेलमिलापमा जोड दिए न्यायिक समितिसम्म उजुरी नै नआउने तर्क गरे ।
समापन समारोहमा जिल्ला न्यायधिश मोहनराज भट्टराई, नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख एवं न्यायिक समितिका संयोजक रत्नबहादुर लामा, नगर प्रवक्ता टिकाबहादुर केसी, न्यायिक समितिक सदस्य समेत रहेका वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी लगायतका सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















