बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले पदमा रहुञ्जेल कुनै पनि बदमास काम नगर्ने दाबी गरेका छन् । आफ्नो गृह नगर मण्डनदेउपुर नगरपालिकाले मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री लम्सालले यस्तो दावी गरेका हुन् ।
मन्त्री लम्सालले जनताको मत र मनको अपमान हुने काम नगर्ने समेत प्रतिबद्धता जाहेर गरे । ‘तपाईले एक कार्यकाल हेरिसक्नुभयो । म जुन पदमा जति दिनसम्म रहन्छु, त्यो दिनसम्म शिर झुकाउनु पर्ने कुनै पनि काम गर्दिन ।’ लम्सालले भने, ‘तपाईहरुले दोस्रो कार्यकालका लागि पनि जिताएर पठाउनुभएको छ । तपाईहरुको मत र मनको अपमान हुन दिने छैन् ।’
त्यसैगरी मन्त्री लम्सालले यातायात कार्यालयहरुमा जनताको गुनासो नआउने गरी काम गर्ने बताउँदै यातायात कार्यालयमा हुने आर्थिक अनियमिता रोक्ने समेत प्रतिबद्धता जनाए ।
‘यातायात ब्यवस्था कार्यालयहरुमा धेरैले गर्ने गुनासो भनेको आर्थिक अनियमिता भयो भन्ने छ । आफ्नो नियमित काम गर्न पनि पैसा नखुवाई हुँदैन भन्ने जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न खोजिरहेको छु ।’ मन्त्री लम्सालले भने, ‘राजस्व बाहेकको अन्य शुल्क हटाउने गरी मन्त्रालयले काम गर्नेछ ।’
मन्त्री लम्सालले बजेटको विषयमा असन्तुष्टि नजनाउन अनुरोध गरे । ‘मण्डनदेउपुर नगरपालिकामा प्रदेश सरकार मार्फत धेरै काम भैरहेका छन् । अब पनि हुन्छ । तर यो वर्ष तपाईहरुले भनेको जति योजनामा बजेट विनियोजन हुन भनेर चित्त दुखाउने काम नगर्नुहोला ।’ उनले भने, ‘आगामी वर्ष ती योजनाहरुमा बजेट विनियोजन हुन्छ । तत्काल गर्नै पर्ने योजना तर छुटेका योजनाका बारे कतै न कतैबाट आर्थिक स्रोत जुटाउन प्रयत्न हुनेछ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















